newskoseli.Com

छिन्नमस्ता मन्दिरमा राष्ट्रपतिको पूजापाठ

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना गरिन् ।

सो अवसरमा राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद समेत ग्रहण गरिन् । मन्दिरको पूजापछि राष्ट्रपति भण्डारीले मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको १ हजार ८ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास गरिन् ।

चैत १६ देखि महायज्ञ सुरु हुने रुद्रमहायज्ञ समितिले जनाएको छ । पूजापछि छिन्नमस्ता मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले धार्मिक, सांस्कृतिक र जातीय विविधताले भरिपूर्ण नेपालका प्रत्येक नागरिक कुनै पनि भेदभाव नराखी शान्ति एवम् मानवकल्याणमा लाग्नुपर्ने बताइन् ।

उनले दुई दशकदेखि मुलुकमा विद्यमान अस्थिरता, भेदभाव र द्वन्द्वले कसैलाई हित नहुने हुँदा त्यसलाई त्यागी सबैले विकासको बाटो अपनाउनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले मन्दिरमा आफूले देशमा शान्ति र सबैको कल्याणको कामना गर्दै आराधना गरेको जानकारी दिइन् ।

“छिन्नमस्ता भगवती मन्दिरको आफ्नै ऐतिहासिक तथा पौराणिक महत्व छ, यसको विकासका लागि स्थानीय निकाय र सरकारले यथाशीघ्र पहल गर्नुपर्छ” उनले भनिन् । समारोहमा मन्दिरका पीठाधीश ठाकुर र छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले राष्ट्रपतिको स्वागत गर्दै अभिनन्दनपत्र पनि चढाए ।

विश्वका शक्तिपीठमध्ये ५२औं शक्तिपीठका रुपमा रहेको छिन्नमस्ता मन्दिरलाई सरकारले २०६५ सालमा शक्तिपीठ घोषणा गरेको पीठाधीश ठाकुरले जानकारी दिए । वि.सं. २०६५ मा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकाे उपस्थितिमा पूर्वाञ्चलको १६ जिल्लाका विविध सम्मेलनमा जगतगुरु बालसन्तले छिन्नमस्ता भगवती मन्दिरलाई शक्तिपीठ घोषणा गरेका थिए ।

पीठाधीश ठाकुरका अनुसार करिव एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्गलमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गरेकामा २०३९ मा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज यात्रामा दुर्घटनाबाट जोगिएको खुसियालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाइदिएका थिए ।

मन्दिरअन्तर्गत १४ बिघा जमिन छ । मन्दिर परिसरमा पोखरी र विभिन्न देवीदेवताका मन्दिर समेत निर्माण गरिएका छन् । मन्दिरमा दर्शन गरेपछि भाकल पूरा हुने जनविश्वास छ । मासिक रुपमा नेपाल र भारतका हजारौं भक्तजन दर्शन र पूजापाठ गर्न यहाँ आउने गरेका छन् । यहाँ दैनिक खसीबोका र परेवाको बलि दिने गरिँदै आएको छ । –रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर