newskoseli.Com

जङ्गलको आगो बस्तीमा : ठूलाे जनधनको क्षति

अत्यधिक गर्मीसँगै परेको खडेरीका कारण वनजङ्गलमा लागेको डढेलोबाट यस क्षेत्रमा धनजनको ठूलो क्षति भएको छ । लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका वनजङ्गलमा लागेको डढेलोबाट अहिलेसम्म छजना मानिसको मृत्यु भइसकेको छ भने सयौँं घर जलेर सखाप भएका छन् ।

वनजङ्गलमा लागेको डढेलोबाट यस क्षेत्रका पहाडी जिल्लामा बढी क्षति पुगेको छ । डढेलोबाट लागेको आगोले अहिलेसम्म गुल्मीमा चारजना र अर्घाखाँचीमा एक जनाको र पाल्पामा एकजनाको मृत्यु भइसकेको छ ।

जङ्गलमा लागेको आगोले अहिलेसम्म सबैभन्दा बढी गुल्मी जिल्लामा नोक्सानी भएको छ । जिल्लाका विभिन्न गाविसका जङ्गलमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै एकसय घर जलेर नोक्सान भएका र सयाैं पशु चौपायाको समेत जलेर मृत्यु भएका छन् । गुल्मी जिल्लामा पछिल्लो पटक शनिबार जिल्ला सदरमुकाम तम्घासदेखि झन्डै ३५ किलोमिटरको दुरीमा पर्ने बडागाउँमा भीषण आगलागी हुँदा एकजनाको ज्यान जानुका साथै करिब ७१ घर गोठ जलेर नष्ट भए । साथै आगोले जलेर एक वृद्धको पनि मृत्यु भयो ।

जिल्लाको वडागाउँ गाविस वडा नं १, २ र ३ मा भएको आगालागीबाट ७१ घर गोठ जलेर नष्ट भएको र आफ्नो घर जोगाउने क्रममा आगो निभाउँदा जलेर वडागाउँ– १ निवासी ६५ वर्षका मेहरसिंह रासकोटीको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए । उनका अनुसार शनिबार नै थानपति गाविस– ५ जङ्गलबाट बस्तीमा फैलिएको आगोले पाँच घर जलेर नष्ट भए ।

आगालागीकै कारण शुक्रबार गुल्मीको इस्मा दोहोलीको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए । यसअघि चैत २९ गते स्थानीय सामुदायिक वनमा लागेको आगो निभाउन गएका मलागिरी गाविसका कमल खड्का जलेर घाइते भएका थिए । उनको काठामाडाैंमा उपचारको क्रममा मृत्यु भएको थियो । गुल्मी जिल्लामा अहिलेसम्म करिब २५ हजार हेक्टर वन आगोले नष्ट गरेको र आगो नियनत्रणका लागि भएका प्रयास प्रभावकारी हुन नसकेको गुल्मीका प्रमुख वन अधिकृत विशाल घिमिरेले जानकारी दिए ।

गत महिना चैतको मध्यबाट सुरु भएको अत्यधिक गर्मी र खडेरीका कारण वनजङ्गलमा लागेको डढेलोले लुम्बिनी अञ्चलका ६ जिल्लाको करिब एक लाख हेक्टर वन सखाप बनाएको छ ।

लुम्बिनी अञ्चलका चुरे क्षेत्रको अधिकांश भाग र तराई क्षेत्रको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्रमा डढेलोले ठूलो क्षति पुर्याएको छ । आगलागी नियन्त्रणमा आउन नसक्दा वन नजिकका बस्ती, वन्यजन्तु र बोटबिरुवामा समेत क्षति पुगेको छ ।
जिल्ला वन कार्यालय पाल्पाका अनुसार जिल्लामा रहेको ७१ हजार १ सय ५० हेक्टर कुल वन क्षेत्रफलमध्ये ५० प्रतिशत क्षेत्रफल सामुदायिक वनले ओगटेको छ । यसमध्ये जिल्लामा रहेका ८५ वटा सामुदायिक वन पूर्णरुपले आगलागीबाट नष्ट भएको प्रमुख जिल्ला वन अधिकृत दधिलाल कँडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म झन्डै पाँच हजार हेक्टर क्षेत्रफलमा आगोले क्षति पुर्याएको छ ।

यसै क्रममा आगो नियन्त्रणमा खटिएका एक व्यक्तिको आगोमा परी मृत्यु भएको छ र अन्य दुई युवा घाइते भएका छन् । पाल्पाको सोमर सामुदायिक वनमा आगो नियन्त्रणमा गएका छेका गाविसका ५४ वर्षीय बालनरसिंह रायमाझीको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट ३३ घर र ३५ गोठ जलेर नष्ट भएका छन् ।

यस्तै अर्घाखाँचीमा पनि जङ्गलमा लागेको आगो घर नजिकै आएपछि निभाउन जाँदा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धातिवाङ गाविस– ९ की मखमली विकको केही दिन अघिनै आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय आर्घाखाँचीले जनाएको छ । चैतको दोस्रो सातादेखि सुरु भएको जङ्गलको डढेलोले करिब १८० घर गोठ जलेर क्षति भएको र एक दर्जन पशु चौपायाको समेत जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

अर्घाखाँची जिल्लामा १९ हजार हेक्टर वन क्षेत्रफलमा आगलागी भएको अनुमान गरिएको छ । वन डढेलोबाट तराईका जिल्लामध्ये सबैभन्दा बढी नवलपरासी जिल्लामा क्षति पुगेको छ । यस जिल्लाको कुल वन क्षेत्रफल एकलाख २२ हजार ३ सय ६५ हेक्टरमध्ये करिब ४० हजार हेक्टरमा आगालागी भएको अनुमान छ ।

यस्तै, रुपन्देहीको चार हजार हेक्टरमा आगलागी भएको छ भने कपिलवस्तु जिल्लाको ६६ हजार २ सय ११ हेक्टर वन क्षेत्रफको १३ हजार २ सय ४२ हेक्टरमा आगलागी भएको छ । भौगोलिक विकटता, सीमित स्रोतसाधन, झाडी, जङ्गल र ठूलो हावाहुरीका कारण आगोलागी नियन्त्रणमा ल्याउन समस्या परेको जिल्ला वन कार्यालयले जनाएका छन् । आगोलागी नियन्त्रणका लागि जिल्ला वन कार्यालय, सामुदायिक वन, साझेदारी वन, सुरक्षाकर्मीलगायतको संलग्नतामा अग्निनियन्त्रण दस्ता बनाई नियन्त्रणको प्रयास भइरहेको जनाए पनि त्यो प्रभावकारी हुन छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर