
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई दिने निर्णय गरेको छ।
प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा २०६३ सालदेखि पद्मश्री पुरस्कारले सम्मान गर्दै आएको छ।
गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गरी प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्ने निर्णय गरेको थियो।
यो वर्ष रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज: मेरो शहरको कथा र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज पाँच कृतिको सूचि सार्वजनिक गरिएको थियो।
पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिनेछ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।