newskoseli.Com

नेकपाभित्रको बबण्डर : कसले जित्यो, कसले हार्‍यो ?

सत्तारुढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले विवादलाई झन् अन्योलमा धकेलेको थियो । नौ सदस्यीय सचिवालयका नेताहरुमध्ये अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खड्गप्रसाद ओलीले तत्काल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग लिएर बैठकमा पुगेका थिए ।

तर, त्यहाँ प्रधानमन्त्री ओलीले फालिदिएको ‘पासा’ यस्तो ब्रह्मास्त्र बन्न पुग्यो, जसले सचिवालयमा अल्पमतमा रहेका ओलीलाई शनिबारको बैठकसम्म आइपुग्दा एकाएक बहुमतमा पुर्‍याइदियो । यद्यपि गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कतै पनि नखुलेकाले दुवै पक्ष बहुमतमा भने छैन ।

बुधबारको बैठकमा प्रचण्ड, खनाल र नेपालले स्पष्ट शब्दमा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद तत्काल छाडेर बाटो खोलिदिन ओलीलाई दबाव दिए । उपाध्यक्ष वामदेव गौतमले त्यसअघि नै ती दुवै पद तुरुन्त छाडेर बालकोट गई आराम गर्न ओलीलाई दबाव दिइसकेका थिए । तर, सो बैठकमा ओलीले ‘कोरोनापछि’ आफूले छाडेर वामदेवलाई प्रधानमन्त्री बनाइदिने अनि वरिष्ठ नेता नेपाललाई ‘तेस्रो अध्यक्ष’ बनाउने प्रस्ताव राखे । सो प्रस्तावलगत्तै वामदेव भुइँमा खुट्टै नटेक्ने गरी फुर्किए । प्रचण्ड, खनाल र नेपाल भने अलमल्लमा परे । त्यसपछि शनिबार साँझका लागि अर्को बैठक बोलाएर नेताहरु उठे ।

खड्ग ओलीमा दम्भ र अहंकार बढेर अनियन्त्रित भैसकेको र सरकार तथा पार्टी दुवैका काम जनता र नेता–कार्यकर्ताले चित्त बुझाउन सक्ने गरी अघि नबढेको, निरन्तर पार्टी एकताको भावनाविपरीत कामकाज गरिरहेको, विधि–पद्धतिलाई लात मारेको, पटक–पटक निर्णय गर्दा र सच्याँदा समेत बेवास्ता गरिरहेको हुँदा अब ओलीले बिदा लिनुको विकल्प नभएको नेताहरुको भनाइ थियो । यी र यस्तै विषयमा समीक्षा गर्न र आवश्यक निर्णय लिन तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने भन्दा २० जना सदस्यले लिखित अनुरोधपत्र दुवै अक्षलाई बुझाउँदा समेत बैठक नबोलाइएको र त्यो बैठक बोलाइए आफू उपस्थित नहुने धम्की ओलीले दिएको नेताहरुको जिकिर थियो ।

शनिबारको बैठक बस्न लागिसक्दा समेत ओली पक्षका सबै नेताले स्थायी कमिटीको बैठक यतिबेला आवश्यक नभएकाले त्यो नबोलाइने बताइरहेका थिए । ओलीले कुनै हालतमा पनि दुवै पद नछाड्ने उनीहरुको तर्क थियो । तर, बैठकले २५ गते स्थायी कमिटीको बैठक बस्ने र त्यसको तयारीका निम्ति २४ गते फेरि सचिवालयको बैठक बस्ने निर्णय लियो ।

यही बैठकले ओलीपछिको प्रधानमन्त्री बनाउनका लागि वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने पनि निर्णय लियो । तेस्राे अध्यक्ष बन्न वरिष्ठ नेता नेपालले ठाडै अस्वीकार गरे । बरू यसअघि सचिवालयले राष्ट्रपतिबाट मनोनीत हुने कोटाबाट वामदेवलाई राष्ट्रियसभामा लान गरेको निर्णयलाई यो निर्णयले खण्डित गरिदिएको छ। सो निर्णय कार्यान्वयनमा ओलीले गरिरहेको अस्वीकार नै सदर हुन पुगेको छ । तर, स्थायी समितिमा खड्ग ओली भारी अल्पमतमा छन् । सो बैठकको सामना गर्नु उनका लागि फलामको च्युरा चपाएसरह हुने निश्चित छ । सचिवालयको अघिल्लो र यो बैठकबाट कसले जित्यो र कसले हार्‍यो भन्ने कुरा स्थायी कमिटीको बैठकबाट मात्र निर्क्योल हुने देखिन्छ ।

यो स्थितिमा केपी ओली पक्ष आफूहरुले जितेको दावी गर्न थालेको छ भने बहुमत पक्ष  भने आफूहरुले भनेकै र चाहेकै दिशातर्फ परिस्थिति अघि बढेको दावी गरिरहेको छ । खासमा यो बैठकबाट कसले जित्यो ? यसकाे जवाफ समयले नै छिटै दिनेछ ।

थप यी समाचार पनि पढ्नुहोस्–
ओलीले गरे ‘आत्मालोचना’, वैशाख २५ मा स्थायी कमिटीको बैठक, वामदेवलाई संसदको उम्मेवार बनाइने

प्रचण्ड–माधवले मागे राजीनामा : ओलीले नमानेपछि सचिवालय बैठक विनानिश्कर्ष स्थगित

ओलीलाई वामदेवको जवाफ : ‘पहिले तपाईं राजीनामा गर्नुहोस्, अरु निर्णय पार्टीले नै गर्छ’

‘अब तपाईंबाट सरकारको नेतृत्व असम्भव’ : ओलीसँग नेताहरुकाे भनाइ

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर