newskoseli.Com

नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रतिबद्धता

मोरक्कोको राजधानी माराकेचमा ४८ ओटा विकासोन्मुख राष्ट्रले आफूलाई आवश्यक पर्ने इन्धनको शत्प्रतिशत परिमाण नै नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दैै एक घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

मोरक्कोको राजधानी माराकेचमा आयोजित विश्व जलवायु परिवर्तन सम्मेलनको अन्तिम दिन ‘जलवायु परिवर्तनले पार्ने असर नियन्त्रण गर्ने’ विषयक मञ्च–क्लाइमेट भल्नरेबल फोरम (सिभिएफ) मा भएको एक उच्चस्तरीय बैठकमा यी देशले ठूलो परिमाणमा कार्वन र वातावरण विनाशमा सघाउ पुग्ने तत्व उत्सर्जन गर्ने उद्योग, परियोजनामा लगानी नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सुरुका ४३ ओटा सिभिएफ सदस्य राष्ट्रका अतिरिक्त अाइतबार थपिन आएका लेबनान, प्यालेस्टाइन, सामोआ, गाम्बिया र कोलम्बियासमेत अन्य ५ राष्ट्रले समर्थन गरी हस्ताक्षर गरिएको सो घोषणापत्र आ–आफ्ना मुलुकमा अति शीघ्र लागू गर्ने सहमतिसमेत भएको छ ।

साथै, नवीकरणीय ऊर्जा उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा रुपान्तरण, यातायातलगायत अन्य क्षेत्रमा क्षमता वृद्धि, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय योजना तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिज्ञा पनि व्यक्त गरेका छन् ।

अमेरिकी पूर्वउपराष्ट्रपति तथा वातावरण अभियन्ता अल गोरले ‘जलवायु परिवर्तनको कारण सङ्कटापन्न विश्वलाई राहत दिलाउन र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अति शीघ्र कार्यान्वयनमा ल्याउन ४८ राष्ट्रको यस साहसिक कदमले निश्चय नै सघाउ पुग्ने’ बताएका छन् ।

त्यस्तै, विश्व वातावरण बचाउन लागिपर्ने अन्तर्राष्ट्रिय संस्था ग्रिनपिस इन्टरनेसनलका कार्यकारी निर्देशक जेनिफर मोर्गानले ‘लगभग एउटा सिङ्गो रुसले जत्तिकै कार्बन र हरितगृह ग्यास उत्सर्जन गरी वातावरण प्रदूषण गर्ने ४८ राष्ट्रको यस्तो कदम निश्चय नै सराहनीय भएको’ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर