newskoseli.Com

पानी बोक्ने थाप्लोले पायो मुक्ति

थाप्लो (अछाममा टाउकोलाई थाप्लो भनिन्छ) को रौं नै खस्ने गरी पानी बोक्नु कम चुनौतीपूर्ण थिएन तर पनि अछामको धमाली गाविस–६ को थाप्लावासीको बाध्यता थियो त्यो । नजिकैका पानीका मुहान सुकेपछि सो वस्तिमा सबैभन्दा समस्या थियो थाप्लो तातिने गरी टाढाबाट डोकामा पानी ल्याउनु ।

‘काम पनि थाप्लोकै वस्तिको नाम पनि थाप्ला, यहाँको अवस्था देखेर धेरैले हाँसोमा उडाउँथे ’ ५० वर्षिय शेरबहादुर विक भन्दै थिए–‘पानीकै समस्याले खाएको अन्न पनि अंग लाग्थेन, वर्षौसम्म यस्तै समस्या भोग्यौ अर्को उपाय नभएपछि के गर्नु ।’ उनले गएको ५÷७ वर्षयता यस वस्तिमा पानीको निकै समस्या भएको भन्दै दुखेसो पोखे ।

हुन पनि एक घण्टाको पैदल दुरी हिँडेर डोकोमा पानी बोक्ने काम कम कष्टकर होईन । विगत सम्झदै शेरबहादुर पनि भन्छन्–‘यहाँका महिला दिदिबहिनीले हुनसम्म दुःख भोगे, कति त बिरामी हुन्थ्ये, चोटपटक लाग्थ्यो तर पनि पानी ल्याउनै पथ्र्यो ।’

उनीहरुले समस्या बारे स्थानीय नेता तथा सरोकारलालाई नभनेका पनि होईनन् तर कसैले समाधानका लागि तत्परता देखाएनन् । अहिले भने उनीहरुको समस्या समाधान भएको छ । अहिले सो वस्तिमा ६ लाखको लागतमा खानेपानी योजना निर्माण भएको छ । वस्तिमै कलकल बग्ने पानीका धारा बनेका छन् । ‘गाविसले पनि सो समस्या सुनेन, धेरै गैरसरकारी संस्थाहरु आए गए कसैले सुनेनन्’ स्थानीयवासीहरु भन्छन—‘अहिले हाम्रै संलग्नतामा २०६८ सालतीर बनेको स्थानीय अनुकूलन कार्ययोजना नै काम लाग्यो, वर्षौदेखिको समस्या समाधान भयो ।’

पटक–पटक गुनासो गर्दा पनि वर्षौदेखिको समस्या समाधान नभएकोले धारा बन्ने कुरा सुनेपनि धेरैलाई विश्वास नै लागेको थिएन । काम सुरु भइ धारा बनिसक्दा पनि पानी आउला भनेर सोचेकै थिएनन् उनीहरुले । तर गत जेठ १४ गते पहिलो पटक धारामा पानी आउन थाल्यपछि मात्र थाप्लावासी निश्चिन्त भएका छन् ।

धमाली गाविसका सहजकर्ता शिवराज ढुंगाना अहिले सो टोलका मानिसको दिनचर्या फेरिएको धारणा राख्छन् । ‘पानी पर्याप्त भएपछि सरसफाईमा ध्यान दिन थालेका छन्’ ढुंगाना भन्छन्–‘बचेको समय तरकारीखेती र अन्य आर्थिक उपार्जन हुने काममा लगाउन थालेका छन् ।’ अहिले घरआँगनमै कलकल पानी आउन थालेपछि सो टोलमा बस्ने अधिकांश जनताहरु प्रशन्न छन् । वस्तिमा खुशीयाली छाएको छ । थाप्लोमा डोको र डोकोमा पानी बोक्ने दिन सकिएका छन् । पानी बोक्ने समय अन्य आयआर्जनका काममा लगाई आम्दानी बढेपछि त उनीहरुको खुशी थप बढेको ढुंगानाको भनाई छ ।

पाँच वर्ष पहिले आफैले बनाएको स्थानीय अनुकूलन कार्ययोजना लापा अन्तर्गत घरआँगनमा पानी आएको हो भन्ने थाहा पाएपछि अहिले गाउँमा त्यसको प्रशंसा भइरहेको छ । अहिले पानीकै लागि थाप्लावासीका थाप्लोमा डोको होईन हातमा कोदाली र करेशाबारीमा तरकारी देखिन थालेकोले कार्यक्रम कार्यान्वयन गरिरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्याक्रम अछामका लेखापाल प्रतिमा खेरेललगायत कर्मचारी पनि मख्ख छन् ।

जिल्ला विकास समिति अछामका सामाजिक विकास अधिकृत खड्क विष्ट जलवायु परिवर्तनका दृष्टिले सो गाविस जोखिममा रहेको र त्यहाँका जनताहरु विपन्न एवं संकटासन्न अवस्थामा रहेको बताउछन् । ‘अछाम जिल्लानै जलवायु परिवर्तनको जोखिममा छ’ विष्ट भन्छन्–‘अहिले ८ गाविसमा अध्ययन भएर अनुकूलनका क्रियाकलाप गरिरहेका छौं ।’

सो गाविसमा मात्रै होईन स्थानीय अनुकूलन कार्ययोजना कार्यान्वयन भइरहेका नाडा, भैरबस्थान, ढुंगाचाल्नालगायतका अन्य गाविसहरुहरुमा गरी ७ वटा खानेपानी योजना निर्माण गरिएको जलवायु परिवर्तन अधिकृत अभय कर्णले जानकारी दिनुभयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर