यहाँका १ दर्जनभन्दा बढी गाविसमा बसोवास गरिरहेका लोपोन्मुख लाप्चा समुदायको ऐतिहासिक सामग्री संरक्षण नहुँदा सङ्कटमा परेका छन् । प्राचीन लेप्चा शासकले चलाएका ऐतिहासिक सामग्री उचित संरक्षण नहुँदा मक्किन थालेका छन् ।
ऐतिहासिक सामग्री संरक्षणका लागि सङ्ग्राहलयको आवश्यकता रहेको श्रीअन्तुका उमेश लाप्चाले बताए । “सङ्ग्राहलयको अभावमा घरमै ऐतिहासिक सामग्री थन्किएका छन् तर अव्यवस्थित रूपमा घरमै राखिएकाले ती सामग्री लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि सङ्ग्राहलयको माग गरेका हौं,” लाप्चाले भने ।
लोपोन्मुख सूचीमा रहेका लाप्चा समुदाय जिल्लाको गोर्खे, जोगमाई, पशुपतिनगर, नामसालिङ, गोदक, लक्ष्मीपुर, इरौंटार, कोल्बुङ, शान्तिपुर, पञ्चकन्या, सूर्याेदय नगरपालिका, श्रीअन्तु, समालबुङ र जिर्मलेमा बसोवास गर्दै आएका छन् ।
लाप्चा समुदायले प्राचीनकालमा युद्धमा प्रयोग गरेका ढाल, दाम्प्रा, छुरी, बाजा, तोङ्बा, जुगेटो नमिक, टम्प्रिलगायतका सामग्री ऐतिहासिक महत्वका छन् । लाप्चा जातिलाई शासन सञ्चालनका लागि तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले दिएको लालमोहोरसमेत असुरक्षित भएको बताइएको छ ।
श्रीअन्तुको उत्तरेमा जग्गा खरिद गरी ५ वर्ष अगाडि सङ्ग्राहलय निर्माण सुरू गरिए पनि रकम अभावमा त्यो अलपत्र अवस्थामा छ । जिल्ला विकास समितिले दिएको १ लाख रूपैयाँमा अन्य आर्थिक सहयोग जुटाएर निर्माणकार्य सुरू गरिएको थियो ।
‘पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएका ऐतिहासिक सामग्री व्यवस्थित राख्ने सोच थियो तर बजेट अभावमा भवन निर्माण कार्य अलपत्र परेको छ,’ लाप्चा उत्थान मञ्चका अध्यक्ष वीरबहादुर लाप्चाले भने ।
सङ्ग्राहलयको अभावमा ऐतिहासिक सामग्री उनीहरू आफैं संरक्षण गरिरहेका छन् । लालमोहर पनि माउ लागेर काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी चन्द्र लाप्चाले बताउ । जिल्लामा विभिन्न समयमा हुने पर्यटन महोत्सवमा लाप्चा जातिको ऐतिहासिक सामग्री अवलोकनका लागि राखिने गरेको छ ।
लाप्चा जातिको संस्कृति, भाषा र ऐतिहासिक महत्वका सामग्री अध्ययनका लागि देश विदेशबाट अध्ययनकर्मी आउँदा संरक्षणका लागि चासो दिन अनुरोध गर्दै आएको समेत चन्द्र बताउछन् ।
जिल्लामा हुने महोत्सवमा लाप्चा जातिका धर्मग्रन्थ, लिपी, कागजपत्र, बाजागाजा, तोेप, सङ्गीत, तलवारजस्ता हातहतियार र दम्बुन दम्बालगायतका जातीय पोसाक प्रदर्शनी गरिँदै आएको छ ।