newskoseli.Com

लोकनाथ पुडासैनीको ‘चामल भात’ सार्वजनिक

 नेकपा(एमाले)का नेता खगराज अधिकारीले साहित्यकार लोकनाथ पुडासैनीद्वारा लिखित ‘चामल भात’ उपन्यास शनिबार सार्वजनिक गरेका छन् ।

नेता अधिकारीले म्याक्सिम गोर्कीले ‘आमा’ उपन्यास नलेखेका भए रुसमा क्रान्ति हुँदैनथ्यो भन्दै यतिखेर स्रष्टाले सबै सामाजिक विकृतिका विरुद्ध उभिनुपर्ने र सचेतताका साथ सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कृतिबारे समालोचना गर्दै प्रा डा.यादवप्रकाश लामिछानेले स्रष्टाको उद्देश्य माटोप्रेम र राष्ट्रवादी भावना जगाउनु रहेको बताए । उनले कृतिमा भाषागत अभिव्यक्ति सुन्दर ढङ्गले प्रस्तुत गरिएको र उखानको सुन्दर संयोजन गरिएको बताउँदै गरिबीका कारण चामलको भात खान चाडबाड नै पर्खनुपर्ने नेपालीको पीडा उपन्यासले जीवन्त रूपमा चित्रण गरेको छ  उनले बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा.जीवेन्द्रदेव गिरीले नेपाली समाज र जनजीवनले भोगेका दुःख र पीडालाई जीवन्त रूपमा चित्रण गर्ने र विकृत समाज रूपान्तरण गर्ने आग्रह उपन्यासकारले उपन्यासमा गरेको बताए ।

पुडासैनी सेवा समाजका अध्यक्ष उत्तम पुडासैनी र कृतिका प्रकाशक भुँडी पुराण प्रकाशनका केशव पराजुलीले पठन संस्कृतिको विकास अझैसम्म हाम्रो मुलुकमा भइनसकेकामा चिन्ता व्यक्त गरे । उपन्यासकार पुडासैनीले चाडबाडमा मात्र चामलको भात खान पाइने हाम्रो नेपाली ग्रामीण समाजको अभिव्यक्ति नै सो उपन्यास हो भन्दै बारी र खेत बाँझै राखेर मरुभूमिमा पसिना बगाउन युवा लाइन लाग्ने परिवेश रोक्न नसकिएकामा चिन्ता व्यक्त गरे ।

कार्यक्रमका आयोजक जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आफूलाई समर्पित गर्ने र नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउने अनि देश र समाजलाई झक्झक्याउने स्रष्टा पुडासैनीको प्रयासको सराहना गरे।

मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जागिरको सिलसिलामा देशको पूर्वदेखि पश्चिमसम्म पुग्दा आफूले देखेको नेपाली ग्रामीण जनताको कष्टसाध्य जीवनलाई साहित्य लेखनकोे विषय बनाएर जीवन्त चित्रण गर्दै सामाजिक रूपान्तरणको स्पष्ट आग्रह गर्नु लेखक पुडासैनीका विशेषता रहेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर