newskoseli.Com

धान काट्न छाडेर धमाधम डकर्मी तालिम…

कात्तिक महिना सुरु भएसँगै ग्रामीण क्षेत्रमा धान काट्ने र थन्क्याउने चटाराे परेको छ तर गुम्दीका पूर्णसिंह तामाङ भने धान काट्न छाडेर तीन घन्टा टाढा डकर्मी तालिम लिनमा व्यस्त छन् ।

गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पले गाउँ नै सखाप पारेको गुम्दीका तामाङ भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम लिन फूलखर्क आएका हुन् । तामाङ गाउँघरमा युवा नभएकाले आफ्नो घर आफैंले बनाउन सकिन्छ कि भन्ने उद्देश्यले तालिम लिन आएको बताउँछन् । उनी भन्छन्– “घरमा धान काट्ने खेताला खोजेर डकर्मी तालिम लिन आएको हुँ ।”

भूकम्पको १८ महिनासम्म घर नबनाई छाप्रामा बसेका धादिङका मानिस अहिले भूकम्प प्रतिरोधी घर निर्माणको तालिम लिन व्यस्त छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको सहयोगमा धादिङका २० गाउँ विकास समितिमा हुने कार्यक्रम चार चरणमा १० दिनका दरले सञ्चालन गरिँदैछ ।

बसेरीका मिस्टर ढकाल भूकम्प अगाडि यस्तो तालिम पाएको भए यति ठूलो क्षति नहुने बताउँछन् र ढिलै भए पनि धेरै कुरा सिक्न पाएकामा सन्तोष मान्छन् । उनी भन्छन्– “जग कति मिटर खन्ने, कत्रो गारो लगाउने, कति फिटमा झ्याल राख्ने भन्ने कुरा तालिमबाट सिकेका छौं ।”

केन्द्रले जापानको गैरसरकारी संस्था आम्दा–माइन्डको सहयोगमा धादिङको फूलखर्क, मूलपानी, गुम्दी, री, सल्यानटार, त्रिपुरेश्वर, आगिञ्चोक, बसेरी, सल्यानकोट, बुढाथोक, सेर्तुङ, लापा, तिलिङ, झार्लाङ, दार्खा, सतीदेवी, धुवाकोट, कटुञ्जे, सेमजोङ र मापार्कका जनतालाई तालिम दिएको हो । केन्द्रका कोषाध्यक्ष सीताराम केसी दुःखी जनताको घाउमा मल्हम लगाउन केन्द्रले देशका विभिन्न भागका भूकम्पपीडित जनतालाई तालिम तथा सहयोग गर्दै आएको बताउँछन् । उनी भन्छन्– “केन्द्रले विभिन्न संस्थासँग सहकार्य गरेर पुनर्निर्माणमा सघाइआएको छ ।”

केन्द्रले धादिङका २० गाविसमा ४५ जनाका दरले ९ सयलाई तालिम दिएको हो । सरकारले भूकम्प प्रतिरोधी घर निर्माणका लागि ५० हजार रूपैयाँ उपलब्ध गराएपछि उनीहरु घर निर्माणमा लागेका हुन् । आम्दा–माइन्डका कार्यक्रम व्यवस्थापक खाइको ओकुदाले आफ्नो संस्थाले स्वास्थ्य क्षेत्रको विकासका लागि काम गरे पनि वैशाखमा भूकम्प गएपछि पुनर्निर्माणको क्षेत्रमा काम गरेको बताए । उनले भने– “नेपाली जनताको पुनर्निर्माणमा विशिष्ट क्षमता पाएँ , म यसलाई निरन्तरता दिन आग्रह गर्दछु ।”

छ वर्षदेखि नेपालमा काम गर्दे आइरहेको माइन्डले काभ्रेपलाञ्चोकको खार्पाचोक, वालिङ र सिपालीमा पुनर्निर्माणका साथै रुपन्देहीमा ५१ शय्याको सिद्धार्थ महिला तथा बालबालिका अस्पताल निर्माण गरेर सेवा गर्दै आइरहेको छ । तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जापानी संस्थाले नेपालको पुनर्निर्माणमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले भने– “सिकेका सिपलाई देशको जुनसुकै क्षेत्रमा निर्माणको कार्यमा प्रयोग गर्न सकिन्छ ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर