newskoseli.Com

किसानलाई १० मेट्रिक टन बीउ वितरण

जिल्ला कृषि विकास कार्यालयले किसानलाई १० मेट्रिक टन आलुको बीउ वितरण गरेको छ । धान र कोदो थन्क्याइसकेपछि खेतबारीमा हिउँदे खेतीका रुपमा लगाउने आलुको बीउ वितरण गरेको हो । जिल्लाका विभिन्न गाविसका किसानलाई ढुवानी अनुदानमा बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

स्याङ्जाको गल्याङ क्षेत्रमा उत्पादित आलु बुटवलबाट ढुवानी अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । उनीहरुलाई प्रतिकिलो  ६० रूपैयाँका दरले जनक जातको बीउ वितरण गरिएको हो ।

जिल्लाका पाङ, खुर्कोट, नाङ्लीवाङ, धाइरिङ, कटुवाचौपारी, ठूलीपोखरी, पिपलठारी, खौलालाकुरी, फलेवास क्षेत्र, बर्राचौर, हुवास, त्रिवेणीलगायत गाविसमा हिउँदे आलुको खेती हुँदै आएको छ । जिल्लाका बनौ, सालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्क, भोक्सिङलगायत गाविसमा बर्खे आलु उत्पादन हुन्छ ।

जिल्लामा १ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा २३ हजार २ सय ५० मेट्रिक टन आलु उत्पादन भएको अधिकृत रेग्मीले बताए । गत वर्षको खडेरीका कारण आलु उत्पादनमा ठूलो मात्रामा कमी आएको थियो । सालिजा, लेखफाँट, बनौ, क्याङलगायत गाविसमा उत्पादित आलु प्रतिकिलो  ४० रूपैयाँ देखि ५० रूपैयाँमा बिक्री भएको सालिजाका किसान प्रताप पुनले बताए ।

“बजारमा माग अत्यधिक छ, मागअनुसार पुर्‍याउन सकिएको छैन,” उनले भने । यहाँ उत्पादित आलु पोखरा, काठमाडौं, नारायणगढसम्म बिक्री गरिँदै आएको छ । सो क्षेत्रका किसानको मुख्य बाली आलु हो । उनीहरुले वार्षिक १ लाख रूपैयाँदेखि ५ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर