newskoseli.Com

गृहिणीलार्इ सुखी पार्‍यो सुधारिएको पानी घट्टले

बाजुराका विभिन्न गाविसमा सुधारिएको पानीघट्ट निर्माण भएपछि महिलाहरु लाभान्वित भएका छन् । जिल्लाका विभिन्न ११ स्थानमा सुधारिएको पानीघट्ट निर्माणसंगै पिठोकै लागि घन्टौं समय लाग्ने र जोखिम मोलेर बास बस्नुपर्ने समस्याबाट छुट्कारा पाउँदा उनीहरु लाभान्वित भएका हुन् ।

सदरमुकाम मार्तडी निवासी निर्मला जैशीले नजिकै रहेको खोलामा  भएको परम्परागत घट्टलाई प्रतिस्थापन गर्दै सुधारिएको घट्ट बनेपछि महिलाहरुलाई निकै राहत भएको बताइन् । उनले खोलामा पानी सुक्दै गएको र परम्परागत घट्टलाई पानी धेरै चाहिने हुँदा वर्षौदेखि समस्या भोग्नु परेको र अहिले थोरै पानीबाट पनि चल्ने आधुनिक घट्ट निर्माणले समस्या समाधान भएको जानकारी दिइन ।

जुगाडाका बलबहादुर रावलले पानीको अभाव र परम्परागत घट्टका कारण पिसानीमा ढिलाई हुने र अन्नबाली पिस्नका लागि धेरै झण्झटीलो भएको स्मरण गर्दै भने–‘खोलमा पानी छैन, भएको पानीले घट्ट चल्थेन, अहिले भने सुधारिएको प्रविधि प्रयोग गरेपछि पिसानीमा सहज भएको छ ।’

बडिमालिका नगरपालिका चुथीका विजयराज जैशीले बाजुरामा गहुँ, कोदो, जौँ तथा फापर धेरै उत्पान हुने तर पिठोका लागि मिल तथा प्रयाप्त पानीघट्ट नभएका कारण निकै समस्या भएको बताए । ‘अहिले मार्तडीलगायत केही गाविसमा सुधारिएको पानीघट्ट निर्माणपछि केही राहत मिलेको छ’ जैशीले भने–‘जिल्लाका अधिकांश क्षेत्रमा समस्या ज्यूँकोत्यूँ छ, सम्बोधनको प्रयास भएको छैन ।’

‘पहिले पहाडका अधिकांश खोलाहरुमा पानीघट्ट भेटिन्थे तर अहिले हराउन थाले, भएका पनि पानी अभावले चल्दैनन्’ बाजुरा घरभइ हाल धनगढी बसिरहेका पत्रकार डम्मर गिरी भन्छन्–‘खोलामा खहरे मात्रै छन्, हिउँदमा सुख्खा हुने, भएको पानीले नधान्ने तर बर्षातमा बगाउने समस्याले यस्तो समस्या देखिएको हो ।’

उनले आफ्नो बाल्यकालमा आमाले घन्टौं लगाएर अन्नबाली पिस्नु परेको र पछि भएका घट्ट कम हुँदैगएपछि झन समस्या थपिएको बताए । तर एक वर्षपहिले गाउमा बनेको कुटानी पिसानीमिल कैलाशमाण्डौ लगायत आश पासका जनताहरुका लागि निकै लाभदायी भएको उनले बताए ।
अहिले जिल्लाका केही गाविसमा बनेका सुधारिएका घट्टले केही राहत दिएपनि अधिकांश क्षेत्रमा अवस्था समस्या ग्रस्त रहेको समाजसेवी नृपराज गिरीको भनाइ छ ।

जिल्ला विकास समिति बाजुराका सामाजिक विकास अधिकृत निरबहादुर शाहले बडिमालिका, ब्रह्मतोला, वाई, साप्पाटा, कैलाशमाण्डौं, जगन्नाथ र कुलदेवमाण्डौं गाविसका विभिन्न ११ स्थानमा सुधारिएको घट्ट निर्माण गरिएको र ९ वटा सञ्चालनमा आइसकेको जानकारी दिए ।

उनले स्थानीय अनुकूलन कार्ययोजना कार्यान्वयन भइरहेको स्थानमा बनेका यस्ता घट्टले विशेषतः ग्रामीण महिलाहरुलाई निकै राहत दिएको र अन्य क्षेत्रका महिलाहरुले पनि यसको माग गरिहेको बताए ।

बाजुराका जलवायु परिवर्तन अधिकृत सन्तोष ढुंगानाले आफूहरुले पचास हजारको सामग्री सहयोग गरेको र बाँकी जनश्रमदान सहित एकलाखको लागतमा यस्तो घट्ट बनाउन सकिने बताए ।

महिला अधिकारकर्मी लक्ष्मी जैशीले सुधारिएको पानीघट्ट निर्माणले समयको बचत हुनुका साथै महिलाको स्वास्थ्यमा समेत सकारात्मक सहयोग गरेको बताईन् । उनले घर तथा कुटानी पिसानीको काम महिलाहरुले नै गर्नुपर्ने भएकोले सुधारिएको पानीघट्ट बनेपछि यसको पहिलो लाभान्वित वर्ग महिला भएको धारणा राखिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर