newskoseli.Com

देशभर लाेडसेडिङ नगर्ने तयारी, पुस १७ देखि थप विद्युत् आयात हुँदै

सरकारले पुस १७ देखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभीभीएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो ।

मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न र काठमाडौं उपत्यकालाई विद्युतभार कटौतीमुक्त गरिएको घोषणालाई निरन्तरता दिन समेत थप विद्युत् आयातबाट सहज हुनेछ ।

भारतले उपलब्ध गराउने थप विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिनेछ । सो अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत मुजफ्फरपुरमा थप १ सय एमभीएको ट्रान्सफर्मर जडान कार्य मङ्सिर २८ देखि ३० सम्म २ दिन लगाएर सम्पन्न भइसकेको छ । अन्तरदेशीय प्रसारणलाइनलाई १ सय ३२ केभी क्षमताका ब्याट्री चार्ज गरिसकिएको छ ।

भारतबाट हाल सोही प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सम्झौताअनुसार २०१७ जनवरी १ देखि पहिलो चरणमा थप ४० मेगावाट विद्युत् आयात हुनेछ भने फ्रेबुअरी १ देखि थप ४० मेगावाट गरी कुल १ सय ६० मेगावाट विद्युत् आयात गरिनेछ ।

उक्त विद्युतको खरिददर प्रतियुनिट भारतीय मुद्रा ३.६६ रहनेछ । सो विद्युतको खरिद दर ५.६७ रूपैयाँ रहेको छ । विद्यमान बजार मूल्यका आधारमा भारतबाट आयात गरिएको विद्युतको मूल्य सस्तो रहेको बताइन्छ ।

विद्युत् आयातसम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गबीच हस्ताक्षर भएको छ ।

यस्तै ढल्केबर सवस्टेसनको काम पनि अन्तिम चरणमा रहेकाले सो कार्य सम्पन्न हुनेबित्तिकै थप विद्युत् आयातका लागि पहल गरिने बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने लक्ष्यका साथ सरकारले थप विद्युत् आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए ।

प्राधिकरण र एनभीभीएनबीच लेऊ अथवा देऊ ‘टेक अर पे’ मान्यताका आधारमा विद्युत् खरिद सम्झौता भएको हो । भारतीय नोडल एजेन्सी एनभीभीएनसँग जनवरी, २०१७ देखि मे २०१७ सम्मका लागि प्रारम्भिक चरणमा विद्युत् खरिद सम्झौता गरिएको हो । मुलुकभर हाल १ हजार २ सय ८६ मेगावाट विद्युत् माग रहेको छ । नदीमा जलस्तर घटेका कारण आन्तरिक उत्पादन घट्न थालेको अवस्थामा भारतबाट थप विद्युत् आयात गरेर ऊर्जा सङ्कट निवारण गर्न लागिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुर प्रसारण लाइनको समेत स्तारोन्नतिको काम जारी रहेका कारण निकट भविष्यमा नै ती प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने समझदारी समेत नेपाल र भारतबीचमा भएको छ । यस्तै टनकपुरबाट समेत थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको छ ।

मुलुकलाई विद्युतभार कटौतीमुक्त गर्ने लक्ष्यका साथ सरकारले ५ सय ६० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । गत आ.व. मा भारतबाट ३ सय ४७ मेगावाट विद्युत् आयात गरिएको थियो ।

यस्तै आन्तरिक उत्पादनमा रहेको कुलेखानीलाई हाल नचलाइकन राखिएको छ । विद्युत् अत्यधिक माग हुने समयमा सो आयोजनाबाट पनि विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको भनाइ छ । कालीगण्डकी, मध्यमस्र्याङ्दीजस्ता आयोजनालाई पनि साँझको समयमा मात्रै सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आगामी माघ र फागुनमा विद्युतको माग बढी रहने भएकाले लोड व्यवस्थापन गर्न प्राधिकरणलाई वैकल्पिक स्रोतको आवश्यकता परेको हो ।

यस्तै ऊर्जा सचिव उपाध्याय र उहाँका भारतीय समकक्षी पीके पुजारीबीच भएको द्विपक्षीय छलफलका क्रममा नेपालले माग गरेअनुसार नै विद्युत् उपलब्ध गराउन र नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले सहयोग गर्ने सहमति भएको छ ।

नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) भएको सन्दर्भमा त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र पछिल्लोपटक भारत सरकारले तयार पारेको विद्युत् खरिदसम्बन्धी निर्देशिकामा देखिएको असहमतिका बारेमा समेत दुई ऊर्जा सचिवबीच छलफल भएको थियो ।

छलफलका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन समेत शीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । वापकोश नामक परामर्शदाता कम्पनीले सो आयोजनाको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा हाल अध्ययनको क्रममा रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर