newskoseli.Com

सांसदहरूको एकै स्वर : राहतबारे सशंकित छौं

सिन्धुपाल्चोकका सबै सांसदहरुले भोटेकोशीमा गएको भीषण बाढीपहिरोले पुर्याएको क्षति, राहत र पुनर्स्थापनाका निम्ति पक्ष–प्रतिपक्षमा नलागी एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङले जनतालाई दिइने राहत एकमुष्ठ रुपमा दिनुपर्ने बताएका छन् । संवाद क्लब नेपालद्वारा राजधानीमा आयोजित सञ्चारकर्मीसँग अन्तर्सम्वाद कार्यक्रममा बोल्दै सांसद तामाङले भूकम्पपीडितलाई राहत दिँदा एकमुस्ठ रुपमा दिनुपर्ने बताएका हुन् ।

भूकम्पले चिराचिरा भएको सिन्धुपाल्चोकलाई बर्खाको पानीले झन् पीडा दिएको बताउँदै उनले भने– ‘तपाईंहामी सबै भूकम्पपीडित हौं, किन दुई किस्तामा राहत दिनुपर्यो, एकैचोटिमै दिऊँ न । यो या ऊ बहानामा किन जनतालाई झुक्याउने ? खुरुक्क चेक काटेरर दिदाँ भैगो नि !’
सांसद तामाङले नेपालका पहाडमा घर बनाउनका लागि अहिलेसम्म कुनै पनि इन्जिनियरले नपढेको बताउँदै भने– ‘नेपालका कुनै पनि कलेजले पहाडमा बनाइने घरको बारेमा पढाएको छैन, किन चाहियो इन्जिनियर ? जनतालाई पहिले आफ्नै तरिकाले घर बनाउन दिऊँ पछि एकैचोटी चेक काटेर दिए भैगो नि ।’

नेकपा एमालेका केन्दीय सदस्य समेत रहेका तामाङले सरकारले नगरेको भन्दा पनि गर्न चाहेर पनि आफ्नै ढिलासुस्तीमा अल्झेको आरोप लगाए । जतिसक्दो छिटो बाढीपहिरोमा परेका सिन्धुपाल्चोकवासीलाई पुनर्स्थापना गरी राहत दिन उनले सरकारसँग आग्रह गरे । सिन्धुपाल्चोकको जुरे पहिरोदेखि भोटेकोशी पहिरोसम्म दैवी प्रकोपले दुःख दिएको भन्दै उनले अब सिन्धुपाल्चोकलाई दैवी प्रकोप संग्राहलयका रुपमा विकास गर्न पनि आग्रह गरे ।

उक्त कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद मोहनबहादुर बस्नेतले जतिसक्दो छिटो भोटेकोशी पीडितलाई राहत तथा पुनर्स्थापना गर्न माग गरे । भूकम्प पीडितले १४ महिनासम्म पनि राहत नपाएको प्रसङ्ग कोट्याउँदै उनले भोटेकोशी पीडितलाई पनि सरकारले राहत र पुनर्स्थापना गर्ला भन्नेमा आशंका व्यक्त गरे ।

बस्नेतले भने– ‘तर म सिन्धुपाल्चोक जिल्लाको सांसद भएको हैसियतले राहत र पुनर्स्थापनाका निम्ति संसदमा आवाज उठाउने र संसदले पनि सुनुवाइ गरेन भने जनताको साथ लिएर निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले भूकम्पपीडितलाई राहत उपलब्ध गराउनका लागि आफूले पार्टीभित्र एक्लै लडेर २ किस्तामा राहत दिनका लागि पहल गरेको बताए ।

भोटेकोशी क्षेत्रको क्षति विवरण प्रस्तुत गर्दैै उनले भने– ‘अरनिको राजमार्ग पूरै अवरुद्ध भएको छ । त्यहाँका जनताको रोजीरोटी भनेकै तातोपानी नाकाको व्यापार हो, त्यो अहिले ठप्प छ । यसमा पनि सरकारले ध्यान देओस् ।’

पर्यटकीय हिसाबले तातोपानी एक उत्कृष्ट गन्तव्य भएको बताउदै उनले भने– ‘त्यो तातोपानीमा नुहाउने धाराहरु पनि पहिरोको जोखिममा छन्, कति त बगिसके केही बाँकी होलान्, यस विषयमा पनि सरकारले रोकथामका लागि पहल गरोस् ।’

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका बस्नेतले त्यहाँका जनतालाई जतिबेला जे पनि हुन सक्ने भएकाले पुनर्स्थापनाका लागि विशेष ध्यान दिन आग्रह गरे । उनले भने– ‘सिन्धुपाल्चोक भूकम्पले गर्दा चिराचिरा परेको छ, जतिबेला जहाँ पनि पहिरो जान सक्छ ।’ अघिल्लो पटक विभिन्न संघ–संस्था तथा जिल्ला दैवी प्रकोप समितिले दिएको प्रतिवेदनका आधारमा जोखिममा रहेका जनतालाई सुरक्षित स्थानमा सार्न उनले आग्रह गरे ।

उक्त कार्यक्रममा राप्रपाका सांसद रमेशकुमार लामाले भूकम्पले गर्दा सिन्धुपाल्चोकमा रहेका हिमतालहरु जोखिममा परेको बताउँदै भोटेकोशी बिपत् यसैको उपज भएको दावी गरे । अझै ठूलठूला पहिराहरु जान सक्ने भन्दै उनले जनतालाई सजग रहन पनि आग्रह गरे । सत्तारुढ दलका नेता समेत रहेका लामाले सरकारको कठोर आलोचना गरे ।

उनले भने– ‘भूकम्पपीडितले राहत र पुनर्स्थापना अझै पाउन सकेका छैनन् भने यति ठूलो बिपतमा पनि सरकारले निरीक्षण त गर्यो तर अरु केही गरेन ।’ सरकारले राहत र पुनर्स्थापना गर्नेबारे उनले पनि आशंका व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता सम्बाद क्लब नेपालका अध्यक्ष राम गैरेले गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर