newskoseli.Com

बसालीमा सिचाइँ कुलोले जगाएको आशा

विकट पहाडी जिल्ला बाजुराको ब्रह्मतोला गाविस–७ बसालीका जनताहरुले समयमा खेती गर्न नपाएको वर्षौ भइसक्यो ।

पछिल्लो समयमा जलवायु परिवर्तनको प्रभावका कारण भएका सानातिना खोलाको पानी सुक्न थालेपछि र समयमा वर्षासमेत हुन छोडेपछि यहाँका बासिन्दाले समयमा खेती गर्न नपाएका हुन् ।

वर्षाकै पानीले जेनतेन खेती गर्न बनाएको कच्चि सिचाइँ कुलोको मुहानमा पहिरो गएपछि त पानी खेतसम्म ल्याउनु र खेती गर्नु उनीहरुका लागि सबैभन्दा ठूलो समस्या बन्दै गएको छ ।

यो समस्या टार्न गाविसदेखि जिल्ला विकास समितिमा धाउँदा पनि कुनै सिप लागेको थिएन । तर यो वर्ष भने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), यूकेएड, युरोपियन युनियन, डिएफआईडीलगायतको सहयोगमा जिल्ला विकास समिति बाजुराले जलवायु परिवर्त सहयोग कार्यक्रमअन्तर्गत ठूलाखेत सिँचाइ आयोजना बनाएपछि उनीहरुको समस्या हटेको छ ।

‘खोलामा पानी सुकेपछि वर्षौदेखि अधिकांश खेत बाझो छ, समयमा खेती गर्न पाएका थिएनौं’ स्थानीयवासी खडक अधिकारीले भने–‘यो वर्ष पक्कि सिचाइँ कुलो बनेपछि समयमा खेती गर्न पाएका छौं, वर्षौदेखि समस्या हट्ने आश गरेका छौं ।’

अधिकारी मात्र होईन सो सिचाइँ कुलो बनेपछि बसालीका ३० घरधुरी परिवारको सयौ रोपनी जमिनमा सिचाइँ सुविधा पुगेको छ । पहिले धानखेती हुने जमिनलाई पाखो बनाएका यहाँका जनताहरु फेरि धानखेती गर्न थालेको र तरकारी खेती बनाउन प्राविधिकहरुसंग सल्लाह गरिरहेको स्थानीय गोविन्द उपाध्यायले जानकारी दिए ।

पहिरोले बगाएको मुहानमा तटबन्ध गरी खेतसम्म पक्की कुलो आएपनि बसालीका किसानहरु निकै खुशी छन् । ‘नजिकै खोलो भएपनि जमिन बाझै राख्न बाध्य थियौं’ उपाध्यायले भने–‘गत वर्ष कुलो बनेपछि ठूलो राहत भएको छ, यो वर्ष समयमा खेती गर्न पाएका छौं ।’

‘हाम्रो बाबु बाजेको पालामा यस्तो थिएनै यहि खेतबाट वर्षौ पुग्ने अन्न उब्जाउथ्यौं’ जंग सिंह अधिकारीले विगत सम्झिदै भने–‘अहिले न सोचेजस्तो उक्जनी हुन्छ नत समयमै खेती गर्न पाएका छौं, अब भने केही आशा पलाएको छ ।’

‘मैले आफ्नो सम्पूर्ण जीवन यहि गाउँमा बिताएका छु मेरो बाल्यकाल र युवा अवस्थामा पनि यस्तो थिएन’ ६० वर्षिय दलबहादुर अधिकारीले भने–‘पानीका मुहान हराए, जता हे¥यो पहिरै पहिरो छ, उर्बरभूमी बाँझै छन्, केही वर्षदेखि समस्या नै समस्या छ यस ठाउँमा ।’

बसालीमा मात्र होईन बाजुराका अधिकांश जनताको पीडा यस्तै छ । यस्ता समस्या समाधानका लागि अहिले जिल्ला विकास समिति बाजुरा अन्तर्गतको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लागिरहेको स्थानीय विकास अधिकारी अर्जुन प्रसाद सुवेदीले जानकारी दिए ।

सुवेदीले स्थानीय अनुकूलन कार्ययोजना अन्तर्गत जिल्लाको बडिमालिका नगरपालिका, जगन्नाथ, कैलाशमाण्डौं, साप्पाटा, कुलदेवमाण्डौ, ब्रह्मतोला तथा वाई गाविसमा गरी सात स्थानमा परम्परागत सिचाइँ कूलो मर्मत तथा निर्माणमा सहयोग गरिरहेको बताए ।

हालसम्म यी क्षेत्रमा १० वटा सिचाइँ आयोजनामा ७ वटा सम्पन्न भइ जिल्लाका हजारौ कृषकहरु लाभान्वित भइरहेको कार्यक्रमका जिल्ला संयोजक गणेश जोशीले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर