NewsKoseli.Com

चाउचाउको सधैं विज्ञापन हुन्छ, सुनको कहिल्यै हुन्छ ?

४७ वर्षको उमेरमा बल्ल पहिलो कृति बजारमा ल्याउनुभयो, त्यसअघि चाहिँ केमा व्यस्त हुनुहुन्थ्यो ?

२०२५ देखि शिक्षक भएँ, थानकोटस्थित प्रभात माविमा २०२९ सम्म पढाएँ । विद्यालय निरीक्षक पदमा नियुक्ति लिएर पाँचथर गएँ, त्यो पदमा रहेर १ वर्ष काम गरें । २०३१ देखि राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिरी गरें । २०५५ मा त्यो अफिस विघटन भयो र मैले अवकाश पाएँ । २०५६ देखि २०६५ सम्म अन्नपूर्णा ट्राभल्स एण्ड टुर्समा काम गरें । त्यसपछि सेवानिवृत्त जीवन सुरु भयो ।

‘आमोई’ काकीको यथार्थ घटनामा आधारित उपन्यास रहेछ । यसअघि ‘आमोई’ बारे नै निबन्ध पनि लेख्नुभएको थियो । निबन्धमा ‘आमोई’ को जीवनवृत्त नअटेर उपन्यास लेख्नुभएको हो त ? ‘आमोई’ माथि नै उपन्यास लेख्ने प्रेरणा के थियो ?

हो । सुरूमा मैले आमोईका बारेमा संस्मरणात्मक निबन्ध लेखेको थिएँ । त्यो निबन्ध पढेपछि साथीहरुले आमोईको सिङ्गो जीवनी लेख्न हुटहुटी लगाए । त्यही प्रेरणाले भनूँ– मैले ‘आमोई’ लेखें ।

मदन पुरस्कारका निम्ति मनोनीत ७ कृतिभित्र ‘आमोई’ पनि परेको छ । अरू ६ वटालाई उछिन्दै ‘आमोई’ ले नै मदन पुरस्कार प्राप्त गरोस् भन्ने दाबेदारी कसरी प्रस्तुत गर्नुहुन्छ ?

‘आमोई’ काल्पनिक कथा होइन । तत्कालीन काँठको खासगरी ब्राह्मण समाजको कठोर र रुढीग्रस्त समाजबारे यति सूक्ष्म चित्र लेखिएको छैन भन्ने मलाई लाग्छ । त्यसकारण यो पुस्तक मदन पुरस्कारको दाबेदार मात्र होइन, अन्यथा निर्णय आयो भने ‘आमोई’ माथि अन्याय नै गरिएको मेरो ठहर हुनेछ ।

aamoi चल्तीका प्रकाशनगृहले प्रकाशनमा ल्याएका आफ्ना किताब चर्चामा आएपछि लेखकहरु लोभ गरेर आफैं प्रकाशन गरी ‘क्रेडिट’ लिन खोज्छन् भनिन्छ तर तपाईंले त पहिलो पटक आफन्तमार्फत छपाउनुभएको किताब मनोनयनमा परिसकेपछि चाहिँ किन शिखा बुक्सलाई पुनप्र्रकाशनको जिम्मा दिनुभयो ? कृतिहरु नामी प्रकाशनगृहका कारण उत्कृष्ट ठहरिने हुन् कि कृतिकै क्षमताको आधारमा ?

म छन्दमा काव्य–कविता लेख्ने मानिस हुँ । त्यसकारण छन्द लेखकका वृत्तमा म चर्चामा भइनँ । ‘आमोई’ को प्रकाशन गर्न कुनै प्रकाशनगृहलाई अनुरोध पनि गरिनँ । आफ्नै भान्जाले छपाउँछु भने, मैले दिएँ । मदन पुरस्कारको लिस्टमा परेपछि शिखा बुक्सले दोस्रो संस्करण छाप्ने अनुमति माग्यो, मैले दिएँ ।

‘आमोई’ ले छोराछोरी जन्माउन सकिनन् तर तपाईं (भतिज) ले ‘आमोई’ को जन्म दिनुभयो, कत्तिको खुशी हुनुहुन्छ ?

आमोई निःसन्तान हुनुभयो । उहाँकै सन्तानझैं म उहाँको काख–पोल्टामा हुर्कें, पढें, बढें । त्यस्ती त्यागी (बलिदानी) आमोई (काकी) बारे पुस्तक लेखेर मैले पितृको सही श्राद्ध (श्रद्धा) गरें भन्ने बोध अहिले मलाई भएको छ ।

bhubanhari_sigdelमदन पुरस्कार गुठीमा गुटबन्दी र ‘पावरको चलखेल’ हुन्छ भनिन्छ, पुरस्कार आफ्नै कृतिले पाउनेमा कति ढुक्क हुनुहुन्छ ?

मलाई चल र खेल गर्न आउँदैन । देख्नुहुन्छ नि चाउचाउ, साबुन आदिको बिक्रीका लागि चलखेल हुन्छन्, विज्ञापन हुन्छन् । म तपाईंलाई नै सोधूँ– नम्बरी सुन बिक्रीका निम्ति किन विज्ञापन नभएको होला ? किन चलखेल नचलेको होला ? त्यही उदाहरण मदन पुरस्कारको सवालमा ठ्याक्कै मिल्छ । उनीहरुको निर्णयपछि म फेरि प्रश्न गर्नेछु– मूल्याङ्कनमा चाउचाउ पर्‍यो कि सुन ?

बजारमा ‘आमोई’ को चर्चा भइरहँदा त्यससँगै मनोनयनमा परेको अर्को कृति ‘चीरहरण’ ले पद्मश्री पुरस्कार पायो । यसो हुँदा मदन पुरस्कारका लागि ‘आमोई’ को दाबी झन् बलियो हुन पुगेकोे धारणा पाठकमा देखिन्छ, तपाईंलाई के लाग्छ ?

निष्पक्ष मूल्याङ्कन भयो । पाठकको यस्तो धारणासँग मेरो विचार ठ्याक्कै मिल्छ ।

अहिले उपन्यास लेख्ने ‘फेसन’ नै चलेको देखिन्छ, पछिल्लो समय लेखनकर्ममा उत्रेका नयाँ सर्जकहरुलाई के सुझाव दिनुहुन्छ ?

हाल उपन्यासलेखनको लहरमा उदाएका युवाहरुको प्रयास अति नै उत्साहबर्द्धक छ भन्ने मलाई लाग्छ । यसलाई ‘फेसन’ का रुपमा होइन, गम्भीर चिन्तनका रुपमा लिनुपर्छ ।

प्रस्तुतिः रोशन दाहाल

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर