newskoseli.Com

खच्चड संसदीय प्रणाली फेर्नुको विकल्प छैन : बाबुराम

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अहिलेसम्म मुलुकमा राजनीतिक नेतृत्व सही नभएकाले विकास र समृद्धि हुन नसकेको दावी गरेका छन् । ६–६ महिनामा सरकार फेरिइरहने व्यवस्था कायम राखेर मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने दावी गर्दै उनले खच्चड प्रकारको संसदीय प्रणाली फेर्नुको विकल्प नभएको जिकिर गरेका छन् ।

‘मुख्य कुरा राजनीतिक नेतृत्व हो, देशको नेृतत्वमा सही मान्छे भएन भने विकास सम्भव हुँदैन’, नयाँ शक्ति स्याङ्जाले शुक्रबार वालिङमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि आर्थिक विकास’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘नारा लगाएर मात्र हुन्थ्यो भने पञ्चायतकालमा पनि विकासको मूल फुटाउने कुरा भएकै हो, राजा महाराजले पनि त्यही कुरा गरेकै हुन् र कांग्रेस–एमाले–माओवादी सबैले पनि भनेकै हुन् । तर, विकासको उपयुक्त मोडल अवलम्बन गर्न नसक्दा विकास सम्भव भएन, नारामा मात्रै सीमित भयो ।’

dsc08932

विश्वमा प्रचलित पुँजीवादी र समाजवादी दुई मोडलबाट माथि उठेको विकासको मोडल नै नेपालका लागि वैकल्पिक मोडल हुने बताउँदै उनले भने– ‘यो त्यस्तो विकासको मोडल हुनेछ, जसमा निजी स्वतन्त्रता पनि कायम रहनेछ र राज्यले पनि कल्याणकारी भूमिका सहितको दायित्व निर्वाह गर्नेछ ।’

नेपालको आर्थिक विकास र समृद्धिका लागि साँच्चिकै यहींकै परिवेश सुहाउँदो विकासको मोडल जरुरी रहेको जिकिर गर्दै उनले भने– ‘विकासका लागि छाडा पुँजीवादी मोडल पनि होइन र नोकरशाही प्रकारको तानाशाही मोडल पनि होइन, बरु हामी दुवैबाट माथि उठेको विकासको मोडल खोज्दैछौं ।’

‘पुँजीवादी मोडल व्यक्तिकेन्द्रित हुने र त्यसमा व्यक्तिको समृद्धि भएमा समाज र मुलुकको समृद्धि हुने कल्पना गरिन्छ । परिणामतः त्यसमा केही मुट्ठीभर व्यक्तिहरु धनी हुन्छन् र अधिकांश गरिब हुन्छन्’, विश्वमा चलेका विकासका दुई मोडलबारे चर्चा गर्दै पूर्वप्रधानमन्त्री समेत रहिसकेका भट्टराईले भने– ‘अर्को समाजवादी मोडलमा साधन–स्रोतलाई राज्यले नियन्त्रण गर्दछ र त्यसलाई राज्यले गरिबका लागि वितरण गर्नुपर्छ भन्ने मान्यता राख्छ । तर, यसरी गरिने वितरणले मात्र विकास सम्भव हुन सक्दैन ।’

img_2331

विश्वमा प्रचलित विकासका यिनै दुई मोडलको बीचबाट नयाँ मोडल निर्माण गर्नुपर्ने बताउँदै उनले भने– ‘यी दुई वटा मोडलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बहस छ । यी दुवै मोडलका राम्रा र नराम्रा पक्षहरु देखिए । दुवै मोडलमा सीमाहरु देखापरे । र, यसको विकल्पका रुपमा सामाजिक–लोकतान्त्रिक मोडलका रुपमा बीपीले नयाँ मोडल अवलम्बन गर्न खोजे तर व्यवहारमा त्यो लागू हुन सकेन र अन्ततः त्यो पनि उदारवादी मोडलकै रुपमा परिचत बन्यो ।’

डा. भट्टराईको निष्कर्ष छ– ‘त्यसैले नयाँ मोडलको कुरा गरेका हौं, जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र सरकारको भूमिका पनि बलियो रहन्छ ।’

नयाँ शक्तिले मुलुकको आर्थिक परिवर्तनका लागि विकास र समृद्धिको मार्गचित्र तयार पारेको दावी गर्दै उनले भने– ‘अबको विकासका लागि परनिर्भरताको अन्त्य गर्दै अन्तर्निर्भरताको विकास गर्नुपर्छ ।’

विकाससँगै समृद्धिको समन्यायिक वितरण र आर्थिक असमनता घटाउनुपर्ने आवश्यकतामा जोड दिँदै उनले भने– ‘गरिब र धनीबीचको फाटो अर्थात् आर्थिक असमानता बढ्दै गएको छ, गाउँ र सहरबीचको असमानता बढेको छ, विभिन्न क्षेत्रबीचको असमानता बढेको छ, जातीय असमानता बढेको छ, यी वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य असमानता र विभेद नै नेपालको विकासका बाधक हुन् । यी समस्याहरुको समाधान गरेर मात्रै नेपालको विकास गर्न सकिन्छ ।’

dsc08934

मुलुकको आर्थिक विकासनिम्ति राज्यले पूर्वाधारजन्य क्षेत्रहरुमा लगानी बढाउनुपर्नेमा उनको जोड छ । दुई छिमेकी मुलुकबाट पुँजी, प्रविधि र पर्यटक भित्र्याएर मुलुकको आर्थिक विकास गर्नुपर्ने र राज्यले सडक, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा र सञ्चारजस्ता पूर्वाधारजन्य क्षेत्रको विकास गर्नुपर्ने उनले बताए ।

विकासका लागि राजनीतिक स्थिरता मुख्य सर्त रहेको उल्लेख गर्दै उनले भने–‘देशमा राजनीतिक स्थिरता नभएसम्म देशको विकास हुँदैन । ६–६ महिनामा सरकार फेरेर मुलुकको विकास हुँदैन ।’

‘नयाँ शक्तिको स्पष्ट धारणा भनेकै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ र कम्तिमा ५ वर्ष जनताले चुनेको व्यक्तिले शासन चलाउनुपर्छ भन्ने हो । त्यसका निम्ति अहिलेको सुधारिएको खच्चड प्रकारको संसदीय प्रणाली फेर्नुको विकल्प छैन’– डा. भट्टराईले भने ।

सो कार्यक्रममा नयाँ शक्ति ४ नं. प्रदेशकी संयोजक बलावती शर्माले व्यापक रोजगारीको अवसर सिर्जना गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताइन् । उनले भनिन्– ‘८० वर्ष राजनीतिक अधिकारका लागि लड्यौं, अब आर्थिक विकास र समृद्धिका लागि लड्ने बेला भएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर