newskoseli.Com

भद्रगोल भक्तपुर : एक शब्दचित्र

जनताका गुनासो सुन्ने र समस्या समाधान गर्ने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासाको ओइरो लाग्यो ।

सूचना अधिकार समाजको सहजीकरणमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित कार्यक्रममा स्थानीयले नयाँ नगरपालिकामा गुरुयोजना बनाएर काम हुन नसक्दा विकासका कार्यक्रम प्रभावित भएको गुनासो गरे ।

चाँगुनारायण नगरपालिकानिवासी शङ्कर गौतमले गुरुयोजनाबिना नगरपालिकाको विकास भद्रगोल हुनेगरेको गुनासो गर्दै पार्क, औद्योगिक क्षेत्र, हरियाली, ढल निकास र फोहर व्यवस्थापनका लागि अहिले नै सुरक्षित क्षेत्र निर्धारण गर्नुपर्ने औंल्याए ।

नगरपालिकाका स्थानीय नवराज गेलालले प्रशासनले नागरिकप्रति गर्ने व्यवहार विभेदपूर्ण भएको गुनासो गर्दै भने˗ “भूकम्पपीडितले बालुवा खानीबाट बालुवा झिकेर घर बनाउँदा नागरिकलाई प्रहरीले समात्छ तर रातारात बालुवा तस्करी गरेर नगरपालिका बाहिर पठाउँदा कोही कसैलाई कारबाही हुँदैन, यो कस्तो विभेद हो ?”

चाँगुनारायण नगरपालिका– १० का रोजबहादुर तामाङले टोलका १५ परिवारले हालसम्म पनि सरकारले दिएको अस्थायी आवास निर्माण स्वरुपको १५ हजार रूपैयाँ र न्यानो कपडा किन्न दिइएको १० हजार रूपैयाँ समेत नपाइएको गुनासो गरे ।

चाँगुनारायण नगरपालिकाका मोहन रोक्काले जिल्ला विकासले बालुवा उत्खनन र निकासीमा रोक लगाएको भए पनि मिलोमतोमा बालुवा निकासी भइरहेकाले त्यसलाई तत्काल रोक्न माग गरे ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धुव्रप्रसाद कोइराला, चाँगुनारयण नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ भुसाललगायतले नगरलाई सुन्दर बनाउन स्थानीय र सरकारी निकायको बराबर भूमिका हुने भएकाले सबैले हातेमालो गरेर समस्या समाधानतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा उपभोक्ता समितिमार्फत सञ्चालन गरेको आयोजना सम्पन्न भए पनि भुक्तानी दिन झमेला हुने गरेका छन् ।

समितिमार्फत कार्य सम्पन्न गरिएको आयोजनाको रकम फछ्र्योटका लागि निवेदन दिँदा विभिन्न कागजी प्रक्रिया नपुगेको भन्दै नगरपालिकाका लेखा अधिकृतले भुक्तानी नदिएर झुलाउने गरेको सूर्यविनायक नगरपालिका–८ की उषा बस्नेतले गुनासो गरे ।

सूर्यविनायक नगरपालिका–७ की कृष्णकुमारी कोजुले महिला उपभोक्ताले सुरुमै २० प्रतिशत रकम हालेर योजना सञ्चालन गर्न समस्या भएकाले यस्तो प्रावधान हटाउन माग गरे ।

सूर्यविनायक–४ का रामकृष्ण बोहजुले असारको वर्षात्मा काम गर्ने परिपाटीको अन्त्य नभएसम्म दिगो विकास हुन नसक्ने बताए भने सूर्यविनायक–६ का श्रीराम व्यान्जुले नगरपालिकाले यस आर्थिक वर्षको योजनाको ठूलो रकम खर्च हुन नसकेको गुनासो गरे ।

नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आम नागरिकले प्रत्यक्ष अनुभूत हुने गरी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर