newskoseli.Com

सीटीईभीटीमा नक्कली परीक्षार्थीको राइँदाइँ

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहका परीक्षा सञ्चालन भइरहेका छन् । जेठ ९ देखि देशभर हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, ओभरसियर, आयुर्वेदिक चिकित्सा, डाइग्नोस्टिक रेडियोग्राफीलगायत डिप्लोमा तहका दर्जनबढी कोर्षहरुको मौका परीक्षा सञ्चालन भइरहेको छ ।

तपाईंलाई लाग्ला व्यावसायिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई अहिले परीक्षा तयारीको चटारो होला । नहुनु पनि कसरी ? राम्रो अंक ल्याएर पास हुनु सबैको सपना हुन्छ । दक्ष भएर नागरिकको सेवा गर्ने रहर पनि सबैमा हुने नै भयो ।

तर, अहिले परीक्षार्थीहरुलाई भने यतिबेला परीक्षा तयारीको चटारोभन्दा पनि विनामिहिनेत पास गरिदिने ‘च्यानल’ खोज्न चाहिँ निकै नै भ्याइनभ्याइ छ ।

यस्तो चोरबाटो अँगाल्नेहरुलाई सघाइरहेका छन् बजारमा आधिकारिक र अनधिकृत तवरले धमाधम खुलिरहेका इन्स्टिच्यट तथा गिरोहहरुले । पैसा दिएमा क्षणभरमै उनीहरुले तयार गरिदिन्छन् नक्कली परीक्षार्थी तर सक्कली प्रवेशपत्र ।

यस्तो काम इन्स्टिच्युटवाला वा गिरोहहरुको आफ्नै प्रयासले मात्र सम्भव भयोहोला भन्नेमा कसैले विश्वास गर्दैन । ‘पैसा देखेपछि महादेवका तीन नेत्र’ भने झैं व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेर स्थापित क्याम्पस अनि सीटीईभीटीका तल्लो तहदेखि माथिल्लो तहसम्मका पैसामा बिक्ने कर्मचारीहरुको संग्लग्नता र लापर्बाहीका कारण यस्तो हर्कत सम्भव भएको समाचार स्रोतको दावी छ ।

‘म मात्र कहाँ हो र ! अधिकांशले यस्तै गर्छन्’, एक परीक्षार्थी साथीसँग गफिँदै थिए– ‘पाँच–सात हजार तिरेर नक्कली परीक्षार्थी बनी पास हुने निश्चित भएपछि कसले गर्छ पढिरहने दुःख ।’ आफ्ना प्रायः साथीहरुले नक्कली परीक्षार्थीबाटै डिप्लोमा तहका धेरैजसो विषय पास गरेको सुनाएपछि आफूले पनि त्यसै गरेको दावी गरिरहेका थिए उनी ।

‘पहिले त गफै हो जस्तो लाग्थ्यो तर यो वर्ष थाहा पाएँ– साँच्चै त्यसै पो हुँदोरहेछ’, एक अर्का विद्यार्थी भन्दै थिए– ‘थोरै पैसामा आफ्नो परीक्षा नक्कली परीक्षार्थीले दिने भएपछि केको तयारी गर्नु !’ उनले पनि परीक्षाको तयारी गरिरहनुभन्दा चाहिने पैसा र नक्कली विद्यार्थी खोज्नु नै सजिलो ‘उपाय’ भएको धारणा राखे ।

आफ्नो नाम बताउन नचाहने उनले आफ्ना धेरै साथीले परीक्षाको तयारी गर्नुभन्दा नक्कली परीक्षार्थी खोज्ने बाटो नै अँगालेको र अन्ततः सफल पनि भएको जानकारी दिए ।

कसरी सम्भव हुन्छ यस्तो ?

बजारमा धेरै गिरोह भेटिन्छन् सक्कली विद्यार्थी पत्ता लगाई नक्कली परीक्षार्थी खोज्ने । सक्कलसँग मिल्ने नक्कली छाप बनाउने र नक्कली परीक्षार्थी बन्न सम्बन्धित विषयका जेहेन्दार विद्यार्थीलाई सहमत गराउने । पैसाकै लागि यी सबै प्रक्रियालाई सक्कली बनाउँछन् कर्मचारीदेखि अन्य क्षेत्रका व्यक्ति सम्मिलित गिरोहहरु ।

उसै पनि ‘पैसाकै निम्ति जे गर्न पनि तयार’ भनेर आरोप खेप्दै आएको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले । त्यसमाथि नक्कली विद्यार्थीको बिगबिगी बढ्दा पनि अनदेखा गर्ने सीटीईभीटीको व्यवहारले यस्तो कार्यलाई थप मलजल गरेको मात्रै छैन, परीक्षा जस्तो कर्म ‘कमाई खाने भाँडो’ बन्न पुगेको छ ।

किन चल्छ यस्तो खेल ?

१. सीटीईभीटीको लापरबाहीः प्रवेशपत्रमा भएको फोटोमाथि होलोग्राम वा स्टिकर नलगाइनु र प्रवेशपत्रलाई व्यवस्थित एवं सुरक्षित बनाउने उपाय नखोजिनु ।
२. पैसाका लागि काम गरिरहेका व्यक्ति र संस्थाहरुलाई छाडा छाडिनुः यस्ता गिहोहले प्रवेश परीक्षादेखि नै चलखेल गर्ने, पैसा लिएर विद्यार्थीलाई पास गर्न सहयोग गर्नेलगायतका अनधिकृत कार्य गर्दा पनि सीटीईभीटी तथा प्रशासनले नियमन तथा नियन्त्रण गर्न नसक्नु ।
३. विद्यार्थीको प्रमाणपत्रकेन्द्रित मानसिकताः व्यावहारिक सिप सिक्न नसके पनि प्रमाणपत्र हातमा आए पुग्छ भन्ने विद्यार्थीको मानसिकताले यस्तो नक्कली कार्यलाई बढावा दिइरहेको छ ।

क–कसलाई हुन्छ नाफा–घाटा ?

क्षमता छ तर पैसा छैन त्यसैले नक्कली परीक्षार्थी बन्न तयार हुन्छन् जेहेन्दार विद्यार्थी । कसैलाई पटकपटक परीक्षा दिएर पनि पास गर्न कठिन भइरहेको छ, अनि पैसा दिएर सजिलै पास होइने भएपछि त्यस्ता विद्यार्थीहरु ढुक्क हुने नै भए ।

त्यसैगरी जोखिम नहुने आश्वासन दिएकै भरमा नक्कली परीक्षार्थी तयार हुने र उनीहरुबाट आधा रकम सित्तैंमा पाइने भएपछि विभिन्न गठजोडको गिरोह मालामाल । यसरी चाँचोपाँजो मिलाएवापत यस्ता गिरोहले १ व्यक्तिबाट १० हजारभन्दा बढी पैसा लिने गरेको बताइएको छ ।

यी तीनै पक्षलाई त फाइदा हुने नै भयो । तर, घाटा भने सधैं जनतालाई । एकातिर कम प्राविधिक जनशक्ति अर्कोतर्फ भएका पनि जालझेल गरेर पास भएका । उनीहरुले कसरी दिन सक्लान् जनतालाई गुणस्तरीय सेवा ?

दलाली मौलाउने आधार : सीटीईभीटीको व्यवहार

पहिले प्रवेशपत्रमा परीक्षार्थीको तस्बिरमाथि आधिकारिक होलोग्राम वा स्टिकर हुन्थ्यो । त्यतिबेला पनि यस्तो प्रवृत्ति मौलाएकै थियो । तर, सोचेजस्तो पैसा आउँदैनथ्यो दलाली गरेर । सबैको गठजोडले स्टिकर वा होलोग्राम राख्ने प्रचलन हटाएर विनाहोलोग्राम वा स्टिकर, छापबाटै काम चल्ने बनाइएपछि सबैलाई फाइदैफाइदा । यस्तो भएपछि सक्कली विद्यार्थीका हातहातमा नक्कली छाप र नक्कली विद्यार्थीका हातमा सक्कली प्रवेशपत्र सम्भव भएको छ । फितलो परीक्षा प्रशासन र मूकदर्शक सीटीईभीटीका कारण विगतदेखि नै दलाली धन्दा मौलाइरहेको छ ।

यो वर्षदेखि फेल भएपछि मौका परीक्षा दिन मिल्ने व्यवस्था खारेज हुने र अर्को वर्षदेखि एक विषयमा फेल भएमा अर्को वर्ष कुर्नुपर्ने भएकाले जसरी पनि उत्तीर्ण हुनका लागि सबैले यस्तो हतकन्डा अपनाएको विद्यार्थीहरु बताउँछन् ।

तर, यसो भन्छ सीटीईभीटी…

यतिबेला पूर्वक्षेत्रको इटहरी, मध्यक्षेत्रको भरतपुर, पश्चिम क्षेत्रको कोहलपुर–बाँके र केन्द्रीय परीक्षा नियन्त्रण कार्यालय सानोठिमी गरी ४ अंगहरुको मातहतमा देशभर ब्याक पेपरवालाहरुका परीक्षा सञ्चालन भइरहेका छन् ।

तर, देशका कुनै पनि परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी सहभागी भएको भन्नेबारे लिखित वा मौखिक रुपमा कुनै जानकारी आफूकहाँ नआएको सीटीईभीटी परीक्षा विभागका उपनिर्देशक वामदेव देवकोटाले न्युजकोसेलीलाई बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर