भूकम्पले जीर्ण बनेको मुस्ताङको लोमान्थाङ दरबारको पुनःनिर्माण गरिएको छ ।
भूकम्पका कारण दरबारको पूर्वतर्फको भाग चिरा परेको थियो । तलदेखि नै चिरा परेको दरबारलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रभावितको सूचीमा राखेर पुनःनिर्माणका लागि पुरातत्व विभागमा सिफारिस गरे पनि बजेट आउन ढिलाइ भएका कारण स्थानीयवासीकै अग्रसरतामा पुनःनिर्माण गरिएको हो ।
१५ औँ शताब्दीतिर माटोको प्रयोगले विशेष प्रकारले निर्माण गरिएको दरबारको चिरा परेको भागबाट नजिकै रहेको घर र गुम्बा समेत जोखिममा परेपछि स्थानीयबासिन्दाले पुनःनिर्माण गरेको लोमान्थाङका इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, दरबारको जीर्ण भागलाई भत्काएर काठ र माटो प्रयोग गरी तत्काललाई जोखिम टार्ने काम गरिएको छ । उपल्लो मुस्ताङको धरोहर र पर्यटकीय गन्तव्यको रुपमा परिचित लोमान्थाङ दरबार अहिलेसम्म पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टकै नाममा छ ।
देशको ऐतिहासिक सम्पदा भए पनि व्यक्तिको नाममा रहेको दरबारको पुनःनिर्माणका विषयमा सरकारी अधिकारीबीच नै विभेद उत्पन्न हुने गरेको छ । दरबार पुनःनिर्माण गर्न लोमान्थाङका एक दर्जनभन्दा बढी युवा एक हप्तासम्म खटेको लामो समयदेखि दरबार निकट रहेर काम गरेका विष्टले जानकारी दिनुभयो । “सरकारले बजेट दिन ढिला ग¥यो, जोखिम पनि बढ्दै गयो, त्यसैले हामीले नै यसको मर्मत गरेका हौँ” विष्टले भन्नुभयो “यसमा व्यक्तिगत रुपमा जर्मनी साथीले पनि केही रकम सहयोग गर्नुभएको छ ।”
दरबार भत्किने अवस्थामा पुगेपछि स्थानीयवासीले पूर्व राजपरिवारलाई तत्काल दरबार मर्मत गर्न माग गरेका थिए । पूर्वराजा जिग्मे भने दम र सुगरबाट पीडित बनेपछि अहिले परिवारसहित राजधानीमा बस्दै आएका छन् । माटोले निर्मित दरबारसँगै अन्य गुम्बा पनि जीर्ण बन्दै गएपछि सरकारले सबै क्षेत्रको अध्ययन गरेर पुनःनिर्माणको योजना बनाएको बताइएको छ ।