newskoseli.Com

खोटाङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

खोटाङमा आगामी जेठ महिनाको अन्तिम हप्ता ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ हुने भएको छ ।

खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितेरियो कराते सङ्घ खोटाङको आयोजनामा आगामी जेठ–२१ देखि २३ गतेसम्म सदरमुकाम दिक्तेलमा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता सञ्चालनका लागि प्रजिअ चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । करिब रु. ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि उपसमितिमा समेटिएका छन् ।

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः रु. एक लाख, ७० हजार, ४० हजार र २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश/दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

आर्थिक सहयोग सङ्कलनबाट आयोजना गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्वविद्यालय तथा भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएका छन् । १८ समूहको सहभागिता रहने प्रतियोगितामा ४५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । ७६ पदक सङ्ख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ ।

प्रतियोगितामा पुरुष एकल काता, महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन/तीन जनाको समूह रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने सङ्घका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए । प्रतियोगिताका लागि सङ्घले १२ जना खेलाडीको आयोजक टोली छानिसकेको छ ।

सङ्घले प्रतियोगिताका लागि आवश्यक खेलसामग्री तथा तयारी पूरा गरिसकेको जनाएको छ । गत वर्ष नै सञ्चालन गर्ने भनिएको प्रतियोगिता भूकम्प, तराई बन्द, आर्थिक समस्या लगायतका कारणले सारिएकोमा प्रतियोगिता सफल पार्न सोमबार स्थानीय शान्ति समिति खोटाङको पहलमा सर्वदलीय/सर्वपक्षीय भेला बसेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर