newskoseli.Com

ओझेलमा रहेको एउटा उत्कृष्ट प्रतिभा

भलिबल काेच कुमार रार्इ
न्यु डाइमन्ड क्लवका भलिबल काेच कुमार रार्इ

हामी न्यू डाइमण्ड स्कूल पुग्दा स्कूलको बसभित्र बसेर विद्यार्थीका गृहकार्य कापी जाँचिरहेका थिए कुमार सर अर्थात् न्यू डाइमण्ड स्कूलका प्रिन्सिपल कुमार राई । हामीले केही समय बसभित्रै उनीसँग कुराकानी ग¥यौं । त्यसपछि उनले हामीलाई केही अप्ठेरो मान्दै आफ्नो कार्यकक्षमा लगे । उनको कार्यकक्ष सिल्ड नै सिल्डले भरिएर ३, ४ जना मान्छे अट्न पनि गाह्रो हुनेगरी निकै साँघुरो बनेको रहेछ । शायद त्यही नै अप्ठेरो मान्नुको कारण  हुनसक्छ भन्ने अनुमान लगायौं हामीले ।

कुमार सर सोही स्कूलबाट संचालित न्यू डाइमण्ड क्लबको भलिबल प्रशिक्षक पनि हुन् । विगत ९ वर्षदेखि यस क्लवमा उनले आफ्नै स्कूलमा पढेका छात्राहरूलाई भलिवल प्रशिक्षण दिँदै आएका छन् । यस क्लवबाट प्रशिक्षित छात्राहरू देशकै उत्कृष्ठ महिला भलिबल खोलाडीमा विकास हुनसकेका थुप्रै उदाहरण पाउन सकिन्छ । यसको पछिल्लो उदाहरण हुन्–एसियाकै चर्चित महिला भलिवल खेलाडी बन्न सफल प्रतिभा माली । अझ प्रतिभालाई एसियाकै उत्कृष्ट भलिवल खेलाडी बनाउने सपना छ कुमार सरको । जस्ताले छाएको भँुइतले विद्यालय र सोही विद्यालयअन्तरगत सामान्य तहको क्लव हेर्दा यस्तोमा पढेका र सिकेका विद्यार्थी पनि त्यस्तो उत्कृष्ठ खेलाडी बन्नसक्छन् र भन्ने लाग्नसक्छ । तर  यो सामान्य विद्यालय र सामान्य प्रशिक्षणशालाले असामान्य प्रतिभाहरूको विकास गराउँदै आएको छ । यसमा प्रमुख योगदान रहेको छ कुमार सरको । औसतभन्दा होचो कद भएका, झट्ट देख्दा सामान्य लाग्ने ४८ वर्षे कुमार सर यो देशकै एउटा उत्कृष्ट भलिवल प्रशिक्षक हुन् भन्ने बारेमा धेरैलाई जानकारी नहुनसक्छ । त्यसमाथि उनले यो देशमा युगौँदेखि कायम लैङ्गिक विभेदका कारण हरेक क्षेत्रमा अगाडि बढ्ने अवसरबाट वञ्चित  महिलाहरूलाई उत्कृष्ठ खेलाडीमा विकास गराउँदै आएको निकै महत्वपूर्ण पक्ष पनि उति सारो प्रचारमा आउन सकेको पाइँदैन ।

कुमार राईले न्यू डाइमण्ड क्लव भलिवल प्रशिक्षणशालाबाट यो ९ वर्षे अवधिभित्र एक दर्जनभन्दा बढी महिला भलिवल खेलाडी हुर्काई सकेकाछन् । तीमध्ये चर्चित भलिवल खेलाडी बन्न सफल  नाम हुन् – प्रतिभा माली रमिला तण्डुकार, रेश्मा भण्डारी र कृपा अधिकारी ।
कुमार राई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत नेपाली महिलालाई कुशल भलिवल खेलाडीको हैसियतमा चिनाउन  सफल प्रशिक्षक बनेका छन् । वास्तविकता थाहा नपाउनेलाई न्यू डाइमण्ड क्लबले यस्तो सफलता पाउन सक्नुमा मुख्य कारण कतैबाट मनग्गे  सुविधा र ठूलो लगानी प्राप्त गरेको होला भन्ने पनि लाग्नसक्छ । तर वास्तविकता त्यस्तो छैन । उनीबाट प्राप्त जानकारीअनुसार यो भलिवल प्रशिक्षण क्लव संचालनमा अन्य कसैको उल्लेखनीय सहयोग र भूमिका रहेको छैन । यो महिला भलिवल प्रशिक्षण संचालनकोे सोच उनी आफैले ल्याए र यसको सृजना पनि आफैले गरे ।  आफ्नै स्कूलका अन्य शिक्षकहरूको सामान्य सहयोग रहे तापनि पूर्ण रूपले यसको संचालन उनी एक्लैले नै गर्दै आएका छन् ।

स्कूलको अलिकति खालि ठाउँ छ, त्यो पनि विद्यार्थी धेरै उफ्रिएर धुलैधुलो भएको छ । त्यही खालि ठाउँमा एउटा भलिबल कोर्ट छ । बल खेल्ने साना नानीहरू छन् र दुई चारवटा भलिबल । स्रोत र साधनका रूपमा न्यू डाइमण्ड निकै गरिब देखिन्छ तर यससँग अरु क्लबमा नभएको एउटै मूल्यवान चिज हुन्– प्रशिक्षक कुमार सर ।  कोर्ट हेर्दा खेल्ने र हेर्ने कसैलाई पनि जाँगर नचल्ला जस्तो देखिन्छ । तर त्यही कोर्टबाट कुमार राई साना नानीहरूलाई बल खेलाउँछन् र उनीहरूलाई प्रतिभा र रमिला  जस्ता बनाउँछन् । इच्छाशक्ति, सीप र समर्पण भयो भने सफलता हासिल  गर्न कसैले रोक्न सक्दैन भन्ने कुराको एउटा ज्वलन्त उदाहरण बनेका छन् कुमार राई ।

भलिबल प्रहार गर्दै प्रतिभा मालि
भलिबल प्रहार गर्दै प्रतिभा मालि

उनको एउटा राम्रो भलिबल कोर्ट बनाउने रहर थियो तर कतैबाट सहयोग मिलेन । तर पनि कुमार सरले हिम्मत भने हारेका छैनन् । आफ्ना छात्रा भलिवल प्रशिक्षार्थीलाई ‘छोरी’ भनेर सम्बोधन गर्ने कुमार सर भन्छन् – ‘‘धेरैलाई भनेँ तर कसैले पनि यी मेरा छोरीहरूलाई खेल्ने भलिबल कोर्ट बनाउन सहयोग गरेनन् । अब यही धुलो मैदानबाट एसियालाई नै च्यालेन्ज गर्ने महिला भलिबल खेलाडी जन्माएरै छाड्छु ।’’ यसो भन्दै गर्दा उनमा दृढ आत्मविश्वास झल्केको अनुभव गर्न सकिन्थ्यो ।

