newskoseli.Com

ट्राइफोलिएट फलेपछि सिन्धुलीका जुनारकिसान मख्ख

सिन्धुलीका जुनार किसानले जिल्लामै पहिलो पटक ट्राइफोलिएट फलाएका छन् । केही वर्षदेखि जुनार किसानले ट्राइफोलिएट लगाए पनि यस वर्ष मात्रै फलाउन सकेका हुन् ।

ट्राइफोलिएट एक जङ्गली वनस्पति हो । सिन्धुलीमा ट्राइफोलिएट नपाएपछि किसानले केही वर्षअघि ६ सय रूपैपायँ तिरेर १ किलो दाना ल्याई ट्राइफोलिएट रोपेको जुनार किसान दीपक थापाले बताए । उनले खुसी हुँदै भने– “अब पहिलो पटक ट्राइफोलिएट फलेको छ । यसले हामीलाई जुनार बेर्ना उत्पादन गर्न ठूलो सहयोग पुर्याउने छ । जुनारका बेर्ना गुणस्तरीय र स्वस्थ बनाउन ट्राइफोलिएटले सहयोग पुर्याउँछ । अब हामी मागअनुसार जुनारका बेर्ना तयार गर्छौैं ।”

केही वर्षअघि ९ जना किसानले कीर्तिपुरबाट प्रतिकेजी ६ सय रूपैयाँका दरले ट्राइफोलिएट किनेर ल्याएका थिए । यस वर्ष ट्राइफोलिएट फल्दा आफूहरुलाई निकै खुसी लागेको अर्का जुनार किसान राजकुमार थापाले बताए । अब बेर्ना तयार पार्दा दुःख गर्नुपर्ने दिन गएको थापाको भनाइ छ ।

जुनारका बेर्ना तयार गर्दा बेर्नाको जरा मजबुत नभएर बिरुवा नफस्टाउने, मर्ने, रोग लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जुनारका जरा मजबुत बनाउन विभिन्न खोज तथा अनुसन्धान गरिए पनि समस्याको समाधान हुन नसकेपछि ट्राइफोलिएटलाई एक विकल्पका रुपमा लिइएको कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले बताए ।

ट्राइफोलिएटका दानाबाट बिरुवा उमार्ने, बिरुवा हुर्किसकेपछि त्यसमा जुनार सुन्तलाको कलमी गर्दा जुनार र सुन्तलाको बोट धेरै समयसम्म टिकाउ हुने मण्डलले बताए । अहिले जुनारको जरामा समस्या देखिएर किसानमा चिन्ता थपिए पनि ट्राइफोलिएटबाट उत्पादन भएका जुनारका बेर्ना रोप्न पाउने अवसर किसानले पाएको उनले बताए ।

जुनार–सुन्तलामा अमिलोपन बढेको, गुलियोपन हराउँदै गएको लगायतका समस्या देखा पर्दा बजार समेत नराम्रो प्रभाव पर्ने भएकाले यो विधि अपनाइएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

ट्राइफोलिएटका दाना बिक्रीका हिसाबले पनि निकै आयमूलक र जुनार व्यवसायमा फाइदा पुग्ने अपेक्षा बोकेका किसानलाई यस वर्ष फलेको ट्राइफोलिएटले निकै खुसी बनाएको छ । एक बोटमा अहिले १२ किलोसम्म उत्पादन भएको र दाना बिक्रीबाट मात्रै झन्डै ८ हजार रूपैयाँ आम्दानी हुने किसान बताउँछन् । किसानका अनुसार ट्राइफोलिएटको १ दानाबाट ६० वटासम्म स्वस्थ र निरोगी बिरुवा तयार गर्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर