newskoseli.Com

४ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्लामा यस वर्ष ४ हजार ४ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४ सय मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए ।

लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो । अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पुर्‍याइसकेका छन् । भदौ अन्तिम साता स्याउ टिपेका यहाँका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाइ छ ।

जिल्लामा १ हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि ३ सय ५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो । “बर्सेनी स्याउ उत्पादन एकनासले हुने गरेको छ,” वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले भनिन् । जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुन्छ ।

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेटलगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन् । यस वर्ष किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो  ८० रूपैयाँ देखि  १ सय रूपैयाँमा स्याउ बिक्री गरेका छन् । यहाँका किसानले स्याउबाट बर्सेनि १ लाख रूपैयाँ देखि १ करोड रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर