newskoseli.Com

यस्तो पनि पुल, जो पानीमा तैरिन्छ

नर्वेका इन्जिनीयरहरुले विशाल संरचना परियोजनाको अंशको रूपमा विश्वकै पहिलो पानीमा तैरिने सुरुङमार्ग बनाउन प्रस्ताव गरेका छन् । उक्त सुरुङमार्ग ११०० कि.मि. लामो हुनेछ । यो भनेको नेपालको पूर्व–पश्चिमराजमार्ग भन्दा पनि झन्डै सय किलोमिटर लामो हो । उक्त सुरुङमार्गले नर्वेको दक्षिणी शहर क्रिस्टेनस्याण्ड र उत्तरी शहर ट्रोन्हेमलाई जोड्नेछ, जसले थुप्रै गल्छीहरु पार गर्नेछन् ।

यो यात्रा गर्न अहिले कि त हेलिकप्टर प्रयोग गर्नुपर्छ कि त पानीजहाज । पानीजहाजबाट यात्रा गर्दा २१ घन्टा लाग्ने दूरी यो सुरुङ सडक बनेपछि गाडी चढेर केवल १० घन्टामा पार गर्न सकिने छ । यो सुरुङमार्गले त्यहाँका मानिसहरुले अस्पतालसम्म पुग्नअहिले हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यतालाई समाप्त गर्नेछ ।

नर्वेको सार्वजनिक सडक प्रशासनले थुप्रै गल्छीहरुमध्येको एक सबैभन्दा ठूलो एउटा गल्छीमा सम्भाव्यता अध्ययन गर्दैछ । ४००० फिट अर्थात् करीब १२०० मिटर लामादुई वटा कंक्रिट टनेलहरु पानीको सतहबाट ६५ देखि १०० फीट तल रहने गरी उक्त संरचना (पोन्टुन) बनाइनेछ । टनेलहरु डुङ्गाजस्तै गरी पानीमा तैरिने धेरै वटा संरचनामा झुन्ड्याइनेछ ।

underwater1 underwater2

गह्राैं तौलका ती संरचनाहरु पानीको उर्ध्व चापका कारण तैरिनेछन् ।पुन्टुनहरुको बीचबाट स–सानाजहाजले सजिलै यात्रा गर्न सक्ने गरी यो निर्माण गर्न लागिएको छ । समानान्तर ती दुई सुरुङमार्गलाई आपसमा मजबुत बनाउन ट्रसहरुको सहायताबाट जोडिनेछ । यसका साथै सुरुङमार्गलाई थप दिगो र बलियो बनाउन कडा चट्टानहरुसँग पनि जोड्न मिल्ने संयन्त्र विकास गरिने छ ।

आधिकारिक रूपमा ‘सब्मर्जड् लोटिङ टनेल ब्रिज’ भनिने यस पुललाई ‘आर्किमिडिज ब्रिज’ पनि भनिन्छ । यसो भन्नुको कारण हो, यो संरचना वैज्ञानिक आर्किमिडिजको सिद्धान्तमा आधारित भई निर्माण गर्न लागिएको छ । इशापूर्व २६० तिरका खगोल तथा ज्यामितिशास्त्री आर्किमिडिजको सिद्धान्त अनुसार तरल पदार्थमा पूर्ण वाआंशिक रूपमा डुबाउँदा तरल पदार्थको उर्ध्वचाप र डुबाइएको वस्तुले विस्थापन गरेको तरल पदार्थको तौलसँग बराबर हुन्छ ।

उक्त संरचना निर्माणका लागि खटिएका सार्वजनिक सडक प्रशासनका वरिष्ठ इन्जिनीयर एरियाना मिनोरेट्टीले परियोजना उत्साहजनक रहेको बताएका छन् । यस परियोजनाका लागि २५ अर्ब डलर अर्थात् २५ खर्ब रूपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । अनेकौं भौगर्भिक सर्वेक्षणहरु पूरा भइसकेपछि करीब ९ वर्षको निर्माण अवधि लगाएर सन् २०३५ सम्ममा यो पुलको निर्माण पूरा हुने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर