newskoseli.Com

महिला सुसूचित नहुँदा सुविधाबाट वञ्चित : सभामुख

सभामुख ओनसरी घर्तीले आफूले पाउनुपर्ने हकअधिकारका बारेमा जानकारी नहुँदा महिलाहरू सुविधाबाट वञ्चित हुनुपरेको बताएकी छन् । राष्ट्रिय सूचना आयोगले मंगलबार राजधानीमा आयोजना गरेको ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणका लागि सूचनाको हक’ विषयक कार्यक्रममा घर्तीले सरकारले महिलाका लागि गरेको व्यवस्थाका बारेमा थाहा नहुँदा उनीहरू सुविधाबाट वञ्चित हुनुपरेको बताइन् ।

“महिलाका बारेमा सरकारले जे–जे व्यवस्था गरेको छ, तर त्यसका बारेमा धेरै महिलालाई जानकारी छैन, सबै महिलाले आफूले पाउने सुविधाको खोजी गर्नुस्”– सभामुख घर्तीले भनिन् । राष्ट्रिय एकता, सामाजिक सद्भाव भड्काउने लगायतका राज्यको सुरक्षा खतरामा पुर्याउनेबाहेकका सूचना खोजीखोजी लिनका लागि सम्पूर्ण महिलालाई उनले आग्रह समेत गरिन् ।

सभामुख घर्तीले नेपालको संविधानले महिलाका विषयमा केही मात्रामा भए पनि व्यवस्था गरेको उल्लेख गर्दै तिनकाे कार्यान्वयनको तहमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

“चेतना सबैभन्दा ठूलो शक्ति हो, संविधानमा राखिएका प्रावधान कार्यान्वयन भएनन् भने सेतो कागजमा लेखिएका काला अक्षरबाहेक केही हुने छैनन्, यसको कार्यान्वयनमा सबै एकजुट हुुनुपर्छ”– उनले आग्रह गरिन् ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले नेपालमा भएका ४ सय कानुनमध्ये २ सय ५० भन्दा बढी कानुनमा गोप्य राख्ने व्यस्था गरिएकाे कुराप्रति आयोगको आपत्ति रहेको भन्दै सच्याउनका लागि ध्यानाकर्षण गराइरहेको जानकारी दिए ।

सूचना आयुक्त किरण पोखरेलले महिला सुसूचित भए मात्र घर, परिवार, समाज र राष्ट्र नै सुसूचित हुने हुँदा सूचनाको हकबारे महिलालाई जानकारी गराउनु आवश्यक भएको बताए । अर्का आयुक्त यशोदा तिमिल्सिनाले सूचना २१औं शताब्दीमा शक्ति भनिए पनि सूचनामा महिलाको पहुँच अझै पुग्न नसकेको र देशमा २००७ सालदेखि अहिलेसम्मको बेथिति नागरिकले थाहा नपाएको जिकिर गरिन् ।

कार्यक्रममा आयोगद्वारा प्रकाशित ‘महिलाका सुविधासम्बन्धी सूचना’ पुस्तिका सार्वजनिक गरियो, जसमा महिलाले पाउनुपर्ने हकका बारेमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर