newskoseli.Com

एउटै जिल्लामा १३ करोडभन्दा बढीको सुन्तला

एउटै जिल्लामा यस वर्ष १३ करोड रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बागलुङ जिल्लामा गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले उत्पादन बढेको छ ।

जिल्लाभरि ३ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिए । सरदर ४० रूपैयाँ प्रतिकिलोमा बिक्री भएको सुन्तलाबाट किसानले १३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको अधिकृत अधिकारीले बताए ।

कात्तिक–मंसिरमा ३५ देखि ४० रूपैयाँमा बिक्री हुने सुन्तलाको मूल्य बढेर अहिले ६० देखि ७० रूपैयाँ पुगेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुने गरेको अधिकृत अधिकारीले बताए ।

यसरी बाहिर निकासी भएको २ हजार ३ सय ८० टन सुन्तलाबाट ९ करोड ५२ लाख रूपैयाँ जिल्लामा भित्रिएको छ भने ४ करोड ८ लाख रूपैयाँको सुन्तला जिल्लाभित्रै बिक्री भएको छ ।

यो वर्ष जिल्लामा ५ सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ । अघिल्लो वर्षसम्म ४ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको थियो ।

बगैँंचा, रोग, कीराको व्यवस्थापन, प्रविधि, सामग्रीको प्रयोग, उत्पादनशील बोटको वृद्धि, अनुकूल मौसम जस्ता कारणले यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

‘यो वर्ष मौसम पनि अनुकूल पर्यो, फूल खेल्दा असिना, हावा, हुरी चलेन’ अधिकृत अधिकारीले भने– ‘उत्पादनशील बिरुवा पनि यो वर्ष बढे ।’ गत वर्ष ४ सय ९७ हेक्टर क्षेत्रफलमा जम्मा २ हजार ९ सय ९६ मेट्रिक टन सुन्तला फेलेको थियो ।

बागलुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन, बुटबल, गुल्मीलगायतका ठाउँमा निर्यात हुने गरेको छ । यहाँका किसानले सुन्तला भण्डारणसमेत गरेर पछिसम्म बिक्री गर्ने गरेका छन् । फागुन–चैतमा प्रतिकिलो सुन्तला रु एक सय भन्दा बढीमा बिक्री हुने गरेका छन् ।

सुन्तला व्यापारी किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले सुन्तलाको बोट नै ‘ठेक्का’ मा लिने गरेको बिहुँ गाविसका अगुवा किसान बालानन्द कँडेलले बताए । एकै किसानले सुन्तला बिक्रीबाट लाखाैं रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका दर्जन बढी गाविसलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको ‘पकेट क्षेत्र’ को रुपमा घोषणा गरेको छ ।

सबैभन्दा बढी बिहुँ गाविसमा सुन्तलाखेती विस्तार भएको छ । उक्त गाविसमा मात्र १२ हजार भन्दा बढी बोटले फल दिइरहेको कृषक बताउँछन् । वर्षमा ४ करोड रूपैयाँ बराबरको सुन्तला बिहुँ गाविसमा मात्र उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले उक्त गाविसलाई ‘सुन्तला गाउँ’ को रुपमा घोषणा गर्ने योजना पनि बनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर