newskoseli.Com

यस्तो देखियो कोरियामा पिल्सिएको नेपाल

नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको चौथो अधिवेशनको सन्दर्भमा पाँचदिने कोरिया भ्रमण सकेर पंक्तिकार हालै नेपाल फर्किको हुँदा सोही भ्रमणका सन्दर्भमा भएका कार्यक्रमको सूचना सम्प्रेषण र अनुभूतिहरु ‘शेयर’ गर्ने सिलसिलामा प्रस्तुत आलेख तयार पारिएको छ ।

कोरियामा नेपालीहरु विभिन्न प्रकारको भिसामा बसोबास गर्दै र काम गर्दै आएका छन् । तीमध्ये ‘ईपीएस’ मार्फत काममा गएका नेपालीहरुको संख्या सबभन्दा ठूलो छ । कामदारलाई निश्चित मूल्यांकन प्रणालीका आधारमा छनौट गर्न करिव दशक अगाडि रोजगारी अनुमति प्रणाली (ईपीएस) प्रचलनमा ल्याइएको थियो ।

‘अदक्ष’ र ‘अर्धदक्ष’ कामदारका लागि ईपीएस प्रणाली अपनाइएपछि कोरियामा सर्वसाधरण नेपाली कामदारहरुको पहुँच ह्वात्तै बढेको छ । महिला, गरिव र समाजको आर्थिक रुपले विपन्न समुदाय समेत अहिले कोरियामा श्रम गरिरहेका भेटिन्छन् ।

त्यहाँ रहँदा कोरियामा करिव चालीस हजार नेपाली श्रमिक रहेको थाहा पाइयो । यस्ता श्रमिकहरुले महिनामा पन्ध्रदेखि पच्चीस लाख ओन (नेपाली रुपैयाँ करिव डेढ लाखदेखि अढाई लाखसम्म) सम्म तलब थाप्छन् । कम्पनीको स्तर, लोकेसन तथा कामदारको अनुभवजस्ता कुराहरुले तलबमान घटी वा बढी हुने कुरा निर्धारण गर्ने गरेको  छ ।

रोजगारदाता कम्पनी स्वयंले कामदारहरुलाई आवास र भोजनको व्यवस्था गरेको हुन्छ । कामदारहरुलाई निश्चित शर्तहरुमा कम्पनी परिवर्तन गर्ने स्वतन्त्रता पनि हुन्छ । अर्थात्, नेपालबाट जाँदा सुरुमा काम गरेको कम्पनीमा काम गर्न इच्छा नलागेमा कामदार आफैंले अर्कोतिर काम खोजेर नयाँ कम्पनीमा जान सक्दछ ।

सामान्यतः श्रमिकहरुलाई सार्वजनिक बिदाहरुमा छुट्टी दिइन्छ । वार्षिक रुपमा विशेष बिदाहरु पनि साथै दिइएको हुन्छ । सर्सर्ती हेर्दा कोरियामा नेपाली श्रमिकहरुको अवस्था राम्रै देखिन्छ । तर, कोरियामा नेपाली कामदारहरुका दुःख पनि कम्ति छैनन् । यीमध्ये सबभन्दा चर्को समस्या भोग्नेमा कृषि क्षेत्रका नेपाली मजदुरहरु रहेछन् ।

कृषि क्षेत्रका मजदुरहरुलाई कम तलबमा काम गराइन्छ । उनीहरुले अरुसरह दैनिक आठ घन्टा काम गरेर सुख पाउँदैनन् । यस्ता मजदुरहरुलाई ठूलठूला कृषि फर्महरुभित्रै स–साना घर बनाएर राख्ने गरिन्छ ।

कतिपय नेपालीहरुलाई त कृषिकार्य गर्दै रात बिताउन त्यहींभित्र ट्रकको बडीजस्तै कन्टेनरमा समेत राखिँदो रहेछ । उनीहरु त्यहाँ स–साना बच्चाहरुलाई होस्टलमा राखिएजस्तै दुई वा तीन तले खाटमा सुत्ने व्यवस्था मिलाइएको हुन्छ । उनीहरुमध्ये कतिपयले त चौबीसै घन्टा काममा खट्नुपर्ने हुन्छ । अन्यत्र ८ घन्टाको कार्यदिन लागू भए पनि कृषिकार्य गर्ने नेपालीहरु भने अतिरिक्त श्रम गरेबापत अरुले पाउने सुविधाबाट समेत वञ्चित रहेछन् ।

धेरै ठूलो भौगोलिक क्षेत्रफल नभए पनि व्यापक रुपले भौतिक विकास गरेको देश हो कोरिया । हामीकहाँ काठमाडौंमा मात्रै सबै सुविधा र अवसरहरु केन्द्रित भएजस्तो नभई त्यहाँको विकास विकेन्द्रित छ ।

ठूला कम्पनीहरु देशका विभिन्न भागमा छरिएर रहेकाले एक पटक कम्पनीमा भित्रिएको कामदार राजधानी वा अर्को सहरको मुखै नदेखिकन स्वदेश फर्कंदो रहेछ । उनीहरु काममा यति व्यस्त हुँदारहेछन् कि आफ्नै सहरको बाटो छिचोल्न पनि जीपीएसबिना धेरैलाई कठिन हुँदोरहेछ ।

त्यहाँ रहेका एकदमै कम नेपालीहरु मात्रै सामाजिक जीवनमा सक्रिय देखिए । त्यहाँ जात मात्रै होइन– थरसम्मका, जिल्ला मात्र होइन– गाउँसम्मका नाममा सामाजिक संस्थाहरु खोलिएका छन् । तीमध्ये अधिकांश केही टाठाबाठाहरुका ‘कमाइखाने भाँडो’ मात्रै हुन् ।

खासगरी नेपालबाट विभिन्न खालका कलाकारहरु लगेर कार्यक्रमहरु चलाई मुनाफा कमाउने, ताल परे पैसा असुलेर मान्छे लगी अवैध रुपमा राख्ने र समग्रमा यस्ता संस्थाहरुलाई आर्थिक उपार्जनको थलो बनाउने उद्देश्यमा चल्नेहरुबाट आम श्रमिकहरु पूर्णतः पृथक छन् ।

उनीहरुलाई त्यहाँ रहँदा पनि आफ्नै परिवार र आफ्नो आर्थिक अवस्थाकै चिन्ता छ । त्यही चिन्ता नै उनीहरुको जीवन–ऊर्जाको स्रोत हो । नेपाली कामदारहरुको शरीर मात्र कोरियामा हुँदोरहेछ, मनचाहिँ आफ्नै घर, समाज र देशमा रहेछ ।

यस्तायस्तै सोच र चिन्ता एवं मानसिक दबाव अति भएर पनि होला, आम श्रमिकहरुमा मानसिक समस्या अत्यधिक देखिएको दूतावासका श्रम सहचारीले बताए । यस क्रममा केही अनौठा र मार्मिक घटनाहरु पनि सुनिए ।

साँझ परेपछि ‘ज्यान तताउन’ मादक पदार्थ सेवन गर्ने ‘चलन’ कुन देशमा नहोला र ! यसका लागि थरीथरीका ‘ब्राण्ड’ हरु कोरियामा पनि हुने नै भैहाले । कोरियाको मजदुरवर्गीय मदिराको नाम रहेछ– ‘सोजू’ । यो एक प्रकारको ‘लोकल मदिरा’ रहेछ, जो करिव हाम्रो ‘खोयाबिर्के’ वर्गको ‘जण्ड’ रहेछ । प्रायः नेपाली कामदारको ‘ज्यान तताउने’ जिनिस त्यही ‘सोजू’ रहेछ । अनि यससँग ‘नेपाली कथा’ पनि जोडिने भैहाल्यो ।

साँझ परेपछि ‘सोजू’ पिउँदै एक नेपाली भखैरै बिहे गरेकी पत्नीसँग नेपालमा ‘लाइभ भिडियो च्याट’ गर्दै रहेछन् । कुनै कुरामा नवदुलहीसँग उनको ठाकठुक परेछ अनि ‘लौ हेर ! अब म मर्दिन्छु’ भनेर ‘लाइभ’ मै झुन्डिएर मर्दिएछन् ।

श्रीमतीले जति चिच्याए–कराए पनि कुनै अर्थ हुने कुरा भएन । कोरियामा रहेका ‘रेडलाइट एरिया’ सँग जोडिएका कथाहरु पनि अनेक छन्, जसले नेपालीहरुको मानसिक अवस्था र दैनिक जीवनका विवशताहरुको झल्को दिन्छन् ।

कमाइएको अधिकांश रकम नेपालको घरायसी काममै सकिएकामा ठूलो चिन्ता छ त्यहाँका नेपालीहरुमा । सरकारले प्रतिव्यक्ति रकम जम्मा गरी सुरक्षित लगानी गरिदेओस् भन्ने उनीहरुको चाहना छ ।

त्यस्तै, भिसा सकिएर नेपाल फर्केपछि फेरि अर्को पटक कोरिया आउनु नपरे हुन्थ्यो भन्ने उनीहरुको चाहना छ । उनीहरु कोरियामा सिकेको सीप र योग्यता नेपालमै सदुपयोग गर्न पाइयोस् भन्ने चाहन्छन् ।

आयस्तरको दृष्टिकोणले कोरिया नेपालीहरुका लागि अमेरिका वा युरोपभन्दा कम छैन । तर, अन्यन्त्र झैं त्यहाँ लामो समय बस्ने, परिवारसहित स्थायी बसोवास गर्ने सम्भावना छैन । तसर्थ, आय राम्रो भए पनि कोरिया बसेका नेपालीहरुको तुलना युरोप–अमेरिका बस्ने नेपालीहरुसँग हुनै सक्दैन । आय राम्रो हुने मात्र हो, कोरियाका नेपालीहरुको समस्या तिनै खाडी वा मलेशियाका नेपाली मजदुरहरुसँग मिल्दाजुल्दा छन् ।

युरोप र एशियाका करिव बीस वटा मजदुरकेन्द्रित मुलुकहरु घुमिसकेको एक राजनीतिक कार्यकर्ताको नाताले मलाई कोरियामा पनि अन्यत्रको भन्दा फरक अनुभूति बिल्कुलै हुन सकेन । मजदुरहरुको आयस्तर युरोपेली स्तरकै भए पनि सन्तुष्टिको स्तर चाहिँ समृद्ध खाडी मुलुकको बराबर मात्रै रहेको अनुभूति मलाई भयो ।

नेपालबाट नेताहरु आउने, एकले अर्कालाई गाली गरेरै समय बिताउने तर आफ्ना सरोकारहरुलाई जहिल्यै बेवास्ता गर्ने प्रवृत्तिप्रति कोरियामा रहेका नेपालीहरु रुष्ट छन् ।

देशमा स्थिरता र न्यायपूर्ण विकास होस् र त्यसमा आफूहरुले पनि योगदान गर्न पाइयोस् भन्ने उनीहरुको चाहना देखियो । नयाँ सरकारले विप्रेषण (रेमिट्यान्स) को सदुपयोग गरोस्, युवापलायन रोक्न पहल गरोस् र विकासका मौलिक बाटा पहिल्याओस् भन्ने चहना र अपेक्षा कोरियामा रहेका नेपालीहरुमा पाइयो ।

नेपाल सरकारले तत्काल प्रभावकारी राजदूतावास खडा गर्ने, दक्ष जनशक्तिको विकासमा जोड दिने, रेमिट्यान्सको दीर्घकालीन लगानीका निम्ति वातावरण बनाउने आदि कदमहरु चालेमा कोरियामा रहेका हरेक नेपालीले राज्यले आफूहरुलाई पनि स्थान दिएको ठान्नेछन् । नेपाल सरकार र सम्बन्धित निकायको यस दिशामा छिटै ध्यान जाओस् ।

१ भदौ, २०७३

(लेखक नेकपा (माअाेवादी केन्द्र), अन्तर्राष्ट्रिय विभागका सचिव हुन्)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर