newskoseli.Com

माओवादी पार्टी छाडें, विचार छाडेको छैन : डा. बाबुराम

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफूले माओवादी पार्टी परित्याग गरे पनि विचार नछाडेको दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित ‘अविराम बाबुराम’ शीर्षकमा अनिल थापाद्वारा लिखित आफूबारेको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले भने– ‘जबसम्म मानिस रहिरहन्छ, विचारधाराको अन्त्य हुँदैन किनकि विकासको नियम नै विचारधारा हो ।’

‘विचार र विज्ञान समयअनुसार परिवर्तन भइरहन्छ’, अहिले मुलुक राजनीतिक रुपमा धेरै अघि बढिसकेको संकेत गर्दै र अब माक्र्सवादको रटानले मात्रै मुलुक समृद्ध हुन नसक्ने निष्कर्ष सुनाउँदै डा. भट्टराईले भने– ‘अब लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि, संविधान जारी भइसकेपछि नेपाल अर्को चरणमा प्रवेश गरिसकेको हुँदा त्यही मात्र सैद्धान्तिक आधारले मुलुक अघि बढ्न सक्दैन । त्यसैले द्वन्द्वात्मक भौतिकवादको समृद्धीकरण नै हाम्रो राजनीतिक दर्शन हुनेछ ।’ यसो भन्नुको सारतत्व समृद्ध मार्क्सवाद नै रहेकामा उनले जोड दिए ।

जीवनमा आफू २४ वर्षको उमेरदेखि नै सत्य र न्याय स्थापित गर्ने लक्ष्य बोकेर हिँडेको बताउँदै डा. भट्टराईले आफू अहिले पनि त्यही सत्य र न्याय स्थापित गर्ने लक्ष्यअनुरुप अविराम यात्रारत रहेको बताए ।

‘मैले त्यो डायरीमा जीवनको लक्ष्य भनेर संसारमा शाश्वत सत्य पत्ता लगाउने तथा सत्य र न्याय स्थापित गर्न प्रयन्नशील रहने उल्लेख गरेको थिएँ’, पुस्तकमा उल्लेखित २०३५ वैशाख १ मा नयाँ वर्षको अवसरमा लेखिएको डायरीको प्रसंग कोट्याउँदै उनले भने– ‘अहिले पनि म त्यही बाटोमा हिँडिरहेको छु र मेरो ४० वर्षको राजनीतिक इतिहास पनि यही नै ण्हो ।’

मार्क्सवादी बाटोलाई पक्रेर, त्यही मार्क्सवादलाई साधन बनाएर मात्र राजतन्त्रको अन्त्य र समुन्नत समाज निर्माण हुने देखेर नै आफूले मार्क्सवादलाई साधन वा टुल्सको रुपमा ग्रहण गरेको बताउँदै उनले भने– ‘बीपी कोइरालाले राजतन्त्रसँग लड्ने बाटो छाडिसकेपछि राजतन्त्रको अन्त्यकै लागि म कम्युनिस्ट पार्टीमा आबद्ध भएँ ।’

Baburam_Book1

उनले थपे– ‘मार्क्सवादलाई कम्युनिस्ट पार्टीहरुले जसरी भ्रष्टीकरण गरिरहेका छन्, त्यसलाई पनि सच्याएर जानुपर्छ भन्ने मेरो बुझाइ थियो ।’

‘माओवाद’ त्यसबेलाको र्याडिकल कम्युनिस्ट विचारधारा भएकाले जनयुद्ध अघि बढाउनका लागि माओवाद अवलम्बन गरिएको बताउँदै उनले अगाडि भने– ‘पछि ५७–५८ सालपछि जब चीनमाजस्तो पूर्ण क्रान्ति नहुने परिस्थितिको मूल्यांकन गरियो र मार्क्सवादका गुदी कुरालाई अलवम्बन गर्दै लोकतान्त्रिक गणतन्त्रको बाटो रोजियो ।’

पुस्तकमाथि टिप्पणी गर्दै एमाले नेता प्रदिप ज्ञवालीले पुस्तकमा एउटा सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्ने अभिलाषा बोकेर राजनीतिमा लागेको राजनीतिज्ञले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि युद्धरत पार्टीभित्र र बाहिरबाट गरेको संघर्षको चर्चा गरिएको बताए ।

ज्ञवालीले भने– ‘बाबुराम भट्टराईले यो परिवर्तनका लागि पार्टीभित्रै अन्तर्संघर्ष गरेर पार्टीलाई यो मार्गमा डाइभर्ट नगरेको भए मुलुकमा ठूलो रक्तपात हुने र त्यसले एक खालको अधिनायकवादको जन्म हुने खतरा थियो ।’

हिंसात्मक तरिकाले अघि बढिरहेको एउटा पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन बाबुराम भट्टराईले खेलेको भूमिकाको ज्ञवालीले खुलेर प्रशंसा गरे ।

त्यसैगरी पुराना कांग्रेस नेता दुर्गा सुवेदीले बाबुराम जहाँ भए पनि नेपालको इतिहाससँग जोडिएको मान्छे भएकाले यो पुस्तकबाट धेरै तथ्यहरु उद्घाटित हुन सक्ने बताए ।

‘बाबुराम भट्टराईलाई म ४० वर्षदेखि चिन्दछु’ उनले भने– ‘बाबुरामभित्रैबाट यो देशको सम्मान र उन्नति चाहने व्यक्ति हो । यो देश बन्नुपर्छ भन्ने सोचाइ राख्ने मान्छे हो ।’ बाबुराम भट्टराईले लिएको लक्ष्य र बाटोले मुलुकको हित गर्नुपर्ने उल्लेख गर्दै सुवेदीले भने– ‘सबै पार्टीहरु भ्रष्टीकरण भइसकेका छन्, बाबुरामले बनाउन खोजेको नयाँ शक्ति त्यस्तो भ्रष्टीकरणमा नपरोस् र बाबुरामको भिजन पूरा होस् ।’

पुस्तकमाथि टिप्पणी गर्दै नयाँ शक्तिकी केन्द्रीय कार्यकारी समिति सदस्य मनु हुमागाईंले पुस्तकले अन्तरमुखी स्वभावका बाबुरामको व्यक्तित्वबारे जान्न मद्धत पुगेको उल्लेख गरिन् ।

पुस्तकले राजनीतिक जीवनमा बाबुराम भट्टराईले गरेका त्यागलाई सम्झाएको उल्लेख गर्दै हुमागाईंले भनिन्– ‘बाबुराम भट्टराईले आफ्नो विद्यावारिधिसकेपछि आएको लाखौं रुपैयाँ, गाडी, बंगलाको ‘अफर’ लाई अस्वीकार गरेर समाज परिवर्तनका लागि राजनीतिमा लाग्नुभयो ।’

पुस्तकले ती सबै कुरालाई सम्झाएको उनले बताइन् । पुस्तकलाई बाबुराम भट्टराईको जन्मदेखि विद्यार्थी जीवनसम्मको पहिलो खण्ड र राजनीतिक जीवनको दोस्रो खण्ड गरी दुई भागमा बुझ्दा सहज हुने उनले उल्लेख गरिन् ।

अनिल थापाद्वारा लिखित एवं सांग्रिला बुक्सबाट प्रकाशित ‘अविराम बाबुराम’ को विमोचन बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर