कमलविनायकस्थित अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन् । ०७२ वैशाख १२ को भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाइएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रोमै जमरा उमारेकी हुन् ।
सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभएको उनी बताउँछिन् । पोखा भन्छिन्˗ “दसैं आए पनि कुनै तयारी छैन, यो छाप्राभित्र कसरी मनाउनु दसैं ! पाहुना बोलाउनुपर्छ, ठाउँ छैन, पैसा छैन, दसैं आएजस्तै छैन ।”
यही शिविरको पालमा बस्दै आएका कमलविनायकका राजु सुवालको पनि उस्तै छ समस्या । ३ जना परिवार रहेका उनले पनि भत्किएको घरको छिँडीमा जमरा उमारे पनि दसैंको तयारी भने नगरेको बताए । उनी भन्छन्˗ “शिविरको दसैं के रमाइलो हुनु ! विगतको जस्तो दसैं हुँदैन यसपालि, दसैंका लागि कुनै सामान किनेको छैन, टीका जमरा लगाउनेबाहेक अरु केही हुँदैन यस वर्ष ।”
सरकारले घोषणा गरेको रकम दिए छाप्रो हालेर अरुको जग्गा भाडामा लिएरै भए पनि तरकारी खेती गरेर बाँच्न सकिने बताउने उनीहरु सरकारको आशै आशामा डेढ वर्ष बितेको बताउँछन् ।
शिविरमा बस्दै आएकी क्वाठडाैंकी चन्द्रलक्ष्मी मानन्धरको समस्या पनि उस्तै नै छ । एउटा पालभित्र ७ जनाको परिवार बस्दै आएका मानन्धर परिवारले पनि दसैंको कुनै जोहो गरेका छैनन् । २ देवरानी–जेठानीले टोपी, मोजा, पञ्जा बुनेर आम्दानी गरेको दिनको १ सय रूपैयाँले परिवार धान्नै मुस्किल छ ।
मानन्धर भन्छिन्˗ “कमाइ छैन, बुनाइको पैसाले ७ जनाको परिवार पाल्न पुग्दैन, ऋण गरेर टार्दै आएका छाैं, दसैंको कुनै तयारी छैन, दसैंमा पाहुना बोलाएर भोज खुवाउनुपर्छ, यस वर्ष त पाहुना पनि नबोलाउने भएका छौं ।”
शिविर छाडेर भत्किएकै घरको छिँडीमा गएर बसेकी क्वाठडाैंकी रेनुका सुवालको पीडा पनि कम छैन । शिविरमा बस्दै आएकी उनले दसैं आएपछि जमरा राख्नकै लागि भत्किएको घरको छिँडीमा १ साताअघि गएर बसेको उनी बताउँछिन् ।
उनी भन्छिन्˗ “भूकम्पले भत्काएको घरमा गएर बसेका छाैं, दसैंको कुनै तयारी छैन, घरमा गएदेखि घर भत्कन्छ कि भन्ने डरले कोही पनि निदाउन सक्दैनौं, जिन्दगी साह्रै कठिन भयो ।”
नेपालीको महान् चाडको रुपमा मनाइने दसैं नजिकिँदै गरे पनि ०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किएर शिविरको बास भएका भूकम्पपीडितलाई दसैंको रौनकले छोएकै छैन ।
व्यासीस्थित शिविरमा बस्दै आएकी ७४ वर्षकी कृष्णकुमारी सुवाल पालभित्र चिसो आउन थालेपछि अाफू बिरामी परेको बताउँछिन् । उनी भन्छिन्˗ “भुइँमा पानी आउँछ, बिहानीपख माथि पालबाट पनि शीत चुहिन्छ, शिविरमा बाँच्नै गाह्रो भो, जाने ठाउँ छैन, यस्तो बेलामा के मनाउनु दसैं ।”
यही शिविरमा बस्दै आएका रामकृष्ण र रमिता सुवाल दम्पतीको समस्या पनि उस्तै नै छ । शिविरमा बसेदेखि नै मानसिक तनाबका कारण बिरामी परेको रमिता बताउँछिन् ।
दसैंको कुनै तयारी नभएको बताउँदै सुवाल दम्पतीले ग्यास नहुँदा कहाँ पकाएर खाने भन्ने चिन्ता भएको बेलामा साँघुरो पालभित्र पाहुना बोलाएर दसैं मनाउन सक्ने अवस्था नभएको बतायाे ।
भूकम्पपीडित बस्दै आएका भक्तपुरका अधिकांश शिविरमा यस वर्ष दसैंको कुनै रौनक छैन । यस पालिको दसैं निकै खल्लो हुने शिविरका बासिन्दा बताउँछन् । रासस