newskoseli.Com

अमेरिका निर्यात भइरहेछन् पर्वतकाे लप्सीका परिकार

पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित अनेक परिकार पहिलोपटक अमेरिका निर्यात भएका छन् । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो ।

अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका हुन् ।

लप्सीको ३ सय किलो क्यान्डी, ३ सय किलो अचार र २० किलो ग्रिनबिन कफी हिमाल गार्मेन्टलाई पठाइएको हो । गार्मेन्टका तर्फबाट आएका क्रिगले उद्योगमा करिब १ महिना बसेर त्यसको गुणस्तर परीक्षणपछि उत्कृष्ट ठहर गर्दै आफ्नो कम्पनीका लागि लैजाने सम्झौता गरेका हुन् ।

कम्पनीले क्यान्डी प्रतिकिलो २ सय ५० रूपैयाँ, अचार २ सय ८० रूपैयाँ र ग्रिनबिन कफी ८ सय  रूपैयाँ प्रतिकिलोमा बिक्री गरेको उद्योग सञ्चालक थानेश्वर भुसालले बताए ।

वि.सं. २०५८ मा स्थानीय स्रोतसाधनबाट सुरु भएको उद्योगले वैधानिक प्रक्रिया पूरा गर्दै उत्पादन अमेरिकासम्म पुर्याउन सक्नु ठूलो उपलब्धिका रूपमा लिएको उनको भनाइ छ । सुरुका चरणमा वैधानिकता पाउन मात्रै पनि निकै सङ्घर्ष गर्नुपरेको तर निरन्तर लागिपरेपछि अब बल्ल आफ्नो उत्पादनले पनि विदेशको बजार पाउने आस बढाएको उनले उल्लेख गरे ।

१ जिल्ला १ उत्पादनअन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको उनले बताए । उद्योगले २ वर्षअघि घरेलु तथा साना उद्योग महासङ्घबाट गुणस्तरमा उत्कृष्ट अवार्ड समेत पाएको थियो ।

खरिद सम्झौता गर्न उद्योगमा आएका क्रिगले लप्सीको परिकार अमेरिकाका लागि नयाँ स्वाद हुने बताए । अमेरिका पुर्याएपछि प्रतिकिलो ५० डलरमा बिक्री गर्न सकिने उनले बताए ।

 

कृषि उद्यमी ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया सुरु गरेका थिए । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो सङ्घर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो ।

सुरुमा आफूले लप्सीको सम्भावना देखेर उद्योग खोल्ने कुरा गर्दा जानकारले नै जिस्क्याउने गरेकाे अनुभव सुनाउँदै उनले भने, अहिले पर्वत लप्सीमय बन्दैछ । उद्योगको उत्पादन अमेरिकासम्म पुर्याउनुले सफलताको उचाइमा पुर्याएको उनको भनाइ छ ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका करिब ३ दर्जन गाविसमा यसको व्यावसायिक खेती सुरु भएको छ । जिविस र उद्योग वाणिज्य सङ्घले ३ वर्षदेखि थालेको १ जिल्ला १ उत्पादन कार्यक्रमले पनि लप्सीको उत्पादन जिल्लामा बर्सेनि बढ्दै गएको हो ।

यसैबीच पर्वत उद्योग वाणिज्य सङ्घले नेपालमै पहिलोपटक लप्सी प्रशोधनका लागि आधुनिक मेसिन समेत भित्र्याएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर