newskoseli.Com

साहित्य के हो ? के–के हुन् साहित्यका उद्देश्य ?

संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ–

१. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो ।

२. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले युक्त भाव नै साहित्य हो ।

अंग्रेजी भाषामा ‘साहित्य’ का सट्टामा ‘लिटरेचर’ शब्दको प्रयोग गरिन्छ । ‘लिटरेचर’ शब्द ल्याटिन भाषाको ‘लिटेरा’ बाट निर्माण भएको मानिन्छ । पश्चिमा जगतमा साहित्यका अर्थ दुईथरी छन्–

१. सामान्य अर्थः जसले समग्र लिखित बाङ्मय, विज्ञान, राजनीति, अर्थशास्त्र, समाजशास्त्र आदिलाई बुझाउँछ । आजको सन्दर्भमा यो अर्थ लाग्ने गरी ‘साहित्य’ शब्दको प्रयोग हुन लगभग छाडिसकेको छ ।

यद्यपि ‘लिटरेचर रिभ्यु’ अर्थात् ‘पूर्वकार्यको समीक्षा’ भनेर अनुसन्धान प्रतिवेदन तथा शोधपत्रहरुमा यस अर्थमा यदाकदा ‘साहित्य’ शब्दको प्रयोग हुने गरेको पाइन्छ ।

२. विशेष अर्थः पश्चिमा जगतमा ‘साहित्य’ भन्नाले कल्पनाको प्रयोग गरी विशिष्ट शैलीमा लेखिएका कृति वा रचनालाई बुझ्ने गरिन्छ ।

उपरोक्त अर्थका आधारमा साहित्यअन्तर्गत मूलतः काव्य, आख्यान, नाटक र निबन्ध गरी मुख्य चार विधा तथा तिनका उपविधा पर्दछन् । आदिकालमा संस्कृत आचार्यहरुले यी चारै विधाका साहित्य–रचनालाई ‘काव्य’ भन्ने गरेको पाइन्छ । तर, साहित्यको विकासक्रमसँगै ‘कविता’ र यसअन्तर्गत पर्ने लयात्मक–गेयात्मक रचनालाई मात्र ‘काव्य’ र चारै विधाका रचना–सिर्जनालाई चाहिँ ‘साहित्य’ भन्न थालिएको पाइन्छ ।

साहित्यः पूर्वीय आचार्यहरूका परिभाषा

– ‘काव्यालङ्कार’ नामक ग्रन्थमा भामहले भनेका छन्– ‘शब्दार्थौ सहितौ काव्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै काव्य अथवा साहित्य हो ।

– ‘काव्यादर्श’ नामक ग्रन्थमा दण्डीले भनेका छन्– ‘शरीरं तावदिष्टार्थ व्यवच्छिन्ना पदावलि’ अर्थात्, अभीष्टभावपूर्ण शब्द–समूह नै काव्य या साहित्यको शरीर हो ।

– ‘काव्यालङ्कारसूत्र’ नामक ग्रन्थमा वामनले भनेका छन्– ‘काव्यशब्दो ऽयं गुणालङ्कार संस्कृतयोः शब्दार्थयोर्वर्तते’ अर्थात्, गुण र अलङ्कारले परिष्कृत शब्द र अर्थ नै साहित्य हो ।

– ‘वक्रोक्तिजीवितम्’ नामक ग्रन्थमा कुन्तकले भनेका छन्– ‘शब्दार्थौ सहितौ वक्रकविव्यापारशालिनीः बन्धे व्यवस्थितौ काव्यं तद्विदाह्लादकारिणि’ अर्थात्, अप्रत्यक्षात्मक अभिव्यक्ति र कौशलले युक्त भएर सहृदयका हृदयलाई आह्लादित पार्ने सुव्यवस्थित वा पद्यबद्ध शब्द र अर्थ नै साहित्य हो ।

– ‘काव्यप्रकाश’ नामक ग्रन्थमा मम्मटले भनेका छन्– ‘तद्दोषौः शब्दार्थौ सगुणावनलङ्कृती पुनः क्वापी’ अर्थात्, कथंकदाचित अलङ्कारले रहित भैहाले तापनि गुणले सहित भएका निर्दोष शब्दार्थ नै काव्य या साहित्य हुन् ।

– ‘साहित्यदर्पण’ नामक ग्रन्थमा विश्वनाथले भनेका छन्– ‘वाक्यं रसात्मक काव्यम्’ अर्थात्, रसात्मक वाक्य नै काव्य अथवा साहित्य हो ।

– ‘रसगङ्गाधर’ नामक ग्रन्थमा जगन्नाथले भनेका छन्– ‘रमणीयार्थप्रतिपादकः शब्दः काव्यम्’ अर्थात्, सुन्दर भाव या रमणीय अर्थ व्यक्त गर्ने शब्द नै काव्य वा साहित्य हो ।

साहित्यः पाश्चात्य विद्वानहरुका परिभाषा

अरस्तु (एरिस्टोटल): ‘साहित्य भनेको भाषाद्वारा अभिव्यक्त हुने अनुकरणात्मक कला हो ।’

हड्सनः ‘भाषाको माध्यमद्वारा प्रस्तुत जीवनको अभिव्यक्ति नै साहित्य हो ।’

क्लरिजः ‘चेतनावस्थामा पुर्‍याउँदै सौन्दर्यको प्रत्यक्षीकरण र सत्यको बोध गराउने प्रमुख साधन साहित्य हो ।’

वर्डस्वर्थः ‘प्रबल भावहरुको सहज उच्छलन नै साहित्य हो ।’

साहित्यः नेपाली साहित्यकारहरुका परिभाषा

सोमनाथ सिग्द्यालः ‘सर्वसाधारण समेतलाई मुग्ध पार्ने अभिव्यक्ति साहित्य हो ।’

रुद्रराज पाण्डेः ‘वैयक्तिक आत्मरागको प्रकाशन नै साहित्य हो ।’

लक्ष्मीप्रसाद देवकोटाः ‘साहित्य सजीव अनुभवहरुको कलात्मक प्रकाशन हो ।’

साहित्यप्रयोजन (साहित्यका उद्देश्य)

कुन उद्देश्य पूरा गर्नका निम्ति साहित्य लेखिन्छ, यो नै सुरुदेखि आजसम्मको विवाद र बहसको मुख्य विषयवस्तु हो । पूर्वीय सभ्यताका चिन्तक, विद्वान् र अध्येताहरु तथा पश्चिमा संस्कृतिका अन्वेषकहरुले साहित्यको प्रयोजनबारे आदिकालदेखि आजसम्म फरक–फरक धारणा प्रकट गर्दै आएका पाइन्छन् । हेरौं केही उदाहरण–

साहित्यप्रयोजनः पूर्वीय विद्वानहरुका धारणा

भरतमुनि (नाट्यशास्त्र): धर्म, अर्थ, काम, मोक्ष, लोकोपदेश, विश्राम, बुद्धिविलास, नैतिक शिक्षा, हित र विनोद नै साहित्यको प्रयोजन हो ।

भामह (काव्यालङ्कार): धर्म, अर्थ, काम, मोक्ष, आनन्द, दण्डबाट मुक्ति, व्याधिबाट सुरक्षा आदि नै साहित्यका प्रयोजन हुन् ।

दण्डी (काव्यादर्श): सहृदयको प्रियता, कीर्तिको विस्तार, धनार्जन, विपत्तिबाट रक्षा, असाधारण आनन्द र फलप्राप्ति नै साहित्यका प्रयोजन हुन् ।

कुन्तक (वक्रोक्तिजीवितम्): शिक्षा, धर्म, अर्थ, काम, मोक्षको प्राप्ति, नित्य–नयाँ व्यवहार र अन्तश्चमत्कार नै साहित्यका प्रयोजन हुन् ।

मम्मटः यश, अर्थप्राप्ति, व्यवहार, ज्ञान, शिवेत्तर रक्षा र कान्तासम्मित उपदेश नै साहित्यका प्रयोजन हुन् ।

विश्वनाथः चतुर्वर्ग सुख र काव्यानन्द नै साहित्यका प्रयोजन हुन् ।

साहित्यप्रयोजनः पाश्चात्य विद्वानहरुका धारणा

अरस्तु (एरिस्टोटल): ‘मनोवेगहरुको विरेचनद्वारा आत्मिक स्वास्थ्य प्रदान गर्नु नै साहित्यको प्रयोजन हो ।’

शेलीः ‘मानव–मानवका बीच सहानुभूति र प्रेमको आनन्दमय विस्तार गर्नु नै साहित्यको प्रयोजन हो ।’

सिग्मण्ड फ्रायडः ‘मान्छेका दमित कुण्ठाहरुलाई प्रस्तुत गर्नु नै साहित्यको प्रयोजन हो ।’

आर्नल्डः ‘आनन्दका माध्यमले जीवनोपयोगी ज्ञान प्रसार गर्नु, नैतिकताको विकास र जीवनको नयाँ व्याख्या प्रस्तुत गर्नु नै साहित्यको प्रयोजन हो ।’

रिचर्डस्ः ‘लोकमङ्गल नै साहित्यको प्रयोजन हो ।’

साहित्य वास्तवमा कठिन, जटिल र व्यापक विषय हो । साहित्यस्रष्टा या पाठकहरुमध्ये कतिपयले विद्यालय–विश्वविद्यालयमा नेपाली, अंग्रेजी या अरु कुनै माध्यमबाट साहित्यको विस्तृत र गहन अध्ययन गरेका छन् । तीमध्ये कतिपयले ती कुराहरुलाई व्यावहारिक रुपले आत्मसात् गर्न सकेका छन् त कतिले छैनन् । तर, धेरैले औपचारिक रुपमा साहित्यको अध्ययन नगरीकनै साहित्यसिर्जना या पठन गर्दै आएका छन् । तैपनि हाम्रो समाजमा आजभोलि साहित्यबारे सुरुआतदेखि नै र गहिराइपूर्वक अध्ययन–अनुसन्धानको रुचि घट्दै गएको देखिँदैछ ।

यसर्थ, साहित्यबारे बहस, विवाद र गहन अध्ययनतर्फ लाग्न उत्प्रेरित गर्ने कार्यमा थोरै भए पनि योगदान पुग्ने अपेक्षाका साथ दुर्गाप्रसाद दाहाललिखित ‘नेपाली नाटक, निबन्ध, भाषासाहित्य र इतिहास’ शीर्षक पुस्तक र त्रिभुवन विश्वविद्यालयका नेपाली शिक्षणसम्बन्धी अरु केही पुस्तकहरुका आधारमा यो सामग्री यहाँ प्रस्तुत गरिएको हो । –सम्पादक ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर