newskoseli.Com

उचित मूल्य नपाएपछि सुन्तला बोटमा नै बस्यो

सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् ।

साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो  १० रूपैयाँ र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो  ३५ रूपैयाँ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने ८० रूपैयाँ देखि  ९० रूपैयाँमा प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् ।

प्रतिकिलो ३५ रूपैयाँमा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् ।

तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै ५ करोड रूपैयाँभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हुँदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताए ।

मुझुङ गाविसबाट गत वर्ष ३३ लाख रूपैयाँ, छहरा गाविसबाट मात्र १ करोड रूपैयाँभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट १ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ ।

गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् । ३ सय बोटका सुन्तलाले कार्कीको बगैंचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । ५/७ वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ २ लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उनले बताए ।

अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित छन् । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन ।

छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर