newskoseli.Com

भारतको ८औं धनाढ्य बने नेपालका यी अनाैठा आचार्य बालकृष्ण

भारतीय कम्पनी पतञ्जली आयुर्वेदका सीईओ आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा निकै माथि उक्लेका छन् । चिनियाँ अनुसन्धान संस्था ‘हुरन’ ले जारी गरेको सन् २०१७ का भारतीय धनाढ्यहरुको सूचीमा उनी ८औं स्थानमा सूचीकृत छन् ।

आचार्य बालकृष्ण गत वर्ष यस सूचीको २५औं स्थानमा थिए । उनको सम्पत्ति एक वर्षमै १ सय ७३ प्रतिशत वृद्धि भएर १ लाख १२ हजार करोड रुपैयाँ पुगेको बीबीसीले उल्लेख गरेको छ । ‘हुरन’ का अनुसार बालकृष्णको सम्पत्ति तीव्र रुपमा बढ्नुमा नोटबन्दी र जीएसटीले मद्दत गरेको छ । नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको संस्थानको भनाइ छ।

विगतमाझैं मुकेश अम्बानी नै ‘हुरन’ को यस वर्षको पनि भारतीय धनाढ्य सूचीको पहिलो स्थानमा छन्। यस पटक दोस्रोमा दिलीप सांघवी, तेस्रोमा एलएन मित्तल, चौथोमा शिव नादर, पाँचौंमा अजिम प्रेमजी, छैटौंमा साइरस एस पुनावाला, सातौंमा गौतम अडाणी, आठौंमा बालकृष्ण आचार्य, नवौंमा उदय कोटक र दसौंमा सुनील मित्तल परेका छन् । यीमध्ये बालकृष्णको सम्पत्ति वृद्धि दोब्बरभन्दा बढी प्रतिशतले भएको विवरणमा देखाइएको छ ।

४५ वर्षीय बालकृष्ण फोर्ब्स पत्रिकाले जारी गरेको विश्वकै धनाढ्य सूचीको ८ सय १४औं स्थानमा थिए । गतवर्ष फोर्ब्सकै भारतीय १०० धनाढ्य सूचीमा उनी ४८औं स्थानमा थिए । बालकृष्ण पतञ्जलीका सीईओ भए पनि उनले तलब नलिने दावी गर्दै आएका छन् । कम्पनीमा उनको हिस्सा ९४ प्रतिशत भएको बताइन्छ । पछिल्ला वर्ष निकै फाइदामा चलिरहेको कम्पनी हो पतञ्जली । र, यसले भारतमा विदेशी कम्पनीलाई समेत टक्कर दिइसकेको छ ।

१९ साउन, २०२९ (वि.सं.) मा जन्मिएका बालकृष्णको पुर्ख्यौली घर नेपाल हो । स्याङ्जा घर भएका उनका बुबा जयबल्लभ कामको सिलसिलामा हरिद्वार बसेका बेला बालकृष्ण त्यहीं जन्मेका थिए । आफ्ना बाबुले भारतमा चौकीदारीसहित विभिन्नखाले मजदुरी गरेको बताउँछन् बालकृष्ण ।

बालकृष्णले ५ कक्षासम्म काफलडाँडा, वालिङस्थित तेजप्रगति प्राथमिक विद्यालयमा पढेका थिए । उनी १३ वर्षे उमेरमा घर छाडेर फेरि हरिद्वार नै पुगे । हरिद्वारमै आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेदशिरोमणि हुँदै आचार्य बालकृष्ण बने ।

Balkrishna_Ramdev

सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकुलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता कायम भएको बताउँछन् बालकृष्ण । रामदेव र बालकृष्ण मिलेर सन् १९९५ मा ‘दिव्य फार्मेसी’ र २००६ मा पतञ्जली आयुर्वेद स्थापना गरेका हुन् ।

यतिबेला पतञ्जलीले शृंगारदेखि खाद्यान्न हुँदै विभिन्न घरायसी सामग्रीसम्म उत्पादन गर्दै आएको छ । बालकृष्णले कम्पनी सम्हाल्दै आएका छन् भने यसको प्रवर्द्धन र प्रचारमा रामदेव सक्रिय छन् । आफ्नो सादा जीवनशैलीका कारण आचार्य बालकृष्ण प्रख्यात छन् ।

गत वर्ष बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा बालकृष्णले पतञ्जलीको सम्पत्ति आफ्नो व्यक्तिगत नभएको बताएका थिए । पतञ्जलीको कामबाट आफूले अहिलेसम्म कहिल्यै बिदा समेत नलिएको अन्तर्वार्तामा उनले बताएका थिए ।

भारतको उत्तराखण्डस्थित हरिद्वार नजिकैको पतञ्जली योगपीठको मुख्यालय भवनको पहिलो तल्लामा छ उनको कार्यालय । योगगुरु रामदेवसँगका केही तस्बिर, बुद्ध धर्मको एउटा थान्का, केही पुस्तक र सजावटका सामग्री राखिएको उनको कार्यालय पनि साधारण खालकै देखिन्छ । उनको कार्यालयमा एउटा कम्प्युटरसम्म पनि छैन । उनी आफ्नो मस्तिष्क नै कम्प्युटर भएको बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर