धुर्मुस-सुन्तली र राज घिमिरेमा यत्ति फरक छ– धुर्मुस-सुन्तलीरु हाँस्नेहरुलार्इ रुवाउन सक्छन् अनि रुनेहरुलार्इ हँसाउन सक्छन्, आफ्नो प्रतिभाको माध्यमबाट । तर, राजमा त्यस्तो प्रतिभा छैन । न उनी हँसाउन सक्छन् न त रुवाउन नै ।
यी दुवैथरीकाे अभियान भने एउटै छ । धुर्मुस-सुन्तली घरबारविहीन भएका, आफन्त र प्रियजन-साथी-सङ्गी गुमाएका टिठलाग्दा अनुहारहरुको कहालीलाग्दो श्मशान वस्तीमा पुगेर निर्माण अभियानमा लागेका छन् । उनीहरुको यस अभियानमा नेपालका सानादेखि ठूलासम्म हरेक मिडियाहरुले अहोरात्र हातेमालो गरिरहेका छन् ।
धुर्मुस-सुन्तलीले जे गरिरहेका छन् घिमिरेले पनि त्यही गरिरहेका छन् । भलै उनीसँग हँसाउने प्रतिभा छैन । उनी हरेकसँग आँसु निकालेर रुन्छन्, आफ्नाे देशको प्रतिनिधि पीडा बनेर । त्यसैले उद्देश्य, अभियान एउटै छ यी पात्रहरुको ।
हो, यहींनेर फरक छ धुर्मुस-सुन्तली र राज घिमिरेबीच । घिमिरे नितान्त एक्ला छन् । न उनलार्इ आत्मबल दिने धुर्मुस-सुन्तलीका जस्ता मिडिया छन्, न ‘फ्यान’ हरुकाे भीड नै ।
हुन पनि कसरी हाेअाेस्, घिमिरे रामेछापका एक सामान्य किसानका छोरा हुन् । गरिबीको पीडामा बाँच्दै गर्दा आफन्तहरुको सहयोगमा रोजगारीका लागि यूएर्इ हुँदै क्यानडा पुगेका घिमिरेमा आफ्नो देशका नागरिकहरुप्रतिको आशक्ति यहींबाट सुरु भयो, जहाँबाट धुर्मुस-सुन्तलीको सुरु भएको थियो ।
२०७१ वैशाख १२ गते ११:५५ मा गएको विनाशकारी भूकम्पले नेपालका कुनाकन्दरालार्इ सोच्नै नसक्ने गरी हल्लायो । पहाडका टुप्पाहरु खसे, ढुङगा-मुढाहरुको थिचाइ र किचाइले सयौं नागरिक घाइते र अङ्गभङ्ग मात्र भएनन्, कयौंले ज्यान समेत गुमाए । क्षणभरमै मानिसहरु घरबहारविहीन भए । कसैले आमाबाबु गुमाए, कसैले छोराछोरी गुमाए भने कसैका परिवारको नामोनिसान नै रहेन । बाँचेकाहरु पनि ज्युँदो लासजस्तै बन्न बाध्य भए ।
यस्ताे अकल्पनीय पीडासँगसँगै भूकम्प प्रभावित कतिपय क्षेत्र त केही दिनमै पानीका मुहानहरु समेत सुके, खाना र लत्ता–कपडाको अभावले पीडितहरुको कारुणिक दृश्य र चिच्याहट चारैतिर फैलन थाल्यो । ठीक यही बेला धुर्मुस-सुन्तली एउटा कार्यक्रम लिएर अमेरिका पुगेका थिए । जब नेपालमा भूकम्पमा परी नेपालीहरु छट्पटाहटमा बाँचिरहेको समाचार सुने तब कार्यक्रम नै नसकी उनीहरू नेपाल फर्किए । अमेरिकाकाे कार्यक्रममा उठेको सबै पैसा पीडितहरुका लागि खर्चिएर उदारता देखाए । त्यही बेला पनि याे जोडी नेपालका हरेक मिडियाका ‘ब्यानर हेडलाइन’ बने । गतिलो ‘गसिप’ बने ।
तर, राज घिमिरे सधैं ओझेल परिरहे । हुन त काम गर्ने मान्छेको चर्चा हुनैपर्छ भन्ने पनि छैन । यही मान्यताका साथ नागरिककाे दुःखमा पलमपट्टी गर्न अहाेरात्र खटिरहेका राज धुर्मुस-सुन्तली याे काममा खटिएकै बेलादेखि उत्तिकै सक्रियताका साथ खटिरहेका छन् । कार्यक्रममा उठेको करिव १६ लाख नेपाली रूपैयाँ धुर्मुस-सुन्तली जोडीले भूकम्प प्रभावित वस्तीमा लगेर भूकम्पपीडितकाे सयोगमा खर्च गरे । त्यसैगरी राजले पनि क्यानडाको जस्पेरस्थित आफूले काम गर्ने ठाउँमा जार राखेर आफ्नो देशका नागरिकहरु सङ्कटमा परेको जानकारी दिँदै क्यानेडियनहरुसँग रोइकराइ गरे । उठेको १४ लाख नेपाली रुपैयाँ नेपाल पठार्इ काभ्रे, दोलाखा र रामेछापको बेतालीका गरी १ सय १९ पीडित परिवारलार्इ सयोग गरे ।
धुर्मुस-सुन्तली जोडी र राज घिमिरेले भूकम्पपीडितलार्इ पुर्याएकाे सयोगमा कुनै फरक छैन । धुर्मुस-सुन्तलीहरु पहिल्यैदेिख चर्चित सेलिब्रिटी हास्यकलाकार हुनाले उनीहरूले गरेकाे सहयाेगकाे व्यापक चर्चा भयाे । तर, राज सार्वजनिक चर्चामा नअाएका समान्य गरिब किसानका छोरा ‘गुमनाम नागरिक’ हुन् । त्यसैले धुर्मुस-सुन्तली जोडीले पिडितहरुलार्इ जसरी र जति सयोग गरिरहेका छन्, ठ्याक्कै उसैगरी र उति नै सयोग गरिरहे पनि राज घिमिरे र उनका याेगदानकाे चाहिँ खास चर्चा छैन ।
धुर्मुस-सुन्तली गिरानचौर वस्ती निर्माणमा लागेका छन् भने राज सयौं विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि भूकम्पले जीर्ण बनेको रामेछापको बेतालीस्थित सेतीदेवी निमाविको निर्माणमा एक्लै जुटेका छन् ।
हरेक दिन प्रिन्ट तथा इलेक्ट्रोनिक मिडिया जतासुकै धुर्मुस-सुन्तली ‘गसिप’ बनिरहँदा र राजचाहिँ ‘गुमनाम’ नै रहिरहँदा घिमिरेको फराकिलो मन साँघुरो बन्ने त हाेइन । तैपनि राजजस्ता पात्रहरुलार्इ खोजी गरेर पत्रकारिताको जिम्मेवारी पूरा गर्ने मामलामा भने नेपालका सबैजसाे सञ्चारमाध्यम चुकेकाे कुराचाहिँ निर्विवाद छ ।
२०७३ वैशाख १२ मा ‘भूकम्प दिवस’ को अवसर पारेर राजले क्यानडाबाटै रामेछापको बेतालीमा विद्यालय सिलान्यास समोरह समेत गराए । २८ लाख रूपैयाँकाे लगानीमा बन्न लागेको उक्त विद्यालयमा खानेपानी निर्माणको काम भने समपन्न भइसकेको छ ।
राज र धुर्मुस-सुन्तलीको अभियानकाे उद्देश्य एउटै भए पनि यी दुर्इका कार्यशैली र विधिमा भने अलिकति भिन्नता छ । राज आफ्नो देशका नागरिकको कथा, व्यथा र कारुणिक वास्तविकता र पीडा विदेशीहरुलार्इ सुनाएर विदेशी नागरिकहरूलार्इ आफ्नो अभियानमा सहभागी गराइरहेका छन् । धुर्मुस-सुन्तली जोडीले भने नेपाली मिडियामार्फत नै आफूहरुको अभियानबारे जानकारी गराएर विश्वभरि छरिएर रहेका नेपालीहरुलार्इ अभियानमा सहभागी गराइरहेका छन् ।
इतिहासमा नेपालीहरुले धेरैचोटि यस्ता भूकम्पीय र अरूअरू विभिन्नखाले प्राकृतिक विपत्तिको समाना गर्नुपरेको छ । १९९० देखि २०७२ वैशाख १२ सम्म ६० हजार पटकभन्दा बढी साना–ठूला भूकम्प गइसकेको भूगर्भविदहरुले बताएका छन् । ठूलो धनजनको क्षति हुनेगरी चाहिँ १९९०, २०४५ र २०७२ मा नै ठूला भूकम्प गए ।
वि.सं. १९९० मा सङ्खुवासभा केन्द्रबिन्दु भएर गएको ८.३ रेक्टर स्केलको भूकम्पले ठूलो आर्थिक क्षतिसँगै ८ हजार ५ सय २१ जनाको ज्यान लगेको थियो । त्यसपछि २०४५ काे भूकम्पले ७ सय २१ जनाको ज्यान लग्याे, त्यसकाे केन्द्रबिन्दु उदयपुर र क्षमता ६.७ रेक्टर स्केल थियाे । याे भूकम्पले पनि सयौंलार्इ घरबारविहीन बनायाे ।
त्यसपछि २०७२ मा १९९० कै जत्रो ७.३ रेक्टरको कम्पन भयो । वैशाख १२ र २९ मा गरी २ वटा ठूला भूकम्प र पटक-पटक गएका परकम्पनहरूले ८ हजारभन्दा बढीको ज्यान लग्यो । २०औं हजारलार्इ घरबारविहीन बनायो । ०७२ काे भूकम्पबाट राजधानीसहित पहाडी १९ जिल्ला पूर्ण प्रभावित बने ।
१९९० र २०४५ मा पनि सक्नेले सयोग गरे होलान् । तर, २०७२ को विपत्तिमा सयोग गर्नेहरु धेरै भए । तीमध्ये पनि धुर्मुस-सुन्तली र राजहरुको योगदान अमूल्य रह्यो अनि रहिरहेको छ । फरक यत्ति भयो– धुर्मुस-सुन्तलीहरू चर्चाकाे शिखरमा रहे अनि राजहरु ‘गुमनाम’ बने ।
‘मैले निरन्तर सयोग गरें तर मूल्याङ्कनको आशा गरिनँ’, क्यानडाको जस्पेरबाट राज भन्छन्– ‘मलार्इ लाग्यो दुःखीहरुको मनले मूल्याङ्कन गर्नेछ ।’
यो पङ्क्तिकारले धुर्मुस-सुन्तलीजस्तो फराकिलो मन भएकाहरुलार्इ ‘गसिप’ बनाएर नेपाली मिडियाले अनआवश्यक चर्चा गरे भन्न खाेजेकाे र उनीहरूकाे विरोध गर्न खोजेको हाेइन । धुर्मुस-सुन्तलीजस्ता पात्रहरुलार्इ मिडियाले प्रशस्त स्थान दिनुपर्छ र उनीहरूजस्ता सबैलार्इ समान ढंगले मूल्यांकनकाे वातावरण बनाइदिनुपर्छ भन्न खाेजेकाे हो ।
रामेछाप जिल्लाको बेताली गाविस स्थायी ठेगाना भएका राजको घर पनि वैशाख १२ काे भूकम्पमै ढल्यो । आमाबुबा र साना भाइहरुको त्रिपालमुनि बास भयो । परिवारमा यस्ताे दयनीय अवस्था हुँदा समेत राजको ध्यान भने अन्यन्त्रै मोडियो । जहाँ अझ बढी पीडा र चिच्याहट छ, उतै ध्यान दिए घिमिरेले । क्यानडाबाटै हरेकको पीडाबोध गरी उनले अाफ्नाे देशका नागरिकको विचल्लीबारे क्यानेडियनहरुसँग हारगुहार गरे, रोए, कराए ।
अहिले राजले ‘माउन्टेन अफ रिलिफ’ नामक संस्था दर्ता गरी क्यानडामा रहेका नेपाली र क्यानेडियनहरुलार्इ सयोग गर्न उत्साहित गराएका छन् । उनी भन्छन्– ‘यो विद्यालयको निर्माण सकिनासाथ अन्य निर्माणको काम सुरुअात गर्नेछौं । नेपालमा गरिबीले छट्पटिइरहेका हरेक बस्तीमा पुगेर मल्हम लगाउन प्रयास गर्नेछौं । कसैले मूल्याङ्कन नगरे पनि पीडितहरुको मायाले हामीलार्इ झन् उत्साहित बनाएको छ ।’
क्यानडाका केही मिडियाहरुले राजको अभियानलार्इ साथ दिएका छन् । जस्पेरबाट प्रकाशित हुने पत्रिका ‘फिट्जहुग’ ले भर्खरै उनी र नेपालको विषयमा समाचार सम्प्रेषण गर्दै भनेको छ– ‘राजको अभियानमा सयोग गरौं ।’
राजको मनलाई भूकम्पले नै फराकिलो बनाएको भने हाेइन । त्यसअघि पनि राजले आफ्नै तलबले बेतालीका कयौं सुत्केरी महिलाहरुलार्इ सहयोग गरिसकेका थिए । बेताली स्वास्थ्यचौकीका इन्चार्ज कपिलदेव अधिकारी भन्छन्– ‘राजले पटक–पटक गरिब सुत्केरी महिलाका लागि पठाएको रकम हाम्रै रोहबरमा वितरण गरेका छौं ।”
फराकिलो मन भएका धुर्मुस-सुन्तली र राजहरु कहिल्यै ओझेलमा नपरुन् । सञ्चारमाध्यम, सम्पादक र संवाददाताहरूकाे मन पनि धुर्मुस-सुन्तली र राजहरूकाे जस्तै फराकिलो बनोस् । त्यसाे हुन सके धुर्मुस-सुन्तली र राजहरु झन् फराकिलो भएर झाङ्गिने छन् ।