प्रतिभा मालीलाई एसियाकै उत्कृष्ट खेलाडी बनाउने सपना छ कुमार सरको । त्यस्तै सपना देखेका थिए उनले रमिला तण्डुकारमाथि पनि जसलाई उनले पहिलो टिमको पहिलो दिनदेखि नै भलिबल सिकाएका थिए । तर राष्ट्रिय खेलाडी भैसकेकी रमिला १९ वर्षकै उमेरमा खेल्न छाडेर अमेरिका पलायन भएपछि उनको सपना बिचैमा तुहिएको थियो । उनैले सिकाएका अर्की राष्ट्रिय खेलाडी रेश्मा भण्डारी सशस्त्र प्रहरी क्लबमा कार्यरत छन् । खुसीको कुरा, अहिले माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्यान्पियनसिपमा प्रतिभा मालीले खेल्ने अवसर पाएकी छन् । यो लिगमा क्लबले दुईजना विदेशी खेलाडी खेलाउन पाउँछन् । प्रतिभाले यो लिगकै राम्रो प्रदर्शन गरेकी छिन् जो राष्ट्रकै लागि गौरवको बिषय बन्न पुगेको छ । कुमार भन्छन् – ‘‘रमिला निकै राम्रो खेलाडी थिइन् । उनको शट् निकै बेजोडको थियो । तर अहिले उमेरले भर्खर १५ वर्ष मात्र भएकी प्रतिभा रमिला भन्दा पनि राम्रो खेल्ने भैसकेकी छिन् । १९–२० वर्षको उमेरसम्ममा त उनी एसियाकै राम्रो महिला भलिवल खेलाडी बन्न सफल होलिन् भन्ने आशा जागेको छ ।’’

यति राम्रो भलिबल सिकाउने सीप कसरी सिके त कुमार राईले ? उनका अनुसार उनी सानैदेखि मोजाको भकुण्डो बनाएर खेल्थे । यस्तो भकुण्डो खेल्दा गाउँका कसैले पनि उनलाई जित्न सक्दैनथे । स्कूले जीवनमा धेरै बाजी जितेका राईलाई मोजाको भकुण्डोले पनि धेरै कुरा सिकाएको थियो  । उनी भन्छन्, ‘‘केही कुरा जन्मँदै लिएर आएको हुँदो रैछ मान्छेले । म उच्च स्तरको डाइभिङ् रोल गर्नसक्छु जुन मलाई कसैले सिकाएको होइन । डाइभिङ् रोल भनेको नभेटिने बल पनि लडेर उठाउनु हो । म नेटमुनि खसेको बल सर्भिस जोनबाट डाइभ हानेर उठाउनसक्थेँ । मेरा औंलाका कुनै नङ सद्दे छैनन् । यसले जति लडे पनि टाउको बचाउन सिकाउँछ ।’’

कुमार राईले चाइनिज कोचसँग ‘हाउ टु टिच्’ भन्ने लेभल वान र इन्डियामा निकै स्तरिय मानिने ‘लेभल टु’को ट्रेनिङ पनि गरेका छन् । अर्को कुरा, उनी आफू पनि होचो भएकाले अग्लाहरूलाई के के गरियो भने जित्न सकिन्छ भन्ने टेक्निकहरू प्रयोग गर्छन् । उनीसँग अग्ला र होचा दुबैलाई कसरी खेलाउने भन्ने राम्रो ज्ञान र अभ्यास छ । उनी स्कूल सकिएपछिको पुरै समय भलिबल सिकाउनमा लगाउँछन् । विवाह, व्रतवन्धलगायत कुनै पनि उत्सव वा समारोहमा उनी सहभागी बन्दैनन् । उनले स्कूलमा पढाउने भन्दा बाहेकको सवै समय आफ्ना छात्राहरूलाई निरन्तर भलिवल प्रशिक्षण दिँदैमा व्यतीत गर्छन् । यस्तो निरन्तरको क्रियाशीलता नै कुमार राईको सफलताको सुत्र हो ।

कुमार राई यो प्रशिक्षण संचालनका लागि प्रेरक बनेको विगत सम्झन्छन् – एकदिन एकजना अभिभावकले, ‘‘सरहरूले मात्र खेलेर के गर्नु बरु विद्यार्थीलाई टीम बनाएर खेलाए भोलि केही होला कि’’ भन्ने सुझाव दिए । त्यतिबेला उनी ब्राइट फ्युचर स्कूलका अंग्रेजी शिक्षक थिए । त्यो कुराले उनलाई निकै गहिरो गरी छोयो । त्यसपछि उनले पुरुष र महिला भलिबल टीम बनाएर सिकाउन थाले । उनले सिकाएको टीम उपत्यकामा गेम आयोजना हुँदा त्यतिबेलै पहिलो–दोस्रो हुने टीम बनेको थियो । तर साथीहरूसँग कुरा नमिलेपछि उनले ब्राइट फ्युचर छाडेर २०६२ सालमा न्यू डाइमण्ड स्कूल स्थापना गरे र पुनः भलिबल खेलाउन थाले । शुरुमा उनले पुरुषहरूको टीम बनाए । त्यो सोचे जस्तो नभए पछि वि.सं.२०६४ जेठ ५ गतेबाट महिला भलिबल टीम बनाएर खेलाउन थाले । त्यो टीमले उपत्यकामा ०६५ सालबाटै जित्न थाल्यो । त्यसपछि उनी एकजना कुशल भलिबल कोचको हैसियतमा चिनिन थाले ।

अहिले पनि अण्डर नाइन्टिनको गेम गर्ने हो भने दक्षिण एसियालाई राम्रैसँग जित्न सकिने उनमा विश्वास रहेको छ । ‘‘हामीसँग भएका सबै खेलाडी अन्डर नाइन्टिनका भएकाले सिंगो एसियामै तहल्का मच्चाउन सकिन्थ्यो । तर यस्ता टुर्नामेण्टहरुमा भाग लिन पहिला आफैले खर्च गरेर जानुपर्ने र सरकारले आर्थिक सहयोग नगरेकाले यो अवसर पाउन नसकेको उनी बताउँछन् ।

नेपाली महिला भलिबललाई एसियन च्याम्पियन बनाउने कुमार राईको सपना छ । उनी भन्छन्, ‘‘हाम्रा खेलाडीले चीन र जापानका खेलाडीलाई जित्नुपर्छ । किनभने हामीसँग भएको ज्ञान र सीप जापान र चीनका कोचकोे भन्दा एक रति पनि कम छैन ।’’

कुमार राईले उत्कृष्ट महिला भलिवल खेलाडीको विकास गरेर अन्तर्राट्रिय जगतमा नेपालको नामलाई उच्च राख्न योगदान गरेको मात्र नभै महिलालाई निरीह ठान्ने लैङ्गिक विभेदकारीहरूलाई नै चुनौति दिएका छन् र खेल जगतमा पुरुषभन्दा पनि महिला अगाडि बढ्न सक्छन् भन्ने प्रमाणित गरिदिएका छन् । कुमार सरको यो योगदान यो देशका निम्ति ज्यादै गौरवको बिषय हो ।

तर दुखको कुरा, देशका लागि यति ठूलो योगदान गर्ने  कुमार राईलाई राष्ट्रिय कोचसम्म बनाइएको छैन । आन्तरिक प्रतिस्पर्धा हुँदा पहिलो हुने क्लबको कोचलाई राष्ट्रिय कोचको टिममा अनिवार्य रुपमा राख्नुपर्ने अन्तर्राष्ट्रिय नियम छ । तर उनलाई यो अवसर दिइएको छैन । आफुले कुनै राजनीतिक दलको सदस्यता नलिनु र कुनै पनि नेताहरूलाई रिझाउने प्रयास नगर्नु नै यस्तो नगर्नुको कारण हुनसक्ने बताउँछन् कुमार राई ।

राष्ट्रको लागि केही गर्ने सपना र क्षमता भएका कुमार राई जस्ता थुप्रै व्यक्तिहरूलाई उचित कदर नहँुदासम्म समृद्ध र सफल देश बन्नसक्दैन । यस्ता विषयहरूमा सिंहदरवार बदल्न भनेर जानेहरूले  ध्यान देलान् कि भन्ने आशा थियो । तर सिंहदवारले नै उनीहरूलाई बदलेपछि जनताले नयाँ बाटो खोज्नुपर्ने बेला आएको छ । ëëë

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर