newskoseli.Com

स्कुलमै तालिम लिँदै ‘भविष्यका सैनिक’ !

कलिलो उमेरमा सैन्य तालिम लिइरहेकी त्रिभुवन त्रिशूली माविमा कक्षा ९ मा अध्ययनरत प्रियङ्का तामाङलाई आजभोलि बोल्न पनि फुर्सद छैन । हरेक बिहान दुई घन्टा सैन्य तालिम लिएलगत्तै उनी खाना खान कोलनीस्थित घर जान्छिन् र त्यसपछि नियमित पढाइका लागि विद्यालय आउँछिन् ।

तालिम कस्तो लाग्यो ? प्रश्नको उत्तर दिने रहर भए पनि उनलाई घर जान हतार भइसकेको थियो, छोटकरीमा भनिन्– “रमाइलो लागिरहेको छ ।”

नेपाली सेनाको राष्ट्रिय सेवा दल (नेसनल क्याडेट क्रोप्स) नेपालमा सहभागी प्रियङ्का भविष्यमा सेनामा जाने सोच भएको र अहिलेको तालिमले भर्ना प्रक्रियामा सहज हुने विश्वासमा छिन् तर उनीसँगै तालिम लिइरहेका कक्षा ८ का अब्राहम तामाङ भने भविष्यमा सेनामा गइन्छ वा यो तालिमले पूर्णतः सहयोग गर्छ भन्नेबारे त्यति थाहा नभएको बताउँछन् । भविष्य जे होला, अहिलेलाई शारीरिक व्यायाम र अनुशासित कलाबारे व्यावहारिक ज्ञान मिलेको उनी जनाउँछन् । स्थानीय पशुपतिप्रसाद गणका सैनिकले यहाँ तालिम सञ्चालन गरिरहेका छन् ।

सोही विद्यालयका अन्य विद्यार्थी र बटुवाले दर्शक बनेर खेल मैदानको तालिमलाई रुचिपूर्वक हेरिरहेका हुन्छन् । विद्यार्थी सैन्य पोसाकमा हुने भएकाले टाढाबाट हेर्दा तालिम विद्यार्थीका लागि होइन सेनाकै लागि दिइएको जस्तो देखिन्छ । तालिमका बीचमा लाग्ने खाजा, पोसाक लगायतको खर्च सेवा दलले व्यहोर्दै आएको छ । विद्यालयले उनीहरुलाई पोसाक परिवर्तन गर्ने र थकाइ मार्ने अलग्गै कोठा पनि प्रबन्ध गरेको छ ।

सेवा दलले हरेक वर्ष सञ्चालन गर्ने सो तालिम यस वर्ष मुलुकका ६३ जिल्लामा चलिरहेको छ । छानिएका विद्यालयका कक्षा ८ र ९ का छात्रछात्रा (१४ देखि १८ उमेरका) लाई वार्षिक १०० दिनको तालिम दिइँदै आएको छ ।

नुवाकोट जिल्लामा भने यस प्रकारको तालिम पहिलो पटक दिइएको हो । त्यसका लागि जिल्ला शिक्षा समितिबाट त्रित्रिमावि छानिएको हो । सो तालिममा हरेक जिल्लाका छानिएका विद्यालयका १८ छात्र र १८ छात्रा सहभागी हुन्छन् । तालिमले शारीरिक तथा मानसिक विकासमा मात्र नभएर उनीहरुमा रचनात्मक गुण अभिवृद्धि, सामाजिक परिवेशको महत्व, सामूहिक शक्तिको महत्व आदि गुणको विकासमा पनि मद्दत पुर्याउने मानिन्छ । तालिममा शारीरिकका साथै एरोबिक्स, तेक्वान्दो पिटी, मास पिटी, सैनिक ज्ञान, ड्रिल, खुकुरी ड्रिल, एफसी/बिसी, नक्सा अध्ययन, विपद् व्यवस्थापन र जुनियर डिभिजन तालिमको महत्वबारे सिकाइनेछ । तालिम गत साउन ५ गतेदेखि सुरु भएको हो ।

तालिममा ७९ दिन स्कुलको आफ्नो स्थानविशेषमा र संस्थागत तालिम लिन बाँकी २१ दिन सामूहिक वार्षिक शिविर हुने गरेको छ । त्रित्रिमाविका ती ३६ विद्यार्थी पनि अर्काे महिना चितवनको शक्तिखोरमा हुने शिविरमा जान तयार भइसकेका छन् । त्यसबीचमा उनीहरुको छुट्ने पढाइका लागि विद्यालयले अतिरिक्त व्यवस्था गरेको सहायक प्रअ राजेन्द्र दवाडीले बताए । उनले भने– “विद्यार्थीको रुचि अनुसार अभिभावकको सहमतिमा तालिममा पठाइएको छ, उनीहरुले नियमित अध्ययनलाई छाडेका हुँदैनन्, भविष्यमा सेनामा जाने वा नजाने उनीहरुको सोच र आवश्यकतामा भर पर्छ ।”

गणका हुद्दा फटकबहादुर कार्कीले तालिमबाट विद्यार्थीमा समूहमा मिलेर बस्ने भावनाको विकास हुनाका साथै नेतृत्व क्षमता, इमानदारी र बफादारी बढ्ने र आत्मबल विकास हुने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर