newskoseli.Com

राष्ट्रको समृद्धिका लागि स्वदेशी उत्पादन

केही रकम ऋण खोजेर विदेश हान्निएपछि सबै समस्या समाधान हुन्छन् भनेजस्तो गरी विदेशिने क्रम युवाहरुमा ह्वात्तै बढेको छ । तर, लगनशीलता, परिश्रम, इमान र धैर्यता भएमा स्वदेशमै पनि राम्रो प्रगति गर्न सकिन्छ भनेर केही युवाहरुले राम्रो उदाहरण प्रस्तुत गरिरहेका छन् ।

तिनै युवाहरुमध्येका एक हुन् राजीव श्रेष्ठ (तेज) । रामेछापको साँघुटारमा जन्मिएका २८ वर्षीय राजीव होटल व्यवसायमा क्रियाशील छन् । प्रस्तुत छ उनै युवा उद्यमी राजीवसँग न्युजकोसेलीले गरेको कुराकानी ।

राम्रै मेहनतसाथ होटल व्यवसायमा लाग्नुभएछ, कस्तो चल्दैछ ?

राम्रै छ । होटल सँगसँगै पार्टीप्यालेस समेत सञ्चालन गरेको छु । सोचेको भन्दा राम्रै भएको छ ।

कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

 

मान्छेको जातै असन्तुष्ट भएकाले योभन्दा राम्रो गर्न पाए हुन्थ्यो भन्ने त सबैलाई लाग्छ, त्यस्तो मलाई पनि लाग्ने नै भयो । त्यसकारण मान्छे जुनसुकै क्षेत्रमा लागे पनि पूरै असन्तुष्ट र सन्तुष्ट दुवै हुनुहुँदैन ।

 

सन्तुष्टै छु । मेहनत गरेअनुसारको फल पाएकै छु । मान्छेको जातै असन्तुष्ट भएकाले योभन्दा राम्रो गर्न पाए हुन्थ्यो भन्ने त सबैलाई लाग्छ, त्यस्तो मलाई पनि लाग्ने नै भयो । त्यसकारण मान्छे जुनसुकै क्षेत्रमा लागे पनि पूरै असन्तुष्ट र सन्तुष्ट दुवै हुनुहुँदैन । त्यसो भयो भने मान्छे सफल हुन सक्दैन ।

अलिकति व्यक्तिगत कुरा गरौं, कसरी बिते बाल्यकालका उकाली–ओराली ?

रामेछापको एउटा दुर्गम गाउँमा, सामान्य परिवारमा जन्मेको मान्छे हुँ । त्यस ठाउँमा बसेर गर्नुपर्ने सबै खालका दुःख मैले गरेको छु । बिहानै उठेर घाँसको भारी, मेलापात सबै सकेर पनि दस बजे स्कुल पुगिन्थ्यो । सुख–दुःख दुबैका राम्रै अनुभूति सँगालेको छु ।

तपाईंंको भोगाइ र बुझाइमा जीवन र प्रेम के हो ?

जीवन र प्रेम भनेका एक सिक्काका दुई पाटा हुन् । जीवन जीवनजस्तो हुन हमेसा प्रेमको जरुरत पर्दछ । पे्रमविनाको जीवन त सुख्खा हुन्छ ।

लामो समय विदेश बिताएको मान्छे, फेरि स्वदेशमै केही गरौं भन्ने प्रेरणा कताबाट पाउनुभयो ?

विदेश जानुभन्दा पहिले पनि नेपालमै व्यापार नै गर्थें । तर, त्यस बेला सोचेजस्तो भएन । शायद विदेश गयो भने के–के न भैहाल्छ कि भन्ने ममा परेर पनि होला । विदेश गइयो तर उता त यति दुःख हुनेरहेछ कि बिहान ६ देखि बेलुकी ८–९ बजेसम्म काम गर्नुपर्ने । मलाई लाग्यो कि यति धेरै दुःख नेपालमै बसेर गर्ने हो भने त अवश्य केही गर्न सकिन्छ । यस्तो सोच आएपछि स्वदेशको माटोमै केही गर्ने सपना बोकेर स्वदेश फर्किएँ ।

व्यक्तिगत समृद्धितिर त लागिसक्नु भएछ, देशकै समृद्धि चाहिँ कसरी सम्भव होला जस्तो लाग्छ ?

सम्भावना भएका क्षेत्रहरूमा नेपाली जनतालाई सरकारले स्वदेशमै परिचालन गर्नुपर्छ । जोसँग जे सिप छ र जेमा उत्कट इच्छा छ सोही काममा लगाउनुपर्छ । राष्ट्र निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिमको व्यवस्था गर्नु आवश्यक छ । सस्तो ब्याजमा ऋण उपलब्ध गराउने, करमा छुट दिने, जलविद्युत्, पर्यटन, जडीबुटीजस्ता पर्याप्त सम्भावन भएका क्षेत्रमा सरकारले लगानी गरेर तालिम प्राप्त युवाहरूलाई परिचालन गर्ने हो भने देश समृद्ध बन्न धेरै समय लाग्दैन ।

photo1

 

तर, सरकार भ्रष्ट छ, राजनीति भ्रष्ट छ । यिनै नेताहरूको भरमा केही होला भन्ने आशा मलाई चाहिँ लाग्दैन ।

 

तर, सरकार भ्रष्ट छ, राजनीति भ्रष्ट छ । यही सरकार र राजनीति गर्ने यिनै नेताहरूको भरमा बसेर मात्रै केही होला भन्ने आशा मलाई चाहिँ लाग्दैन । त्यसैले हामी युवाहरूले सके एक्लै र नसके धेरै जना मिलेर स–साना पुँजी जम्मा पारेर भए पनि व्यवसाय गर्न सकिन्छ, सक्नुपर्छ । मैले पनि होटलबाहेक अरु व्यवसाय समेत सुरु गरिसकेको छु । केही साथीहरू मिलेर ए टु जेड क्लिनर्स एन्ड केमिकलको सञ्चालन गरेका छौं । भारतबाट ल्याइएको महँगो हर्पिकको सट्टामा उही गुणस्तरको सामग्री निकै सस्तो मूल्यमा बजारमा उपलव्ध गराउने उद्देश्यअनुसार यो व्यवसाय अगाडि बढेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने हाम्रो संस्कार छ्रैन । नेपाली उत्पादन भनेपछि निधार खुम्च्याउने गरिन्छ । राष्ट्रको समृद्धिका लागि स्वदेशी उत्पादनलाई सबैले प्रश्रय दिनु आवश्यक छ ।

अन्तमा न्युजकोसेलीमार्फत थप केही…

तपाईंहरूलाई धन्यवाद, मेरा विचार र अनुभूति प्रस्तुत गर्ने अवसर दिनुभएकोमा । नेपालीहरुका महान् पर्वहरु दसैं–तिहार, छट आदि सन्निकट आएका छन्, यी पर्वको उपलक्ष्यमा देशभरका दाजुभाइ–दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना प्रकट गर्न चाहन्छु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर