newskoseli.Com

अनुदानको बीउमा मिसावट

सरकारले कृषकलाई उपलब्ध गराएको अनुदानको धानको बीउमा मिसावट हुँदा कृषक मारमा परेका छन् । राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको मकवानपुर–१ जातको बीउमा विभिन्न १६ किसिमको धान फलेपछि कृषक मर्कामा परेका हुन् । बीउमा मिसावट भएकै कारण थरिथरिका धान पसाउँदा धानको उत्पादन घट्ने भन्दै कृषकले क्षतिपूर्ति पाउनुपर्ने माग समेत राखेका छन् ।

बीउबिजन कम्पनीले जिल्लाका कृषकलाई ४० प्रतिशत अनुदानमा यस वर्ष ३५० टन मकवानपुर– १, राधा ४, राम धान र सावित्री जातको धान वितरण गरेको थियो । “उन्नत जातको बीउ भन्दै कम्पनीले हामीलाई ठग्यो,” पाताभार–१, बगहीपुरका रमेशकुमार वैद्यले भने ।

कम्पनीले जिल्लाका २८ सहकारी संस्थामार्फत बीउ वितरण गरेको थियो । राजापुर क्षेत्रमा रहेको बिहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्था पाताभार र हथियाबाबा कृषि सहकारी संस्था राजापुरले वितरण गरेको ४०० बोरा मकवानपुर–१ जातको धानमा मिसावट भएको पाइएको हो ।

कम्पनीबाट उपलब्ध भएको २२० बोरा बीउ बिहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारीले पाताभार गाविसका १७९ कृषकलाई वितरण गरेको थियो । मकवानपुर जातको धान भनेर लगाएको खेतमा विभिन्न जातका धानका बाला लागेको सो सहकारीका अध्यक्ष दयाराम वैद्यले बताउनुभयो । कृषकलाई सहजताका लागि वितरण गरे पनि सरकारी अनुदानको बीउ नै मिसावटयुक्त परेपछि दिनहुँ किसान क्षतिपूर्ति माग्दै कार्यालयमा आइरहेको उनको भनाइ छ ।

खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्था ‘फियान नेपाल’का अशोकबहादुर सिंहले अनुगमनका क्रममा दोलखा, धादिङ र बर्दियामा धानको बीउमा मिसावट भएको पाइएको बताए। “राजापुर क्षेत्रमा मकवानपुर–१ जातको धानमा तीनदेखि १५ प्रकारका बीउ मिसावट भएको पाइएको छ,” अनुगमन गरी फर्केका जिल्ला खाद्य अधिकार सञ्जालका सचिव जनकराम चौधरीले भने।

अनुदानमा दिएको बीउबारे कृषक तथा सहकारी संस्थाका पदाधिकारी गुनासो पोख्न दैनिक जिल्ला कृषि विकास कार्यालय धाउने गरेका छन् । राष्ट्रिय बीउबिजन कम्पनीका प्रतिनिधि कार्यालयको बैठकमा उपस्थित भएपछि मन्त्रालयलाई क्षतिपूर्तिका लागि प्रतिवेदनसहित अनुरोध गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख परसुराम रावतले बताए ।

राष्ट्रिय बीउबिजन कम्पनीको नेपालगन्जस्थित कार्यालय प्रमुख मेहन्दी हुसेनले केही मात्रामा बीउमा मिसावट भएको स्विकार गर्नुभयो । “उन्नत जातको बीउमा अली अली मिसावट त हुन्छ,” उनले भने।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर