newskoseli.Com

सहकारी ऐन निर्माणको माग

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि(नेफ्स्कुन)ले बचत तथा ऋण सहकारी ऐन निर्माण गर्नुपर्ने माग अघि सारेको छ ।

नेफ्स्कुनको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सो ऐन नबनेसम्म हाल संसद्मा विचाधाराधीन अवस्थामा रहेको सहकारी विधेयकमा बचत तथा ऋणसम्बन्धी छुट्टै परिच्छेद समावेश हुनुपर्नेमा जोड दिइएको छ।

समारोहमा नेफ्स्कुनका महासचिव पारिषोत पौड्यालकाे  ‘वित्तीय सहकारीको विधिशास्त्र’ पुस्तक राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष तथा सांसद केशवप्रसाद बडाललगायतका अतिथिले सामूहिक रुपमा लोकार्पण गरेका थिए । एघार परिच्छेदको सो पुस्तकमा वित्तीय सहकारीको परिभाषा, क्षेत्र र महत्व, नेपालको वित्तीय सहकारीको वृद्धि र विकासमा अन्तर्राष्ट्रिय साझेदारी, वित्तीय सहकारीको विधिशास्त्र, वित्तीय सहकारीका विकासका क्षेत्र, सञ्चालक समितिको क्षमता अभिवृद्धिका विषय र क्षेत्रलगायतका विषयमा चर्चा गरिएको छ ।

सो अवसरमा बचत तथा ऋण सहकारी संस्था (साकोस) अभियानमा क्रियाशील अनिरुद्र प्रधान तथा देवकी नेपाललाई नेफ्स्कुन अग्रज व्यक्तित्व सम्मान र सहकारी पुस्तक प्रकाशन गर्दै आएका लेखक केशव बडाललाई नेफ्स्कुन विद्धता सम्मान गरेकाे थियाे । मोरङस्थित फडानी साकोसका चन्द्र गौतम र दोलखास्थित भविष्य निर्माण साकोसका कृष्णकुमारी बस्नेतलाई नेफ्स्कुन संस्थापक अध्यक्षले पुरस्कार प्रदान गरे ।

यस्तै सङ्घको विकासमा सहकार्य गर्दै आएका नेदरल्यान्ड्सका एग्रिटेरालाई नेफ्स्कुन राइफाइसन क्रेडिट युनियन सम्मानका साथै विभिन्न व्यक्ति तथा संस्थालाई अन्य सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । विसं २०४५ मा २८ बचत समूहबाट सुरु भएको नेफ्स्कुनमा हाल ७३ जिल्लाका २  हजार ५सय भन्दा बढी संस्था आवद्ध छन् । सरकारी तथ्याङ्क अनुसार हाल नेपालमा १३ हजार ४ सय ६० बचत तथा ऋण सहकारी संस्था क्रियाशील  रहेका छन् ।

समुदायको हित, संरक्षण र प्रवद्र्धनका लागि उपयुक्त कानुन निर्माण गर्न राज्यसँग बहस पैरवी गर्ने र बचत तथा ऋण सहकारीको प्रवद्र्धन, विकास, व्यवसायीकरण र गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले हाल काठमाडौँ महानगरपालिकाभित्र १सय  वटा साकोस छनोट गरी अनुगमन गरेको र त्यसको नतिजा हेरी भविष्यमा देशभर अनुगमन कार्यलाई अघि बढाउने योजना बनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर