newskoseli.Com

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमद्वारा प्रदेश १ पराजित

सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै राजधानीमा जारी प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्तोष भट्टले ४८ रन जोडे । उनले ३९ बल खेल्दै ४ चौका र ३ छक्का हाने । अर्जुन साउदले २६ तथा नारायण जोशी ८ रनमा अविजित रहे । बलिङतर्फ प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनायो । प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए भने सोनु अन्सारीले ३१ रन जोडे । त्यसैगरी मिनाष थापा र अङ्कित सुवेदीले समान २३–२३ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले २–२ तथा कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले १–१ विकेट लिए ।

समूह ‘ए’बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस ३ खेल जित्दै सेमिफाइनलमा पुगेको हो । पुलिसले आफ्नो अन्तिम खेल सोमबार प्रदेश १ सँग खेल्नेछ । त्रिभुवन आर्मी क्लब ४ खेलमध्ये २ मा जीत र १ मा हारसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिम चारमध्ये २ मा जीत र २ मा हारसहित तेस्रो स्थानमा छ । कर्णाली प्रदेश ४ खेलमध्ये १ मा जीत र ३ मा हार बेहोर्दै चौथो स्थानमा रह्यो ।

प्रदेश १ ले ३ खेलमा जीतविहीन रहँदै तालिकाको पुछारमा छ । खेल मैदान खेल्न लायक नभएका कारण प्रदेश १ ले १ खेलमा आर्मीसँग अङ्क बाँडेको थियो । समूह ‘बी’बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपिएफ समूह विजेता बन्दै तथा बागमती उपविजेता भइ सेमिफाइनलमा पुगेको हो ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर