newskoseli.Com

युवाआकर्षण बढ्दैछ गोलभेंडा खेतीतर्फ

पछिल्लो समय गोलभेंडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ । थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेंडा खेतीप्रति युवा आकर्षित भएका हुन् ।

व्यावसायिक रूपले गाेलभेंडा खेती गर्ने युवाहरूले जग्गा भाडामा लिएर काम गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या देखिएपछि यस व्यवसायप्रति युवाको लगाव बढेको हो ।

बज्रबाराही नगरपालिका– ८ का राधाकृष्ण महर्जन १० रोपनी जग्गा भाडामा लिएर ५ वर्षदेखि गोलभेंडा खेती गर्दै आइरहेका छन् । उक्त खेतीका लागि उनले १० वटा प्लास्टिकका टनेल निर्माण गरेका छन् । न्यूनतम् ४ मिटर चौडाई र १५ मिटर लम्बार्इ रहेको टनेलमा गोलभेंडा खेती गर्दै आएका उनले २ कामदार राखेका छन् ।

“बजारको मागअनुरूप गोलभेंडाको उत्पादन गर्नुपर्ने हुन्छ,” उनले भने । मौसमीभन्दा बेमौसममा उत्पादन भएको गोलभेंडाले उचित मूल्य पाउने गरेको छ ।

यस्तै बज्रबाराही नगरपालिका– १३ का शिवराम थापा गोलभेंडा खेतीको आम्दानीले परिवारको गुजारा चलाउन सहज भएको बताउँछन् । “वैदेशिक रोजगारीमा जानुभन्दा कृषि व्यवसायमा लाग्नु नै ठीक छ,” उनले भने ।

स्थानीय रूपमै तरकारी सङ्कलन केन्द्रको स्थापना हुनसके कृषकको मनोबल बढ्ने उनको भनाइ छ । ५ रोपनी जग्गा भाडामा लिएको र यसबाट आफ्नो आर्थिक अवस्थामा सुधार हुँदै गएको उनले बताए ।

बज्रबाराही नगरपालिका–९ का बालकृष्ण श्रेष्ठ गोलभेंडा खेतीबाट घरखर्चको जोहो गर्न सहज हुने बताउँछन् । युवालक्षित स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट गोलभेंडा खेतीका लागि आवश्यक सहयोग प्राप्त भएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले युवालाई गोलभेंडा खेतीमा आकर्षणका लागि अनुदान दिने गरेको बताए । उनले गोलभेंडा खेतीमा निर्माण हुने टनेलमा लाग्ने प्लास्टिकमा कार्यालयले सहयोग गर्ने गरेको बताए । उत्पादन गरेका कृषिजन्य वस्तुको बजार व्यवस्थापनका लागि कार्यालयले चाँपागाउँलगायत विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापना गरेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर