newskoseli.Com

सोमबार ३ बजे समाजवादी मोर्चाको घोषणा

चारदेखि छवटा राजनीतिक घटकहरू सम्मिलित हुने समाजवादी मोर्चा गठनको गृहकार्य अन्तिम चरणमा पुगेको छ । सोमबार (४ असार) दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा सभा गरी मोर्चाको घोषणा गर्ने तयारी भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र जनता समाजवादी पार्टी (जसपा) उक्त मोर्चामा सहभागी हुने निश्चित भइसकेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको समूह भने मोर्चामा रहने–नरहने विषयमा अझै छलफल जारी रहेको बताइएको छ । बाबुरामहरू मोर्चामा सहभागी हुन यसअघिदेखि नै तत्पर भइसकेको तर उनलाई मोर्चामा समेट्न उपेन्द्र यादव र उनको समूहले आनाकानी गरिरहेकाले छलफल तन्किएको माओवादी केन्द्रका एक नेताले न्युजकोसेलीलाई बताए ।

मोर्चाको नेतृत्व उक्त मोर्चामा सहभागी हुने घटकका अध्यक्षले पालैपालो गर्ने सहमति आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घटकका नेताहरूको छलफलले जुथाएको छ । मोर्चालाई प्रदेश तथा जिल्ला हुँदै स्थानीयस्तरसम्म विस्तार गर्न समेत घटकहरू सहमत भएका छन् ।

मोर्चा घोषणाका लागि गठित कार्यदलले प्रस्ताव गरेको घोषणापत्रको मस्यौदामा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूका अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको संयोजन समिति गठन गर्ने उल्लेख छ । उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने अधिकार दिइने समेत सोही मस्यौदामा उल्लेख छ ।

‘समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेर मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्न सक्ने छ,’ मस्यौदामा लेखिएको छ– ‘यो मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गरिनेछ ।’ मोर्चाले तय गरेका नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्यसञ्चालन गर्न एक सचिवालय गठन गर्ने र त्यसमा सदस्य दलहरूबाट तोकिएका प्रतिनिधिहरू राखिने तय गरिएको छ ।

मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने समेत उक्त मस्यौदामा उल्लेख छ । मोर्चाले घटक सदस्यहरूबीच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीयस्तरसम्म प्रचारप्रसार, अन्तर्क्रिया, आमसभा तथा आवश्यकताअनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर