newskoseli.Com

कछुवाको ५० औँं जन्मदिवस मनाइयो

अस्ट्रेलियाको पर्थ महानगरमा अवस्थित पर्थ चिडियाखानामा राखिएको ग्यालाप्यागोस जातको सेर्रो नामको एउटा भीमकाय कछुवाको ५० औं जन्मदिवस धुमधामका साथ मनाइयो ।

उक्त भाले कछुवा ४९ वर्ष पूरा गरी आजका दिन ५० औंं वर्षमा प्रवेश गरेको चिडियाखानाकी प्रमुख इमिली ट्रेनरले बताइन् । जन्मदिवस समारोहमा उक्त कछुवालाई अत्यन्त मनपर्ने सुन्तला, फर्सी, मेवा, किबि, भूइँऐँसेलु (स्ट्रबेर्री), तरबुजा जस्ता फलफूलबाट बर्थडे केक तयार पारिएको थियो ।

गालाप्यागोस जातको एउटा हुर्किसकेको कछुवा आफूलाई मनपर्ने फलफूलको खोजीमा दुईसय किलोमिटर टाढासम्म पनि यात्रा गर्ने गर्छ । कछुवा स्तनधारी प्राणी नभइ फुल पार्ने जीवको श्रेणीमा पर्छ, जङ्गली होस् या घरपालुवा, कछुवा सदैव साहाकारी प्राणी हो ।

“सेर्रो रातो रङगका चिजबिजसँग असाध्यै झ्याम्मिन्छ, गाढा रङगका जुनसुकै खाद्यवस्तु उसको अत्यन्तै प्रिय हुन् । त्यसैले हामीले पनि उसलाई मनपर्ने फलफूलहरुबाट गाढा रातो रङगकै केक तयार पार्‍यौं । सानो घेराभित्र थुनिएको बिचरा सेर्रोलाई आफ्नो जन्मदिनमा यो भन्दा मनपर्ने खानेकुरो अर्को के हुन सक्ला र ! चिडियाखाना प्रमुख ट्रेनरले खुसी व्यक्त गरिन् ।

गालाप्यागोस जातका जङ्गली कछुवाहरुको औसत आयु साधारणतया १ सयदेखि १ सय २५ वर्ष हुन्छ । त्यसो त पर्थ चिडियाखानामा ग्यालाप्यागोस जातको कुनै कुनै कछुवा अनुमानित १ सय ७५ वर्षसम्म बाँचेको रेकर्ड पनि छ । यो हिसाबले सेर्रो त भरखर आफ्नो जवानीमा प्रवेश गर्दैछ ।

प्रारम्भमा यस कछुवा अमेरिकाको सान् डियागो चिडियाखानामा जन्मेको र यसको भाइ “सिएरा” सँगसँगै सन् २००५ मा अस्ट्रेलिया ल्याइएको थियो ।

गालाप्यागोस जातका जङ्गली कछुवाहरु विश्वका सबैभन्दा ठूला आकारका कछुवा मानिन्छन् । राम्ररी हुर्किसकेको गालाप्यागोस कछुवा १ जना साधारण मानिस सरह ४ देखि ६ फिटसम्म लम्बाइको र २ सय १५ किलोग्रामदेखि ४ सय १७ किलोग्रामसम्म तौलका हुने भएकाले यि भीमकाय कछुवा मानिन्छन् ।

अफ्रिकाको तान्जानियाबाट सातसय किलोमिटर पूर्व, भारतीय महासागरमा रहेको अल्डाब्रा द्वीपक्षेत्र तथा इक्वेडरबाट १ हजार किलोमिटर पश्चिममा रहेको गालाप्यागोस द्वीपक्षेत्र नै यिनहरुका मूल जन्मस्थल हुन् । यी दुबै द्वीपक्षेत्र अति कठिन यात्राबाट पुगिने समुद्रिक दुर्गमस्थल मानिन्छन् ।

हाल विश्वभर यस्ता कछुवाको संख्या बीस हजार भन्दा कमै रहेको अनुमान गरिएको छ । ठूला खाले मुसा (फिल्ड याट), कुकुर, बिराला जस्ता मांसाहारी प्राणी यी कछुवाका मुख्य दुुश्मन हुन् । यी मुख्य दुश्मनले कछुवाको अण्डा वा साना साना बच्चालाई खाइदिन्छन् । तसर्थ यी कछुवाहरु हाल लोपोन्मुख प्रजातिका प्राणीमा पर्दछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर