सिद्धान्ततः मात्र होइन, व्यवहारतः पनि संसदीय व्यवस्था दलाल पुँजीपतिवर्गको हितरक्षा गर्ने प्रतिक्रियावादी व्यवस्था हो । यो व्यवस्था रहेसम्म श्रमिक जनता र राष्ट्रले मुक्ति र स्वाधीनता प्राप्त गर्न सम्भव छैन । बरु अनेकौं राष्ट्रघात र जनघातका घटनाहरू भोग्नु अनिवार्य छ । संसदीय व्यवस्थाभित्र आफ्नो शक्तिको सुदृढीकरण गर्नुका साथै जनतालाई ‘संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामै’ घुमाउन हरेक चार या पाँच वर्षमा चुनावको आयोजना गरिन्छ । अर्थात्, पुँजीपतिवर्गले चुनावलाई संसदीय व्यवस्थाको रक्षा गर्ने रणनीतिमा प्रयोग गर्दै आएको छ । यो व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरू हुन् । यसर्थ, चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव भएन र छैन ।
नेपालमा संसदीय व्यवस्था चालीस वर्षदेखि असफल बन्दै आएको छ । जनताले निरन्तर यसका विरुद्ध सङ्घर्ष र विद्रोह गरिरहेका छन् । पछिल्लो एक वर्षदेखि यो अनेकौं सङ्कटबाट गुज्रिरहेको छ । तथापि अहिले उसको स्थानीय चुनावको समय आएको छ र यसलाई थोरै भए पनि आफ्नो सङ्कट छल्ने साधन बनाउन जुटेको छ ।
पार्टी एकीकृत जनक्रान्तिमा निरन्तर बढिरहँदा हाम्रो मोर्चासामु संसदीय व्यवस्थाको स्थानीय चुनाव आइपुगेको छ । यसलाई कस्तो कार्यनीति बनाएर लडियो भने तत्कालिकरूपले वैज्ञानिक समाजवाद प्राप्त गर्ने हाम्रो रणनीतिलाई फाइदा पुग्छ ? हामीले सही निष्कर्ष निकाल्ने विषय बनेको छ । निश्चय पनि हाम्रो पार्टीसँग नेपाली कम्युनिस्ट आन्दोलनका चुनाव बहिष्कार र उपयोगका दुवै अनुभवहरू छन् । कुनै बेला ‘भन्ने बहिष्कार, गर्ने उपयोग’ का अनौठा प्रयोग पनि छन् । केही संसद्वादी कम्युनिस्टहरूले चुनावलाई निरपेक्षरूपले उपयोगको नीति बनाएर भाग लिँदै गएका छन् । उनीहरूलाई चुनावको कुनै समस्या नै भएन । केही कम्युनिस्टहरूले बहिष्कार भने पनि उपयोग भने पनि केवल कार्यनीतिक प्रयोगमा मात्र सीमित छ । त्यसको ठोस रणनीतिक उद्देश्यसँग जोडिएको छैन । त्यसले गर्दा उनीहरूलाई पनि खासै चिन्ता र समस्या भएन; एउटा गर्नुपर्दथ्यो, गरे ।
तर, हाम्रोजस्तो पार्टी जो निरन्तर क्रान्तिमा बढिरहेको छ, जोसँग आफ्नो रणनीतिअनुरूप जीवन्त कार्यनीतिहरू बनाउनुपर्ने जिम्मेवारी छ, जसले कार्यनीतिक गल्ती गर्दा क्रान्तिको रणनीतिक उद्देश्यमा घातक प्रभाव पार्ने अवस्था छ । यसले चुनावबारे बनाउने कार्यनीति अन्तको भन्दा गुणात्मकरूपले फरक र संवेदनशील छ । वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षका अनेक पक्ष, राष्ट्रिय सङ्घर्ष र अन्तर्राष्ट्रिय पाटापक्षसँग सम्बन्ध राख्ने यो कार्यनीतिलाई ठोस गर्दा, बहिष्कार वा प्रयोग जे गर्दा पनि गम्भीर प्रकारले विश्लेषण गर्नु र निष्कर्ष निकाल्नु जरुरी छ ।
हामीले कार्यनीति ठोस गर्दा जहिले पनि देश, श्रमिक जनता, मित्रशक्ति र पार्टीपङ्क्तिको अवस्थालाई केन्द्रभागमा राखेर गर्नुपर्छ । कस्तो कार्यनीतिले देशको हितमा नागरिकहरूलाई ध्रुवीकृत गर्न मद्दत गर्छ, जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउँछ, जनतालाई एकताबद्ध र सक्रिय बनाउँछ, पार्टीपङ्क्तिलाई जनतामा पुग्न सहज तुल्याउँछ र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने पक्षहरूलाई ध्यान दिएर बनाउनुपर्छ । यसरी विचार गर्दा पार्टीलाई दर्ता गरेर चुनाव उपयोगमा नजाने तर एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति प्रयोग गर्नु उपयुक्त हुनेछ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हालै कपिलवस्तुमा सम्पन्न बैठकमा प्रस्तुत
दस्तावेजको अंश, जनपाटी डटनेटबाट