newskoseli.Com

धार्मिक अभियन्ताहरू भन्छन् : अज्ञानता र आडम्बर हो बलिप्रथा

भगवानलाई खुसी पार्न सके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलि (पशुबलि) दिने प्रथा रहिअाएको छ ।

नेपालमा पनि महान् चाड मानिने दसैंलगायत विभिन्न समयमा पशु बलि दिने चलन छ । तर, पछिल्लो समयमा भने यस्ता क्रियाकलापविरुद्ध विरोधको स्वर बढ्दो छ । रत्ननगरका धार्मिक गुरु तथा टिकौली मन्दिरका उत्तराधिकारी महन्त कृष्णप्रसाद शास्त्री केही धार्मिक गुरुको आडम्बर, अमानवीय स्वार्थ र अज्ञानताका कारण बलिप्रथा चलेको बताउँछन् ।

हिन्दू धर्म सहिष्णु र आदर्शवादी धर्म हो । बलिप्रथाको सन्दर्भ जोड्दै शास्त्री चराचर प्राणीलाई अनाहकमा हानि पुर्याउनु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको उनी बताउँछन् । हिन्दू शास्त्रले बलिलाई स्थान नदिएको उनको जिकिर छ । केही मानिस शक्ति प्राप्तिका लागि हिंसामा उद्यत भएको देखिन्छ । कुनै प्राणीलाई क्षति पुर्यायो भने बरु उल्टो श्राप र पाप लाग्ने तर कुनै पनि शक्ति र शान्ति प्राप्त नहुने तर्क उनको छ ।

विभिन्न शास्त्रले बलि दिनुलाई कुनै कुरा त्याग्नु या आहुति दिनु भन्ने अर्थमा उल्लेख गरेको तर निर्दोष प्राणीको बलि दिनू नभनेको प्राध्यापक जगदीशचन्द्र शर्माको भनाइ छ । त्यसैले चाडपर्वको नाममा हुने बलि कुनै पनि हिसाबले स्वीकार्य नहुने बरु आफैंभित्र हुने कुरीति, कुसंस्कार तथा कुविचारलाई त्याग्ने अर्थमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । अाइतबार आठौं अन्तर्राष्ट्रिय अहिंसा दिवस पनि हो ।

विश्वभर अशान्ति आतङ्क, हिंसाको क्रम बढ्दै गएको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले २००७ सालमा महात्मा गान्धीको जन्मजयन्ती पारेर आजका दिन विश्व अहिंसा दिवस मनाउन थालेको हो । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसको सन्दर्भलाई कोट्याउँदै चितवन भरतपुरका समाजसेवी केशव अधिकारी पनि काम, क्रोध लोभ, मोह तथा दम्भजस्ता कुरालाई त्याग्नुपर्ने विषयलाई बलिप्रथासँग जोड्छन् ।

ईश्वरलाई खुसी पार्न गरिने कुनै पनि बलि अमानवीय रहेको उनको तर्क छ । “सृष्टिका दृष्टिकोणले सबै ईश्वरका सन्तान हुन्, आफ्नै सन्तानको बलि दिएर म खुसी हुन्छु भनेर ईश्वरले कहिल्यै भन्लान् ?” अधिकारीको प्रतिप्रश्न छ, “यस्ता कुप्रथा रोकिनुपर्छ ।”

चाडपर्वमा विभिन्न सार्वजनिकस्थलमा बलि दिने कार्य गलत भएकाले यस्तो कार्य रोक्न मागसहित चितवनमा र्‍याली र प्रदर्शन समेत भएको छ । जनस्वास्थ्य तथा पर्यावरणमा समेत बलि प्रथाले प्रतिकूल असर परेको अहिंसावादी अभियानका अभियन्ता जगदीशचन्द्र शर्माको जिकिर छ । बलिप्रथा, काटमार तथा हत्याहिंसाविरुद्ध अभियान चलाउँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद्, चितवन शाखाको अगुवाइमा अाइतबार अहिंसा दिवसको सन्दर्भमा हरेक कृष्णप्रणामी मन्दिरमा कार्यक्रम भइरहेको शर्मा बताउँछन् ।

देवीदेवताका मठमन्दिर र पवित्र स्थानमा निरीह पशुको बलि दिनु सरासर पाशविक कर्म हुने महन्त शास्त्री बताउँछन् । मन्दिर जहाँ शान्त र स्थिर हुने पवित्र ठाउँ हो, त्यहाँ रगत बगाएर कहिल्यै शान्ति नमिल्ने बरु शास्त्रले निरीह पशुलाई होइन मनुष्यभित्रका पशुकर्मको बलि दिनुपर्ने भनेको छ भन्छन् उनी । स्वास्थ्यका लागि पनि सात्विक खानाको महत्व ठूलो छ । दूध, दही फलफूल तथा सात्विक खाना माछा, मासुभन्दा कयाैं गुणा पौष्टिकयुक्त भएको विज्ञानले समेत पुष्टि गरेको रत्ननगरका जगदीश शर्मा बताउँछन् ।

पशुपंक्षी अधिकारको संरक्षण गर्ने विश्वव्यापी अभियानलाई नेपालमा पनि कार्यान्वयनतर्फ सबैको ध्यान जानुपर्नेमा श्रीकृष्ण प्रणामी युवा परिषदले जोड दिएको छ । अभियानकर्मी तिलकराज शर्मा प्राणीको काटमार गर्न रोक लगाउनुपर्ने, सार्वजनिक स्थलनजिक रहेका सम्पूर्ण बधशाला पूर्ण रुपमा बन्द गर्नुपर्नेमा जोड दिन्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर