newskoseli.Com

ओलीद्वारा एमाले कब्जापछि उपाध्यक्ष वामदेव के भन्छन् ?

तत्कालीन एमालेभित्रको गुटबन्दी, आन्तरिक शक्ति–संघर्ष र घात–प्रतिघातमा सधैं नै अविश्वसनीय, आत्मकेन्द्रित र व्यक्तिगत स्वार्थलाई धुरीमा राखेर ‘मुभ’ गर्दै आएका वामदेव गौतम उक्त पार्टीमा खड्ग ओलीको ‘उदय’ का मुख्य कारक हुन् । संविधानसभाकालमा झलनाथ खनाल पार्टी अध्यक्ष हुँदाहुँदै उनलाई पराजित गरेर ओली संसदीय दलको नेता निर्वाचित हुनुको मुख्य कारण नै वामदेवको सहयोग हो । त्यसैगरी, नवौं महाधिवेशनमा जम्माजम्मी साठी मतको अन्तरले माधवकुमार नेपाललाई पराजित गरेर ओली पार्टी अध्यक्षमा निर्वाचित हुनुको मुख्य कारण पनि वामदेव गौतमको सहयोग नै हो ।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा एमाले र माओवादी केन्द्रबीच ‘वाम’ गठबन्धन बनाउने र त्यसपछि पार्टी एकता गराउने प्रक्रियामा भने वामदेव करिव–करिव ‘थर्ड लेयर’ को सहयोगी मात्रै रहेका थिए । उक्त चुनावमा वामदेव बर्दियाबाट हारेपछि नेकपा फुटाउने क्रममा भने उनी खड्ग ओलीपछिको दोस्रो प्रमुख कारक र कर्ता बन्न पुगे ।

आफ्नो व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षालाई धुरीमा राखेर ‘स्टेप’ लिने वामदेवले नेकपाभित्रको शक्तिसंघर्षलाई सबैभन्दा बढी गिजोलिदिए । प्रचण्ड–माधवको खेमामा उभिएर ओलीविरुद्ध मोर्चाबन्दी गर्ने अनि ओली चरम अल्पमतमा पुगेर पार्टीसत्ता र राज्यसत्ता दुवैतिरबाट ढल्नै लागेपछि एकाएक ओलीतिर लागेर उनैलाई थामिदिने ‘खेल’ वामदेवले नेकपाभित्र धेरै पटक खेले ।

ओलीका हर्कतहरुले सीमा नाघिसकेपछि र उनलाई ठेगान नलगाउने हो भने स्वयं नेकपा तथा राष्ट्र दुवै नै खतरामा पर्ने अन्तिम अवस्था आइसकेपछि प्रचण्ड र माधवकुमार नेपालहरुले निर्णायक पहल लिन थाले । त्यो अवस्थामा प्रचण्डमार्फत पार्टीमा प्रस्तुत भएको बहुचर्चित १९ पाने राजनीतिक प्रस्तावको आफू मस्यौदाकार नै रहेको दावी वामदेवले गरे । तर, जब त्यो प्रस्तावले ठोस रुप लिन थाल्यो, एकाएक वामदेव पछि हटे र ओलीकै भाषामा उक्त १९ पाने ‘आरोपपत्र’ फिर्ता लिनुपर्ने बताउन थाले ।

त्यसपछि विकसित राजनीतिक घटनाक्रमको सामना गर्न ओलीले असंवैधानिक किसिमले प्रतिनिधिसभाको ‘विघटन’ गरिदिए । त्यसपछि वामदेव पूरै अकर्मण्यतामा फसे, ओलीका हर्कतहरुको प्रतिवाद गर्न छाडिदिए । ओलीका यी र यस्तै हर्कतहरुले पैदा गरिदिएको नेकपाको विभाजनमा वामदेव बस्न त ‘तटस्थ’ बसे तर उनको त्यो कार्यले ओलीलाई नै भरपूर फाइदा पुर्यायो । त्यसबेला उनी ‘एकता जोगाउने अभियान’ भन्दै असम्भव र हास्यास्पद प्रयासमा लागे ।

अन्ततः ओलीले सर्वोच्चका केही न्यायााधीशलाई ‘प्रयोग’ गरेर राजनीति ‘आफ्नो फेबर’ मा आउने गरी एमाले–माओवादी केन्द्र यथावत ब्युँताइदिए । वामदेव खुशी भएर ‘अब तीतोपिरो सकियो, एमाले एकताबद्ध भयो’ भन्न थाले । तर, शुक्रबार (२८ फागुन) को एकलौटी कदमबाट एमालेलाई कब्जा गर्ने अनि महाधिवेशनबाट निर्वाचित भएर पाएका वामदेवलगायतका सबैका पदहरु एकै झड्कामा खोसिदिने ओलीको कदमपछि स्वयं वामदेव पनि बर्खास्त हुन पुगेका छन् ।

‘यो पार्टी सञ्चालनमा फासीवादी चरित्र हो, अराजकताको पराकाष्ठा नाघ्यो,’ सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै वामदेवले भनेका छन्– ‘ओलीको निर्णयले कम्युनिस्ट भन्न पनि लाज लाग्ने स्थिति बन्यो ।’

‘एक निर्वाचितद्वारा सारा निर्वाचित बर्खास्त गर्नु कलंक हो,’ गौतमको ठहर छ– ‘सर्वोच्च अदालतको निर्णयले एमालेलाई एक ठाँउमा ल्याएको थियो, यो पार्टी निर्माणमा लागि महत्त्वपूर्ण अवसर थियो तर, ओलीजी प्रतिशोधमा उत्रिए, सबै सिध्याए ।’

शुक्रबार ओलीले एकलौटीढंगबाट एमाले कब्जा गरिदिएपछि वामदेवलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना समाप्त भयो ।

यो पनि पढ्नुहोस्–
एमाले टुक्रिनै लाग्दा वामदेवको ‘एकता अभियान’ ले लियो यस्ता निर्णय (विज्ञप्तिसहित)

न्युजकोसेलीको भिडियो सेवा के तपाईंले हेर्ने गर्नुभएको छ ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर