newskoseli.Com

चितवन राइनोजले जित्यो पीपीएल क्रिकेट, हात पार्‍यो २७ लाख

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी– २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित २७ लाख रुपैयाँ पुरस्कार पाएको हो ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवनले पूरै ओभर खेल्दै ५ विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार पारेको थियो । प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।

सुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले ५ चौका र ३ छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए । चितवनका करण केसीले आफ्नो ४ ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक ३ तथा सन्नी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिएका थिए ।

चितवनको विशाल योगफल तयार पार्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरेका थिए । मुस्ताफाले ४३ बलमा ५० रन जोडे भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिए । करण केसी अविजित रहँदै ८ बलमा २६ रन तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिए ।

विराटनगरका पुनित मेहरा र मुहमद जैद आलमले समान २–२ तथा किशोर महतोले एक विकेट लिए । चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ सहरका ६ टोली प्रतियोगितामा सहभागी थिए । प्रतियागिता मंसिर २९ देखि सुरु भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर