newskoseli.Com

राजतन्त्र निलम्बित भएजस्तो मात्र अवस्था हो

पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको टीकाका दिन विज्ञप्ति प्रकाशित गरेर दलहरुलाई ‘चेतावनी’ दिने शैलीमा ‘राजनीतिक अभीष्ट’ को झल्को दिए । यसको तरंग सेलाउन नपाउँदै पशुपति क्षेत्रको वनकालीमा आयोजित हिन्दू सम्मेलनलाई सम्बोधन गर्दै उनले दलहरुलाई थप ‘चेतावनी’ दिए । ज्ञानेन्द्र शाहले फेरि तिहारको भाइटीकापछि दिदीको निवासमा सीमित सञ्चारकर्मीसँग बोल्दै यी दुवै चेतावनीप्रति दलहरुले बेवास्ता गरेको दुःखेसो समेत पोखे ।

। ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिहरुको अर्थ खोतल्ने प्रयासका रुपमा र समाज र राजनीतिका सबै पक्ष र विचारधारा मान्नेहरुका अवस्था, भनाइ, प्रयत्न के–कस्ता छन् भन्ने कुरा जान्न पाउनु नागरिकको अधिकार हो भन्ने तथ्यलाई मनन गर्दै हामीले यहाँ प्रस्तुत गरेका छौं– राजतन्त्रको पुनर्स्थापना गर्ने मूल ध्येयले स्थापना गरिएको भनिने संगठन ‘शाही युवाशक्ति, नेपाल’ का अध्यक्ष पशुपति खड्कासँगको कुराकानी । –सम्पादक ।

नेपालमा यति धेरै राजनीतिक संघ–संस्था हुँदाहुँदै तपाईंहरुले फेरि अर्को राजनीतिक संगठन गठन गर्नुको उद्देश्य के हो ?

स्पस्टै छ, राजतन्त्रको पुनर्स्थापना गर्नु ।

‘यो हामीलाई चाहिँदैन’ भन्दै जनताले ठूलो मूल्य चुकाएर ढालिसकेको राजतन्त्र फेरि फर्काउने कुरा सम्भव छ र ?

नेताहरूले संविधानसभाबाट राजा र राजतन्त्र हटायौं भने पनि, नेपाली जनताको मनमनमा अझै राजा छ । अहिले पनि विभिन्न ठाउँमा भएका राजाका भ्रमणमा जनताले गरेको जयजयकार देख्दा देशमा श्री ५ ज्ञानेन्द्रकै शासन छ जस्तो अनुभूति हुन्छ । त्यकारण नेपालमा राजतन्त्र सधैंका लागि रहन्छ । अहिले त केही समयका लागि राजतन्त्र निलम्बित भएको जस्तो अवस्था मात्र हो । देशका लागि राजतन्त्र आवश्यक छ र चाँडोभन्दा चाँडो पुनर्स्थापना हुनैपर्छ ।

बीसौं हजार जनताको बलिदानले ल्याएको गणतन्त्रप्रति तपाईंहरूको किन यत्तिको दुस्मनी ?

जनताले राजतन्त्र फालेर गणतन्त्र ल्याएका होइनन्, विदेशीहरूको ग्र्याण्ड डिजाइनमा नेपालका केही नेताहरू मिलेर राजतन्त्र फालिएको हो । ०६२–६३ को १९ दिने आन्दोलनमा जनताले राजसंस्थाको होइन, ‘निरंकुश राजतन्त्र’ को मात्र विरोध गरेका थिए । त्यो आन्दोलनमा त राजा र प्रजा मिलेर देश चलाउनुपर्छ भन्ने थियो र त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । त्यो आन्दोलनमा कांग्रेसको एउटै मात्र माग थियो– विघटित प्रतिनिधिसभाको पुनर्स्थापना । त्यसकारण विदेशी शक्ति र स्वदेशी नेतहरू मिलेर जनतालाई झुक्याएर ल्याइएको हो गणतन्त्रात्मक व्यवस्था । नेपालको गणतन्त्र त घोषणा हुँदा नै मरेको अपरिपक्व गणतन्त्र हो किनभने नेपालमा गणतन्त्र घोषणा हुँदा राजा गद्दीमै थिए । विश्भर हेर्नुभयो भने पनि गणतन्त्र घोषणा गर्नुअघि त्यस देशका राजालाई कि त देशनिकाला गरिएको छ कि फाँसी दिइएको छ । नेपालको गणतन्त्र त राजाको सहमतिमा ल्याइएको व्यवस्था हो ।

राजा फर्काउनेबाहेक अरु केही छैनन् त तपाईंको संगठनका कार्यक्रम ?

हामीले आफ्नो मुख्य नारा नै ‘युवाहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि शाही युवाशक्ति’ भन्ने बनाएका छौं । क्षमता भएका व्यक्तिले पनि काम नपाउँदा र युवाहरूलाई पार्टी नेताहरूले सत्तामा पुग्ने भर्याङका रूपमा प्रयोग गरेका कारण दैनिक हजारौं युवा विदेशिन बाध्य भएका छन्, त्यसको अन्त्य हुनुपर्छ । नेपालका युवाहरू स्वदेशमै बसेर राष्ट्रनिर्माणमा लाग्नुपर्छ, त्यसका लागि सुशासन चाहिन्छ । राजसंस्थाले मात्र सुशासन गर्न सक्छ । हिजो नालायकहरूको घेरामा परेर राजसंस्था फस्यो तर अब क्षमतावान् युवाशक्तिको घेरामा राजसंस्था स्थापना हुनुपर्छ भन्ने उद्दश्यले शाही युवाशक्ति नेपालको स्थापना भएको हो ।

नयाँ संविधान समेतबाट संस्थागत भइसकेको संघीय लोकतान्त्रिक गणतन्त्र फालेर फेरि राजतन्त्रात्मक व्यवस्था फर्काउन कसरी सम्भव छ ? त्यसका लागि पनि त जनतामा जानुपर्ला, के भनेर जानुहुन्छ जनतामा ?

हाम्रो संगठनले निरन्तर रुपमा जनतामा जाने, उनीहरूका विकास र आन्तरिक समस्याका कामहरूमा सहयोग गर्ने काम गरिरहेको छ । व्यवस्था फेर्नका निम्ति सडक–संघर्षको तयारीका लागि हामीले युवाहरूको दस्ता तयार गरिरहेका छौं किनकि हरेक राजनीतिक व्यवस्था सडक–संघर्षबाटै फेरिएका छन् । हामी ‘युथ रिभोल्युसन’ को तयारी गर्दैछौं । हामीजस्ता युवाहरूले चाहेको खण्डमा असम्भव केही छैन, लड्न र मर्न तयार हुनुपर्छ ।

pashupati-khadkaहोइन, हिजो राजसंस्था फाल्न लडेका युवाहरू फेरि राजतन्त्रै फर्काउन लड्लान भन्ने विश्वासमा हुनुहुन्छ तपाईंहरु ?

विदेशीका विचारका लागि त लड्न र मर्न तयार भएका नेपाली युवाहरू आफ्नै देशको राजसंस्था फर्काउन किन लड्दैनन् ? देश बन्छ भन्ने विश्वास युवाहरूमा दिलाउन सक्नुपर्छ, हामी त्यही अभियानमा छौं ।

विगतदेखि अहिलेसम्म पूर्वराजाका परिपरि रहेका तिनै पात्रहरूले अबको नेपालको नेतृत्व गर्न सक्छन् भनेर कसले पत्याउँछ ?

जनताकै लागि भनेर त्यति ठूलो विरासत बोकेको राजगद्दी त्याग्न सक्ने जुन क्षमता ज्ञानेन्द्र शाहमा देखियो, त्यो सानो कुरा होइन । एउटा कुर्सीका लागि आज नेताहरू कति धेरै लुछाचुँडी गरिरहेका छन् ? सबैले देखेकै छैनन् र ! नेपालको सन्दर्भमा राजासँग जनताका लागि जस्तोसुकै त्याग गर्न सक्ने क्षमता छ । पारसको बाहिर जे–जस्तो बदनाम भएको छ, खासमा कुरा त्यस्तो होइन । मैले उहाँसँग भेटेर कुरा गर्दा उहाँ धेरै राष्ट्रप्रेमी हुनुहुन्छ । उहाँले अब आफू देशको राजा नबन्ने घोषणा पनि गरिसक्नु भएको छ र देशको नेतृत्व युवाशक्तिले लिनुपर्छ भन्ने उहाँको धारणा छ । देशको प्रमुख राजा हुनुपर्छ र जनताबाट प्रत्यक्ष निर्वाचित जनताको छोरो प्रधानमन्त्री बन्नुपर्छ हाम्रो मान्यता हो । राजा र जनता मिलेर देशको नेतृत्व गर्नुपर्छ ।

नयाँ संविधानबारे चाहिँ तपाईंहरूको खास धारणा के हो ?

यो संविधान जारी भएको दिनलाई हामीले ‘कालो दिन’ का रूपमा मनायौं । यो संविधान देश र जनताको हितमा छैन । संविधान भनेको देश चलाउने नीति हो, संविधानले देशका सबै शक्तिलाई समेट्नुपर्नेमा त्यसो हुन सकेको छैन । यसले देशलाई विखण्डनतर्फ लैजान्छ । यो त संविधान नै होइन, केही पार्टीहरूको घोषणापत्र मात्र हो । हामीलाई यो संविधान स्वीकार्य छैन ।

लोकतान्त्रिक गणतन्त्र चाहिँ खराब अनि निरंकुश राजतन्त्र चाहिँ असल भन्ने तपाईंको तर्क सुन्दा जनता हाँस्लान् भन्ने लाग्दैन ?

राजतन्त्रलाई निरंकुश भनेर गलत प्रचारबाजी गरियो । खासमा राजाले त सीमित अधिकार मात्रै आफूसँग राखेर धेरैजसो अधिकार प्रतिनिधिसभा र मन्त्रीपरिषद्लाई नै दिएका थिए नि । ती त सबै जनताकै छोरा थिए । यसरी हेर्दा नेपालको राजतन्त्र लोकतान्त्रिक नै थियो, जनताप्रति उत्तरदायी थियो ।

राजतन्त्र ढाल्न विदेशी शक्ति लागे भन्नुभयो, राजतन्त्र जनविरोधी भएकाले नै ती शक्तिहरु पनि त्यसलाई ढाल्न लागिपरेका होलान् नि त ?

त्यो कुरा गलत हो । विषेशगरी अमेरिका, बेलायत र भारत नेपाललाई आफ्नो गुलाम बनाउन चाहन्थे तर नेपालको राजसंस्थाले त्यो कुरा स्वीकार गरेन । त्यसैकारण उनीहरू राजतन्त्र ढालेर कमजोर र गुलाम बनाउन सकिने सत्ता स्थापना गर्न लागिपरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर