newskoseli.Com

अझै जस्ताको तस्तै लेनिनको शव : यसरी राखिएको छ सुरक्षित

लेनिनको मृत्यु भएको ९८ वर्ष पुगिसकेको छ । तर, उनको शव अहिले पनि रुसको राजधानी मस्कोस्थित ‘रेड स्क्वायर’ मा सुरक्षित छ । लेनिनप्रति श्रद्धा व्यक्त गर्न चाहने मान्छेहरुले अझै पनि त्यहाँ लाइन लागेर शवको अवलोकन गर्दै श्रद्धाञ्जली व्यक्त गर्छन् । कोरोना महामारीका बेला छ महिनासम्म बन्द गरिएको लेनिनको समाधि अहिले फेरि खुला गरिएको छ ।

२१ जनवरी, १९२४ मा लेनिनको मृत्यु भयो । रुसी लेखक एलेक्स युरचाकका अनुसार लेनिनको मृत्युपछि उनको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमका क्रममा लेनिनको शरीरका धमनी र नसाहरु काटिए जबकि शवलाई संरक्षण गर्ने हो भने धमनी र नसाबाट शवलाई संलेपन गर्ने रसायनहरु शरीरभरि पठाउन सजिलो हुन्थ्यो । शायद लेनिनको मृत्यु हुँदाताका उनको शरीरलाई संरक्षण गर्ने योजना बनिसकेको थिएन । पोस्टमोर्टमपछि अन्त्येष्टिसम्मको अल्पावधिका लागि चिकित्सकहरुले लेनिनको शरीरलाई संलेपन गरे ।

जनताका तर्फबाट श्रद्धाञ्जली अर्पणका लागि मृत्युको छ दिनसम्म उनको शरीरलाई ट्रेड युनियनको भवनमा राखियो । लेनिनको अन्तिम बिदाई गर्न देशभरिबाट ठूलो संख्यामा मानिसहरु आउन थाले । मस्कोको जाडोमा घन्टौंसम्म लाम लागेर मानिसहरुले श्रद्धाञ्जली अर्पण गरे । २७ जनवरीमा भव्य समारोहसहित लेनिनको मृत शरीरलाई समाधिस्थ गरियो । ट्रेड युनियन भवनबाट सारेर लेनिनको शवलाई ‘रेड स्क्वायर’ मा बनाइएको काठको अस्थायी समाधिमा राखियो । मस्कोको चिसोमा मार्चसम्म भने लेनिनको शव सुरक्षित नै रह्यो । मार्चको अन्त्यतिर जब गर्मी सुरु भयो, तब शव बिग्रन थाल्यो ।

यी दुई महिनाबीच लेनिनको शवलाई के गर्ने भन्नेबारे सोभियत नेताहरुबीच छलफल र बहस चल्यो । लेनिनको मृत्यु हुँदा उनको शवलाई यसरी सुरक्षित गरिने कुरा कसैले पनि सोचेका थिएनन् । लेनिनकी पत्नी नाजेदा क्रुप्स्कायका अनुसार लेनिन मृत्युपछि आफ्नो शवलाई आफ्नी आमाको चिहान नजिकै गाडियोस् भन्ने चाहन्थे । त्यो स्थान सेन्ट पिटसवर्गस्थित भोल्कोभ्स्कोई समाधिस्थलमा अवस्थित छ । यो समाधिस्थल बुद्धिजीवी, साहित्यकार र प्राज्ञहरुको ‘अन्तिम विश्रामस्थल’ का रुपमा प्रख्यात छ ।

ट्रटस्की र बुखारिनले लेनिनको शवलाई सुरक्षित गरिनु ‘धर्मको अवशेष’ हुने भन्दै यस्तो कुरा कम्युनिस्टहरुले सोच्नै नसक्ने भनी विरोध गरे । अर्का सोभियत नेता भोरिसिलोभले पनि यदि लेनिनको शव सुरिक्षत गरिन्छ भने हामी मार्क्सवादी–लेनिनवादी नै रहँदैनौ भन्दै विरोध गरे । अर्का नेता बोंच ब्रुयेभिचले चाहिँ लेनिनको शवलाई दफ्नाएर त्यसैलाई समाधि बनाउन प्रस्ताव गरे र सो प्रस्तावलाई पोलिटब्युरोका बहुमत सदस्यहरूले समर्थन गरे । तर, स्टालिन र उनका समर्थकहरु भने लेनिनको शवलाई सुरक्षित राख्न चाहन्थे ।

त्यसबीच सोभियत नेताहरुबीच लेनिको शवलाई सुरक्षित राख्ने अनेकौं विधिबारे चर्चा भए । कसैले शवलाई माथि सिसाको ढक्कन भएको धातुको बाकसमा संलेपन गर्ने रसायनमा डुबाएर राख्न सुझाव दिए भने कसैले चिसोमा फ्रिज गर्ने र कसैलेचाहिँ एउटा सिसाको पारदर्शी क्याप्सुलमा नाइट्रोजन ग्यास भरेर राख्नेसम्मका सुझाव दिए । अन्त्यमा, चिकित्साशास्त्रका प्राध्यापक भ्लादिमिर भोरोबियेव र बायोकेमिस्ट बोरिस जबारस्कीले संलेपनको विधि विकास गरे । त्यही विधिबाट नै लेनिनको शवलाई संरक्षण गरियो ।

लेनिनभन्दा अगाडि पनि थुप्रै मानिसहरूको शव संरक्षण गरिएको थियो । तीमध्ये मिश्रका पिरामिडमा रहेका ‘ममी’ हरु प्रख्यात छन् । त्यसयता पनि अनेकौं ठाउँमा शव संरक्षण गर्ने काम गरिँदै आएका थिए । तर, लेनिनको हकमा विकास गरिएको विधि पहिले–पहिले शव सुरक्षित राख्न प्रयोग गरिएका विधिभन्दा फरक थियो । पहिले प्रयोग गरिएका विधिहरुअनुसार सुरुमा एक पटक संलेपन गरेपछि शव सधैंको लागि सुरक्षित हुन्थ्यो । तर, यो विधिमा भने निरन्तर संलेपन गरिराख्नु पर्थ्यो । विगतमा शव संलेपन गरिँदा शरीरको वास्तबिक पदार्थलाई सुरक्षित राखिन्थ्यो तर त्यसको रुप र आकृतिमा ध्यान दिइँदैनथ्यो ।

तर, लेनिनको शव संलेपन गर्दा भने शरीरको भौतिक रुप र आकृतिलाई बढी ध्यानमा राखियो नकि त्यसको जैविक पदार्थको सुरक्षामा । ‘शोभियत संलेपन विधि’ का रूपमा परिचित यस विधिमा शरीरको रुपरंग, आकृति, वजन र जोर्नीको लचकता समेत कायम राख्नमा जोड दिइयो । त्यसैकारण यो संलेपन विधिलाई ‘अर्द्धजैविक विधि’ पनि भनिन्छ ।

लेनिनको शव संरक्षणका लागि एउटा अनुसन्धान प्रतिष्ठान नै संलग्न छ । लेनिनको शवलाई हरेक डेढ–डेढ वर्षमा केही हप्तासम्म विभिन्न संलेपन रसायनमा डुबाएर राखिन्छ । र, अरुबेला पनि सार्वजनिक प्रदर्शनका क्रममा लेनिनको कपडामुनि रबरको दोहोरो पत्र भएको सुट लगाइएको हुन्छ, जसका माध्यमबाट संलेपन द्रब्यको पातलो तहले शरीरलाई ढाकेको हुन्छ ।

लेनिनको शव संरक्षणका क्रममा कहिलेकहीं खराब भएका छालाका टुक्रा र मांसपेसीलाई प्लास्टिक वा त्यस्तै कृत्रिम पदार्थले प्रतिस्थापन गरिन्छ । सुरुआती संरक्षणका क्रममा अति चिसोका कारण लेनिनको नाक खराब भएको थियो, त्यसलाई पुनर्निर्माण गरियो । आँखी भौं पनि नस्ट भएको थियो, त्यसका ठाउँमा नक्कली आँखी भौं राखियो । लेनिनको खुट्टाको छाला खराब भएको थियो, त्यसलाई पनि कृत्रिम पदार्थले प्रतिस्थापन गरिएको छ ।

सोभियत संघको विघटनपछि रुसका नयाँ शासकले लेनिनको शवलाई गाड्न खोजे । तर, कम्युनिस्टहरुको विरोधको कारण लेनिनको संरक्षित शव नष्ट गर्ने त्यो प्रयास सफल भएन । त्यसबेलाको रुसी सरकारले लेनिनको शव संरक्षण कार्यमा खर्चिइने ल्याबको बजेट पनि कटौती गर्‍यो । तर, जनताले स्वतःस्फूर्तरुपमा संकलन गरेको चन्दाले लेनिनको शव संरक्षण कार्य जारी रह्यो ।

अहिले पुटिनले भने फेरि त्यो बजेट सुचारु गरेका छन् । लेनिनको शव कहिलेसम्म संरक्षित रहन्छ भन्ने कुरा राजनीतिमा भर पर्ने कुरा हो । जति–जति पुरानो भयो, लेनिनको शव त्यति–त्यति नै सुन्दर हुँदै गइरहेको छ ।

सारतः लेनिनको शव संरक्षण कार्य विज्ञान र कलाको अद्भूत संयोजन हो । यही विधि प्रयोग गरेर यसलाई अनन्तकालसम्म पनि संरक्षण गर्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर