newskoseli.Com

नेविसंघ महाधिवेशन : अझै टुंगिएन नेतृत्वको सकस

देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औं महाधिवेशन आइतबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

महाधिवेशनले संघको नयाँ विधान र प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तर, महाधिवेशनको पूर्वसन्ध्यामा सबैको ध्यान अरु विषयतिरभन्दा नेतृत्व चयनमै केन्द्रित भएको देखिँदैछ । जम्मा एक जनाले जित्ने अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न दर्जनबढी आकांक्षीहरु अघि सरेका छन् ।

महाधिवेशन गराउने जिम्मा पाएका नेविसंघ अध्यक्ष रञ्जित कर्णले यसअघि पटक–पटक अधिवेशन गराउने प्रयास गरे तापनि स्थगित हुँदै आएकोमा यस पटक भने महाधिवेशन सम्पन्न भएरै छाड्ने बताएका छन् । उनले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको बताए ।

२०६४ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको संघको महानिवेशनलाई सबैले चासोका साथ हेरिरहेका छन् । लामो समयदेखि महाधिवेशन नभएकाले यसबीच पालो पुगेर अन्यत्रै कार्यक्षेत्र पाइसक्नुपर्ने थुप्रै नेताहरु जाम भएर बस्नुपरेका कारण पनि यो महाधिवेशनमा अध्यक्षसहित केन्द्रीय नेतृत्वका आकांक्षी धेरै भएका हुन् ।

पूर्वविद्यार्थी नेता एवम् तरुण दलका केन्द्रीय सदस्य नृप सुनार भन्छन्– ‘लामो समयसम्म महाधिवेशन हुन नसकेकाले नेतृत्वका आकांक्षी धेरै भएको हुँदा पार्टी नेतादेखि विद्यार्थी नेतासम्मलाई नेविसंघको नेतृत्व टिमबारे निष्कर्षमा पुग्न ठूलै सकस परिरहेको छ ।’

कांग्रेस पार्टीका निम्ति नेता उत्पादन गर्ने ‘नर्सरी’ को रुपमा चिनिने नेविसंघ नेपाली कांग्रेससम्बद्ध सबैभन्दा सशक्त संगठन हो । त्यसैले पनि विद्यार्थी संगठनको महाधिवेशनमा पार्टीका वरिष्ठदेखि कनिष्ठसम्मका नेताहरुले आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेका छन् । पार्टीभित्रको गुटबन्दीकै प्रतिबिम्बका रुपमा विद्यार्थी नेताहरु आ–आफ्नो पक्षलाई सुदृढ गर्न न्वारनदेखिको बल लगाइरहेका छन् ।

विद्यार्थी नेता मात्र होइन, पार्टी र भ्रातृसंगठनहरुमा आ–आफ्नो प्रभाव बढाउन क्रियाशील नेतात्रय शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला स्वयम् नेविसंघको महाधिवेशनलाई प्रभावित पार्न जोडतोडका साथ लागिपरेका छन् ।

नेतृत्वका लागि अन्ततः त्रिपक्षीय भिडन्त हुने निश्चित भए तापनि शुक्रबारसम्म कुनै पक्षले पनि औपचारिक रुपमा समूह घोषणा गरिसकेका छैनन् । तीनै पक्षका नेताहरु प्रतिद्वन्द्वी समूहले प्रमुख पदमा उठाउने उम्मेदवार हेरेर आफ्नो समूह सार्वजनिक गर्ने मानसिकतामा रहेकाले प्रतिस्पर्धामा उत्रने टिम घोषणामा ढिलाई भइरहेको सुनारले बताए ।

तत्कालीन संस्थापन समूहरुको बलियो पकड रहेको नेविसंघमा अहिले त्यस्तो अवस्था छैन । नेविसंघमा रहँदै आएको आफ्नो पक्षको पकड जोगाउन रामचन्द्र पौडेल समूहलाई हम्मे पर्ने स्थिति छ । पौडेल पक्षधरहरुकै समूहमा धेरै आकांक्षी देखिएपछि यो पक्ष थप सकसमा परेको छ । आफ्नै पक्षबाट धेरै आकांक्षी देखिएपछि मिलाउन विभिन्न विकल्पमा छलफल भइरहेको नेता रामचन्द्र पौडेल पक्षका एक नेताले बताए ।

पौडेल पक्षबाट अध्यक्षको आकांक्षीका रुपमा मनोजमणि आचार्य, क्षितिज भण्डारी, आनन्द त्रिपाठी र नीलकण्ठ रिजाल चर्चामा छन् । आचार्यले आफ्नो नेतृत्वमा समूह निर्माणको पहल अन्तिम चरणमा पुगेको बताए ।

‘थुप्रै अनुभवी र क्षमतावान्, नेविसंघलाई हाँक्न सक्ने साथीहरु छन् तर मैले यसपल्ट मैलाई सहयोग गर्नुपर्यो भनेर साथीहरुसँग आग्रह गरिरहेको छु’, आचार्यले भने— ‘सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धतासहित संगठनलाई चलायमान बनाउन २–२ वर्षमै महाधिवेशन गर्ने, नेविसंघलाई आम विद्यार्थीको भरोसाको केन्द्रका रुपमा सबल र सक्षम बनाउने उदघोषका साथ मैले नेतृत्वको दावी गरिरहेको छु ।’

उता सभापति शेरबहादुर देउवा पक्ष भने पार्टीमा जस्तै नेविसंघमा पनि आफ्नो जित सुनिश्चित भएको बुझाइमा छ । देउवा समूहबाट अध्यक्ष पदको दावेदार रहेका नैनसिंह महरले आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

महरले आफू मात्र नभई नेविसंघ नेतृत्वको आकांक्षा राख्ने सबै साथीहरु सबल र सक्षम रहेको भन्दै आफू पनि तीमध्येकै एक उपयुक्त उम्मेदवार भएको दावी गरे । उनले शनिबार साँझसम्ममा नेतृत्वको बहस टुंगोमा पुग्ने बताए ।

‘मैले संगठनको झन्डा धरौटीमा राख्दिनँ भनेर गुट–उपगुटभन्दा माथि उठेर नेविसंघको नेतृत्व गर्न धेरै साथीहरुले मलाई उत्साहित पारिरहेका छन्’ महरले भने— ‘नीति र नैतिकताको राजनीति स्थापित गर्न र नेविसंघलाई विद्यार्थीको आस्थाको केन्द्र बनाउन नै नेतृत्वमा मेरो दावी हो ।’

देउवा पक्षबाटै अध्यक्षको प्रबल दावेदार ठानिएका जितजंग बस्नेतले एउटा समूहको नेतृत्व आफैंले गर्ने दावी गरे । ‘धेरै साथीहरुको मत मेरै नेतृत्वमा जानुपर्छ भन्ने छ, त्यसका लागि अन्तिम प्रयास भइरहेको छ’ बस्नेतले भने— ‘मेरो इमानदारिता र विगतको भूमिकालाई मूल्यांकन गर्दै आगामी दिनमा नेविसंघ र विद्यार्थी आन्दोलनमा नैतिकताको राजनीति स्थापित गर्न पनि मेरो नेतृत्व आवश्यक भन्नेमा धेरै साथीको जोड छ । नेविसंघलाई सबैको संगठन बनाउन र चन्दाआतंक तथा मागी खाने भाँडो बनाउने संस्कार तोड्नका लागि पनि मैले नेतृत्व दावी गरेको हुँ ।’

त्यसैगरी नेता कृष्णप्रसाद सिटौला पक्षका भनेर चिनिने कुन्दन काफ्ले भने जसरी पनि जित्नुपर्छ भनेर नेविसंघमा गैरप्रजातान्त्रिक अभ्यास हावी गराउन खोजिएको आरोप लगाउँछन् । ठूलो संख्याका गैरविद्यार्थीहरुलाई प्रतिनिधि बनाइएको भन्दै काफ्ले समूहका नेताहरु सात दिनदेखि आमरण अनसनमा छन् ।

उनीहरुले संगठन सुद्धीकरण गरी नेविसंघलाई वैचारिक संस्थाका रुपमा विकास गर्न माग गरिरहेका छन् । ‘चुनावी माहोल तातिँदैछ, धेरैजसो प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् तर राजनीति र वैचारिक कुराले प्राथमिकता पाइरहेको छैन’ काफ्लेको भनाइ छ– ‘अहिले १५–१६ वटा समूह बन्ने सम्भावना छ, वास्तविक नेविसंघको भावना र वैचारिक धरोहरलाई आत्मसात् गर्दै एउटा समूहको नेतृत्व म गर्छु ।’

देउवा पक्षबाट आदिवासी जनजाति कोटामा सहमहामन्त्री पदको दावी गरिरहेका विनय लामाले ३ हजार २ सयदेखि ३ हजार ४ सयसम्म महाधिवेन प्रतिनिधि रहेको उल्लेख गर्दै अधिकांश काठमाडौं आइसकेको बताए । ११ जिल्लाका १ हजार २ सयजति प्रतिनिधिको विवाद अझै कायम छ ।

प्रतिनिधिहरु राजधानी आइपुगे पनि आफूले छान्ने नेताको टुंगो नलागेकाले उनीहरु रनभुल्लमा छन् । करिव १० वर्षपछि हुन लागेको महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा समेत समस्यामा परेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर