newskoseli.Com

एमाओवादी विघटित हुँदै, ‘नयाँ माओवादी’ जन्मँदै

अबकाे केही दिनभित्रै एकीकृत नेकपा (माओवादी), वैद्य माअाेवादीबाट महासचिव रामबहादुर थापाकाे नेतृत्वमा बन्न लागेकाे विभाजित क्रान्तिकारी माअाेवादी, मातृका यादव नेतृत्वकाे नेकपा (माअाेवादी) र मणि थापा नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे विघटन भर्इ ‘नयाँ माअाेवादी’ पार्टीकाे जन्म हुने भएकाे छ ।

एमाओवादीको उच्च स्रोतले न्युजकोसेलीलाई दिएको जानकारीअनुसार केही दिनदेखि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन तथा टोपबहादुर रायमाझीसहितको पदाधिकारी टोली र रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य तथा कुलप्रसाद केसीसहितको टोलीबीच लगातार संयुक्त बैठक चलिरहेको छ । एकता प्रक्रियालाई कसरी टुङ्गोमा पुर्याउने भन्नेबारेको छलफलमा संयुक्त बैठक केन्द्रित रहेको छ ।

आइतबार साँझ अबेरसम्म पनि एमाओवादी र वैद्य माओवादी शीर्ष नेताहरुका उक्त दुई टोलीसहित मातृकाप्रसाद यादव, मणि थापा तथा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका ४ केन्द्रीय सदस्यसहितको संयुक्त बैठक चल्यो ।

बैठकमा वैद्य माओवादीका महासचिव रामबहादुर थापाले आफ्नो आह्वानमा वैशाख २८ गते केन्द्रीय समितिको बैठक बस्ने र त्यस बैठकबाट उठ्दा आफू पक्षधर सबै केन्द्रीय नेताहरु एकताबद्ध नयाँ माओवादीका नेतामा बदलिएर मात्रै घर फर्कने, कुनै हालतमा पनि पुरानै पार्टीमा नफर्कने बताए ।

चार माओवादी विघटन हुने, नयाँ माओवादी जन्मने

स्रोतले दिएको जानकारीअनुसार आइतबारको संयुक्त बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीलगायत एकता प्रक्रियामा सामेल हुने सबै माओवादी घटकहरुलाई विघटन गरेर नयाँ नामसहित एकताबद्ध नयाँ पार्टी गठन गर्ने प्रस्ताव राखेका थिए ।

सोहीअनुसार एमाओवादी, वैद्य माओवादीको थापा पक्ष, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, चन्द माओवादीका ४ केन्द्रीय सदस्य र केही अघिदेखि निष्कृय बसेका माओवादी नेता कुमार दाहाललगायत सम्मिलित भएर जेठको पहिलो हप्ताभित्रै नयाँ माओवादी पार्टीको जन्म हुन भएको छ ।

नीति र नेतृत्व टुङ्ग्याउन दुईवटा कमिटी

एकतापछि पार्टीको मार्गनिर्देशक सिद्धान्त, रणनीति, कार्यनीति, योजना र कार्यक्रम के–कस्तो हुने भन्नेबारे निर्क्यौल गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वैद्य माओवादीका महासचिव रामबहादुर थापालगायतका नेताहरु सम्मिलित संयुक्त कमिटी गठन गरिएको छ ।

त्यसैगरी एकतापछि कुन–कुन नेताको के–कस्तो वरिष्ठताक्रम, जिम्मेवारी र भूमिका हुने भन्नेबारेको सङ्गठनात्मक विषय टुङ्ग्याउन एमाओवादी महासचिव कृष्णबहादुर महरा र वैद्य माओवादीका सचिव देव गुरुङसहितका नेताहरु सम्मिलित अर्को कमिटी गठन गरिएको छ ।

केही अघि अध्यक्ष मोहन वैद्यले स्थगित गरिदिएको क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक सुचारु नगरिएको भन्दै महासचिव रामबहादुर थापाले वैशाख २८ गते पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

महासचिव थापाले सबै केन्द्रीय सदस्यहरुलाई व्यक्ति–व्यक्ति लाई सम्बोधन गर्दै छुट्टाछुट्टै पत्र पठाएर सो बैठकमा सहभागी हुन निमन्त्रणा गरिसकेका छन् । थापाले यसरी बैठक बोलाएपछि त्यो बैठकमा नजानू भन्दै अध्यक्ष मोहन वैद्यले सबै केन्द्रीय सदस्यहरुलाई पठाएको ‘सर्कुलर’ सार्वजनिक भइसकेको छ ।

वैशाख २८ गतेकाे बैठकमा महासचिव थापा पक्षधरहरूले केन्द्रीय समितिकाे बैठक बाेलाउन नमानेकाे र एकताविराेधी भन्दै अध्यक्ष माेहन वैद्यलार्इ ‘कारबाही’ गरेर पार्टीबाट ‘निलम्बन’ गर्ने तयारी गरेका छन् । र, यसरी साेही दिनदेखि वैद्य माओवादी विधिवत रुपमै विभाजित हुन पुग्ने र एमाओवादीसहितका माओवादी घटकहरुबीच एकता प्रक्रियाको व्यावहारिक सुरुआत हुने भएको छ ।

वैद्य–गजुरेल, चन्द–अाेली ध्रुवीकरणकाे प्रयत्न

उता, केही अघि एमाअाेवादी छाडेका हेमन्तप्रकाश अाेलीलगायतकाे एक समूहले वैद्य माअाेवादीका अध्यक्ष माेहन वैद्य तथा उपाध्यक्ष सीपी गजुरेलसहितलार्इ ‘कन्भिन्स’ गरेर उनीहरू तथा नेत्रविक्रम चन्द नेतृत्वकाे माअाेवादीबीच ध्रुवीकरण गरार्इ अाफू पनि साेही धारकाे शक्तिशाली नेता बन्नेगरी प्रयत्न अघि बढाएकाे छ ।

 

र, यी सामग्री पनि पढ्नुहाेस्–

एमाअाेवादीमा थापा उपाध्यक्ष, गुरूङ-पम्फा सचिव बन्दै

अध्यक्षमाथि ‘कारबाही’ काे तयारीमा महासचिव थापा

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर